• १३ चैत २०८१, बुधबार

क्षयरोगी उपचारबाट वञ्चित

blog

विश्व क्षयरोग दिवसका अवसरमा सुर्खेतमा आयोजित सचेतना कार्यक्रम । तस्बिर : ललित बसेल

ललित बसेल

सुर्खेत, चैत १२ गते । कर्णाली प्रदेशमा लक्ष्यको आधाभन्दा बढी क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेका छन् । उपचारमा आएकाभन्दा बाहिर रहेकालाई उपचारमा ल्याउन चुनौती देखिएको छ । 

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा कर्णालीमा चार हजार १०६ जना क्षयरोगका बिरामीलाई उपचारमा ल्याउने लक्ष्य राखिएको थियो तर उपचारमा एक हजार ७१४ जना मात्रै आए । दुई हजार तीन सयभन्दा बढी क्षयरोगका बिरामी उपचारबाहिर छन् । 

चालु आवको फागुन समान्तसम्म ८९९ जना नयाँ बिरामी पत्ता लागेका छन् । निर्देशनालयका अनुसार कर्णालीमा क्षयरोगका नयाँ बिरामी पत्ता लाग्ने दर प्रतिलाखमा १०२ जना रहेको छ । 

निर्देशनालयका क्षयकुष्ठ फोकल पर्सन पदम केसीले उपचारबाहिर रहेका क्षयरोगका बिरामीलाई उपचारमा ल्याउने कामलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले प्रदेशमा लक्ष्य अनुसार रोग पत्ता लाग्ने दर प्रतिलाख जनसङ्ख्यामा ४२ जना रहेको भन्दै अन्य उपचारबाहिर रहेका पाइएको जनाउनुभयो । उपचारबाहिर रहेकालाई उपचारको पहुँचमा ल्याउन बर्सेनि खोजपडताललगायतका काम गरिरहेको भन्दै उहाँले अझै पनि क्षयरोगी उपचारबाहिर रहनु चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । 

कर्णाली प्रदेशमा चालु आर्थिक वर्षमा सबैभन्दा धेरै क्षयरोगका बिरामी प्रदेश राजधानी सुर्खेतमा फेला परेका छन् । यही फागुनसम्म सुर्खेतमा ३१२ जना नयाँ बिरामी पत्ता लागेका छन् । सुर्खेतपछि सल्यानमा १६७ र रुकुमपश्चिममा १०५ जना क्षयरोगका बिरामी पत्ता लागेको जानकारी निर्देशनालयका क्षयकुष्ठ फोकलपर्सन केसीले दिनुभयो । दैलेखमा ८७, जाजरकोटमा ७०, कालीकोटमा ५२, जुम्लामा ४३, डोल्पामा २३, मुगुमा २१ जना र सबैभन्दा कम हुम्लामा १९ जना फेला परेका छन् । 

क्षयरोग नियन्त्रणका लागि प्रदेशमा उपचारमा ल्याउन विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको, एआई विधिबाट समुदायस्तरमा क्षयरोगको सक्रिय खोजपडताल कार्यक्रम सञ्चालन गरिएको, प्रादेशिक तथा निजी मेडिकल कलेजहरूमा स्वास्थ्यकर्मीका लागि नियमित चिकित्सकीय शिक्षा कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । उपचारबाहिर रहेका क्षयरोगका बिरामीलाई उपचारमा ल्याउन सहयोग गर्न उहाँले सबैलाई आह्वान गर्नुभयो । 

यसैबिच सोमवार विश्व क्षयरोग दिवसको अवसर पारेर सुर्खेतमा सचेतना कार्यक्रम गरिएको छ । सो अवसरमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उपचारबाहिर रहेका क्षयरोगका बिरामीलाई उपचारमा ल्याई सन् २०५० भित्र नेपाललाई क्षयरोगमुक्त बनाउने अभियानमा सघाउन आग्रह गर्नुभयो । उहाँले बस्ती बस्तीमा क्षयरोगका बिरामी रहेकाले खोजी कार्यलाई तीव्रता दिन सुझाव दिनुभयो । स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले प्रदेशमा क्षयरोगका विरामीलाई उपचारमा ल्याउने काम भइरहेको जानकारी दिनुभयो । साथै आगामी दिनमा खोजपडताल गरी उपचारबाहिर रहेका क्षयरोगका विरामीलाई उपचारमा ल्याई क्षयरोगमुक्त बनाउने अभियान जारी राखिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।