• १८ चैत २०८१, सोमबार

गहुँवालीको अनुसन्धान सुरु

blog

पर्वत, चैत १४ गते । पर्वतमा आठ प्रजातिका गहुँवालीबारे अनुसन्धान गर्न थालिएको छ । राष्ट्रिय गहुँ बाली अनुसन्धान केन्द्र भैरहवाले पर्वतको फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका प्रजनन गहुँमाथि अनुसन्धान सुरु गरेको जनाएको छ । 

सरकारको जलवायु अनुकूलन गहुँ खेती प्रविधि कार्यक्रमअन्तर्गत मध्यपहाडी भेगमा पहिलो पटक गहुँबारे अनुसन्धान थालिएको  केन्द्रले जनाएको छ । 

कुन स्थानमा कुन प्रजातिको गहुँखेती गर्दा कृषकले राम्रो उत्पादन लिन सक्छन्, कुन हावापानी र मौसम तथा भौगोलिक स्थानमा कुन प्रजाति सुहाउँदो छ भन्ने विषयमा अनुसन्धान थालिएको राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवाका वरिष्ठ कृष्ण विकास अधिकृत खेमराज पन्तले जानकारी दिनुभयो । 

फलेवास नगरपालिका वडा नं। ६ का अगुुवा कृषक रमेश चापागाईंले कृषि प्राविधिक नै खेतवारीमा आएर गहुँको अनुसन्धान गर्दा आफूहरुलाई आगामी दिनमा गहुँखेती गर्न सहज हुने बताउनुभयो । बर्सेनि तापक्रममा भएको वृद्धि, जलवायु परिवर्तनले हिउँदे वर्षा नहुने, सिँचाइको अभाव जस्ता कारणले कृषकहरुको गहुँखेतीतर्फको आकर्षण घट्दै गएका बेला केन्द्रले निश्चित प्रजाति पहिचान गरेर सिफारिस गर्ने फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्रीले बताउनुभयो । गहुँका  विभिन्न आठ प्रजनन बीउको अनुसन्धान गरिएकोमा अहिलेसम्म चार जात सिफारिसका लागि छनौट भएको उहाँले बताउनभयो । 

वरिष्ठ कृषि विकास अधिकृत पन्तका अनुसार अनुसन्धानपछि एन एल ११७९, एनएल १४८८, एनएल १४८६, एनएल १४५० नामक गहुँको जातको गहुँ खेतीका लागि सिफारिसको तयारी गरेको बताउनुभयो । यी प्रजाति समुद्र सतहदेखि आठ सय मिटरको उचाइमा राम्रोसँग उत्पादन हुने जनाइएको छ । 

केन्द्रले फलेवास नगरपालिका–६ देवीस्थानका १२ जना किसानको खेतमा अनुसन्धान गरेको हो । शिवशक्ति कृषि तथा पशुपन्क्षी कृषि फर्ममा आबद्ध १२ जना किसानको ४० रोपनी क्षेत्रफलमा गरिएको गहुँ खेतीमा अनुसन्धान गरिएको थियो ।