• २६ चैत २०८१, मङ्गलबार

४८ वर्षपछि बाल्का–टेकानपुर–तौथली सडक कालोपत्रे

blog

कालोपत्रे हुने बाल्का सडकखण्डमा निरीक्षण गर्दै त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहरा लगायत । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, चैत १२ गते ।
सडक ट्याक खोलेको ४८ वर्षपछि त्रिपुरासुन्दरी गाउँपालिका ५ र ६ पुग्ने बाल्का–टेकानपुर–तौथली सडक कालोपत्रे सुरु भएको छ । २०३३ देखि ०३८ सालसम्म नेपाल ओरियण्ड म्याग्नेसाइड उद्योगले उक्त १६ किलोमिटर दूरीको सडक ट्याक खोलिएको थियो ।

सो गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले बागमती प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा सो सडक कालोपत्रेका लागि ६ करोड बजेट विनियोजन गरेर ठेक्का लागेको जानकारी दिनुभयो । सदरमुकामस्थित चौतारामा रहेको पूर्वाधार विकास कार्यालयबाट बोलपत्र आह्वान भएको छ ।

लामोसाँघुस्थित बाल्का झोलुङ्गेबाट टेकानपुर, तौथलीसम्मका किलोमिटर बढी सडक स्तरोन्नतिसहित कालोपत्रे गर्नका बजेट प्राप्त भएपछि दर्जनौं गाउँका स्थानीयहरु हर्षित भएको त्रिपुरासुन्दरी गाउँपालिका–६ का अध्यक्ष रमेश बोहराले बताउनुभयो । उक्त बजेटले करिब साढे चार किलोमिटरसम्म स्तरोन्नतिसहित कालोपत्रे हुने अनुमान छ । बजेटको सही सदुपयोग गरेर काम भएमा सो बजेटले करिब ६ किलोमिटरसम्म कालोपत्रे हुने प्राविधिकहरुले बताएका छन् ।

यस्तै, वडा नम्बर ५ का अध्यक्ष यादव श्रेष्ठको पहलमा तौथली बजार क्षेत्रमा दुई किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ । बागमती प्रदेश सरकारले उक्त सडकका लागि गत बर्षमा ६ करोड बजेट प्रदान गरेको थियो । त्रिपुरासुन्दरी गाउँपालिकामै पहिलो पटक तौथलीमा कालोपत्रे भएको हो । बर्खायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकमा कालोपत्रे भएपछि तौथलीको जनजीवन सहज र स्वस्थकर भएको अध्यक्ष श्रेष्ठले खुशी प्रकट गर्नुभयो ।

यस्तै, बागमती प्रदेश सरकारबाट गत आवमा प्राप्त एक करोड बजेटबाट बाल्का सडकखण्डबाट कालोपत्रेका लागि बेस हाल्ने काम सञ्चालन भइरहेको छ । प्रदेश सरकारबाट उपलब्ध बजेटले टेकानपुरको बाघखोरसम्मको सडक कालोपत्रे हुने जनाइएको छ । बाल्काबाट तौथलीसम्म १६ किमी र त्यहाँबाट दोलखाको खरीढुङ्गासम्म साढे चार किलोमिटर दूरी पर्छ । उक्त सडक २०३३ देखि २०३८ सालसम्म नेपाल ओरियण्ड म्याग्नेसाइडले सडक ट्याक खोलेको थियो । बहुदल प्राप्त भएपछि सोही ट्याकलाई चौढा, मर्मतसुधार गरेर फराकिलो बनाइएको थियो । 

उक्त सडकको झोलुङ्गे ड्यामसाइडमा २०७६/०७७ सालमा सात करोड लागतमा ८० मिटरको मोटरेबल पुल निर्माण भएको थियो । पक्की पुल निर्माण भएपछि बाल्का टेकानपुर तौथली खरीढुङ्गा सडक खाडीचौरबाट दोलखाको खरीढुङ्गा पुग्ने भन्दा ११ किलोमिटर दूरी कम पर्छ । यस सडकलाई लामोसाँघु–जिरी सडकको वैकल्पिक सडकको रुपमा मानिन्छ ।