• १३ चैत २०८१, बुधबार

विद्युतीय ‘सर्ट सर्किट’ ले बढ्दै छ आगलागी

blog

गत फागुनमा वीरेन्द्रनगरको फेन्सी पसलमा भएको आगलागी । तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता

सुर्खेत, चैत १२ गते । गत बुधबार रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५, सेरीगाउँमा आगलागी भयो । सुरक्षाकर्मीसहितको उद्धार टोलीले आगो नियन्त्रणमा लिएकाले ठुलो मानवीय क्षति हुनबाट भने जोगिएको छ । आगलागीबाट करिब १८ लाख रुपियाँको क्षति भएको प्रहरीको अनुमान छ । 

विद्युतीय तार सर्ट हुँदा स्थानीय कृष्ण बुढाको दुईतले कच्ची घरमा आगलागी भएको थियो । उक्त आगलागीबाट घर पूर्ण रूपमा ध्वस्त भएको छ भने घरमा रहेका सबै सामान जलेर नष्ट भएका छन् । विद्युत् तार सर्ट हुँदा घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रमेश विष्टले बताउनुभयो । यस्तै फागुन २६ गते वीरेन्द्रनगरको एक फेन्सी पसलमा आगलागी भयो । वीरेन्द्रनगर नगरपालिका–६ को बिचबजारमा रहेको फेसन हबमा आगलागी हुँदा धनमाल क्षति भयो । आगलागीबाट पसलको सजावट, फेन्सीमा रहेको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

यहाँ पनि विद्युत् सर्ट भएर आगलागी भएको थियो । वीरेन्द्रनगर नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रण गरिएकाले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरेन्द्र विश्वकर्माले बताउनुभयो ।

पछिल्लो समय ‘सर्ट सर्किट’ ले धेरै आगलागी हुने गरेको छ । यी घटना कर्णालीमा बढ्दो आगलागीका उदाहरण मात्र हुन् । विद्युत् ‘सर्ट सर्किट’ भएर कर्णालीमा सानातिना आगलागी दैनिक जसो हुन थालेका छन् । मानवीय त्रुटिका कारण ‘सर्ट सर्किट’ का घटना हुने गरेको विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख जितेन्द्र झाले बताउनुभयो । उहाँका अनुसार बिजुलीका तार ‘लुज’ भएर, विद्युतीय उपकरण जथाभाबी प्रयोग गरिँदा, नियमित मर्मतसम्भार नहुँदा, घरको भान्छामा प्रज्वलनशील वस्तु राख्दा विद्युत् सर्ट हुने गरेको छ । झाले विद्युत् ‘सर्ट’ का कारण हुने दुर्घटना न्यूनीकरणमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । 

अर्थिङ नगरेर विद्युत् जडान गर्दा ‘सर्ट सर्किट’ हुने गरेको झाले बताउनुभयो । कर्णाली प्रदेशमा विद्युत् जडान गरेका एक सय जनामध्ये एक जनाले अर्थिङ गरेर मात्र विद्युत् जडान गर्ने गरेको उहाँले जानकारी दिनुभयो । आवश्यक जानकारी नहुँदा कमैले मात्र अर्थिङ जडान गर्ने गरेको उहाँले बताउनुभयो । अहिले विद्युत् जडान गर्ने बेलामा नागरिकलाई सचेत गराउने गरिएको छ । विशेष गरेर गाउँघरमा यस्ता धेरै घटना हुने गरेका छन् ।

पछिल्लो समय कर्णाली प्रदेशमा आगलागीबाट ठुलो मानवीय क्षति हुने गरेको छ । घरमा आगलागी हुँदा मानवीय क्षति हुने गरेको हो । अधिकांश घटना विद्युत् सर्ट भएर हुने गरेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार आगलागीका घटनाबाट मानवीय क्षति बढ्दो क्रममा रहेको पाइएको छ । चालु आर्थिक वर्षको हालसम्ममा प्रदेशभर १२२ आगलागीका घटना भएका छन् । आगलागीबाट पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । आव २०८०/८१ मा सबैभन्दा बढी ३४२ वटा आगलागीका घटना भएका थिए । तिनमा १८ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए ।