• १६ चैत २०८१, शनिबार

पुल नहुँदा जोखिमपूर्ण यात्रा

blog

बडहरेखोलामा ट्रक ।

तिलाचन पाण्डे

तम्घास, चैत १२ गते । कालीगण्डकी कोरिडोरमा पुल नहुँदा सवारीसाधन र यात्रुले सास्ती भोग्दै आएका छन् । कालीगण्डकी कोरिडोर अन्तर्गत गुल्मीको रिडी–हर्मीचौर सडकखण्डमा पर्ने दिहिङखोला र बडहरेखोलामा पुल नहुँदा सवारीसाधनका साथै यात्रुले सास्ती खेप्नु परेको हो । 

वर्षायामको समयमा खोलामा पानीको बहाव बढ्ने र हिउँदको समयमा ढुङ्गासहितको गेग्य्रान हुने हुँदा सवारी चलाउन समस्या हुने गरेको सवारीचालक लोकबहादुर खत्रीले गुनासो गर्नुभयो । सडकको ग्रेड नमिलेको र ढुङ्गासहितको गेग्य्रानले गर्दा गाडीको टायर नै फस्ने हुँदा उक्त स्थानमा जोखिम मोलेरै यात्रा गर्न बाध्य भएको उहाँको भनाइ छ । 

उक्त सडकमा यात्रा गर्दा गाडी फस्ने कारणले तोकिएको समयमा गन्तव्यमा पुग्न नसकिने गरेको उहाँले अनुभव सुनाउनुभयो । यसका साथै रातको समयमा यात्रा गर्दा गाडी फसेका कारण रातभर नै त्यहीँ बस्नुपर्ने अवस्था आउने गरेको छ । दिनमा अन्य सवारीसाधन चल्ने हुँदा सहयोग मिल्ने र रातमा सवारी पनि नचल्ने र पैदल यात्रु पनि नहिँड्ने गर्दा गुहार पाउन पनि समस्या हुने गरेको उहाँले बताउनुभयो । 

यस्तै रातको समयमा मालवाहक ट्रक बडहरे खोलामा फसेर रातभर नै जाग्राम बस्नु परेको चालक मीनबहादुर थापाले बताउनुभयो । रातको समयमा गाडी फस्दा डर लाग्ने र ज्यानै जोखिममा पर्ने गरेको उहाँले गुनासो गर्नुभयो । 

यस्तै सोही खोलामा वर्षायामको समयमा पैदल यात्रा गर्न र मोटरसाइकल तार्नका लागि स्थानीयले काठको फड्के पुल बनाएर खोला तर्ने गरेको स्थानीय खडकवीर थापाले बताउनुभयो । यता कालीगण्डकी कोरिडोर गौँडाकोट, राम्दी मालढुङ्गा सडक योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर अरुण खत्रीले ती दुई स्थानमा पुलको डिजाइन भइरहेको बताउनुभयो ।