• २६ चैत २०८१, मङ्गलबार

चार दिदीबहिनीले सुरु गरे सात हिमालको आरोहण

blog

चार दिदीबहिनी दक्षिण अमेरिकाको ६९६१ मिटर अग्लो एकोनगुआ हिमाल आरोहण गर्दै । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा
दोलखा, चैत १२ गते ।
हिमआरोहीको गाउँ भनेर चिनिने दोलखाको गौरीशङ्कर गाउँपालिका–९ बेदिङका एक शेर्पा घरपरिवारका चार दिदीबहिनीले सात महादेशका सात वटा अग्ला हिमालको आरोहण गर्न सुरु गरेका छन् ।

स्व. दोर्जी शेर्पा तथा रिन्जिनडोमा शेर्पाका सुपुत्रीहरु छिरी आङजुम, निमा जाङमु, छिरिङ नामया र दावाफुटी शेर्पाले सात समिट शिखर आरोहण गर्न लाग्नुभएको हो ।

उहाँहरुले आरोहण गर्नेमा एसियाको सगरमाथा (८८४८ मि), अमेरिकाको डेनाली (६१९४ मि.), अफ्रिकाको किलीमन्जारो (५८९५ मि.), अन्टार्किकाको भिन्सन मासिफ ( ४८९२ मि.), दक्षिण अमेरिकाको एकोनगुआ ६९६१ मि.), अस्ट्रेलियाको ओसिनियामा माउन्ट कास्र्टेज पिरामिड (४८८४ मि.) र युरोपको माउन्ट एल्बस ( ५६४२ मि. ) रहेका छन् ।

कान्छी आरोही दावाफुटीका अनुसार चारै जनाले ओसिनियाको माउन्ट कार्टेज, माउन्ट एकोन्गुआ, माउन्ट एल्बस र किलिमन्जारे हिमाल आरोण गरिसक्नुभएको छ । जेठी छिरिङजुमबाहेक निमा जाङमु, छिरिङ नामया र दावा फुटीले सन् २०२१ मा सँगै सरमाथा आरोहण गरी सबैभन्दा धेरै दिदीबहिनीको रेकर्ड कायम गर्नुभएको थियो ।

बाँकी उत्तर अमेरिकाको डेनाली जुन महिनामा र डिसेम्बरमा एनटार्किकाको भिन्सप मासिफ चारै जनाले संँगै आरोहण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

इतिहासमै पहिलो पटक एक शेर्पा परिवारका चार दिदीबहिनीले सर्वोच्च शिखर सगरमाथालगायत सात महादेशका सात वटा उच्च हिमाल आरोहण गर्ने पहिलो हुनेछन् । 

उहाँहरुका स्व.बुबा दोर्जी शेर्पा सानै उमेरमा सबैभन्दा बलिया पथप्रदर्शकमध्ये एक हुनुहुन्थ्यो । सन् १९८३ को जाडोको याममा सगरमाथा आरोहण गर्ने क्रममा उहाँलाई शीतदंश हुँदा दुई हातका आठ वटा औँलाहरु गुमे तापनि साना हिमाल आरोहण गर्न र मार्गदर्शन गर्न छोड्नुभएन । उहाँको सगरमाथा आरोहण गर्ने सपना भने पूरा हुन सकेन । आफ्ना बुबाको उच्चतम श्रद्धाञ्जली दिन चार छोरीले सात समिट शिखर आरोहण गरेर देखाउने जमर्को गर्नुभएको हो ।