ज्ञानु पंगेनी
मध्यविन्दु, चैत १५ गते । नवलपरासी पूर्व (नवलपुरको) देवचुली–१६ मा पर्ने बेलस्वारा गाउँमा खानेपानीको समस्या भएको स्थानीयको गुनासो छ । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा खानेपानीको निकै समस्या झेल्दै आएको स्थानीय कुलबहादुर पाटा मगरले गुनासो गर्नुभयो ।
बर्खामा पानी हुने भए पनि हिउँद लागेपछि पानीका मुहान सुक्दा समस्या जटिल बन्ने गरेको कुल बहादुरले बताउनुभयो । पानी पर्याप्त नआउँदा अड्कलेर खर्च गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । हिउँदमा गाउँमा वितरण लागि ल्याएको पानीको मुहान सुक्ने हुँदा खानेपानीको समस्या हुने गरेको छ । "बस्नलाई वातावरण ठिक छ, तर के गर्नु खानेपानीको समस्या छ, मान्छेलाई पिउने पानी चाहिएजति आउँदैन, बस्तुभाउलाई समेत पानी अड्कलेर दिनुपर्ने हुन्छ," कुल बहादुरले भन्नुभयो ।
चैत लागेसँगै पानी कम हुँदै गएको बेलस्वारा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष थुमबहादुर पाटा मगरले बताउनुभयो । वर्षाको समयमा पानी हुने भए पनि हिउँदमा पानीका मुहान सुक्दै जाँदा सबैले आवश्यकता अनुसार पानी उपभोग गर्न समेत अप्ठ्यारो हुने गरेको उहाँको भनाइ छ । गत वर्ष पानी सुकेपछि जलुके खोलाबाट ट्याक्टरमा पानी बोकेर मान्छे र बस्तुभाउलाई खुवाउनु परेको उहाँले बताउनुभयो ।
बेलस्वारामा खेतीयोग्य जमिन प्रशस्त भएपनि पानीको स्रोत नहुँदा बाँझै राख्नुपरेको अर्का स्थानीय रामबहादुर बाचे मगरको दुखेसो छ । बर्खामा धान लगाउनु बाहेक अन्य समयमा पानीको अभावले अन्य कुनै पनि खेती गर्न नपाएको उहाँको भनाइ छ । ‘खेतबारी घर वरिपरि छ, तर पानी नहुँदा सामान्य तरकारी फलाउन पनि सकिँदैन, केही लगाउन आकाशको पानीको भर पर्नुपर्ने हुन्छ,’ रामबहादुरले भन्नुभयो ।
पहाडी क्षेत्र भएकाले भूमिगत पानी निकाल्न नसकिने हुँदा नयाँ मुहानको व्यवस्थापन गर्न सके पानीको समस्या कम हुने उहाँको भनाइ छ । खानेपानीसँगै सिँचाइको प्रबन्ध गर्न सके गाउँमा कृषिबाट आयआर्जन गर्न सकिने र गाउँबाट पलायन हुनुपर्ने अवस्था हट्ने उहाँले बताउनुभयो । खेतबारी हुँदाहुँदै पनि पानीको अभावले वर्ष भरी खान पुग्ने अन्न उत्पादन गर्न समेत नसकेको रामबहादुरले बताउनुभयो ।
खानेपानीको समस्या झेल्दै आएका बेलस्वारा सहित, कोल डाँडा, जलुकेका करिब ६५ घरपरिवारका लागि खानेपानीको थप व्यवस्थापनका लागि अध्ययन भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, एकाइ कार्यालय नवलपुरका प्रमुख महेन्द्र आचार्यले जानकारी दिनुभयो । नयाँ मुहानको खोजी गर्ने र अहिले सञ्चालनमा रहेको खानेपानी योजनालाई सुधार गरी उक्त स्थानमा खानेपानीको समस्या समाधानमा पहल भइरहेको उहाँको भनाइ छ ।
हाल सञ्चालनमा रहेको खानेपानीको पाइपलाइन तत्काल सुधार गर्ने र गाउँ नजिक रहेको अर्को मुहानमा पानीको अवस्थाको अध्ययन गरी स्थानीयलाई खानेपानी पुर्याउने गरी योजना अघि बढाउने तयारीमा आफूहरू रहेको कार्यालय प्रमुख आचार्यले बताउनुभयो ।