रमेश विश्वकर्मा
गुल्मी, चैत १२ गते । गुल्मीमा चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्म ११३ जनामा क्षयरोग पुष्टि भएको पाइएको छ ।स्वास्थ्य कार्यालय गुल्मीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको हालसम्म यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमा ११३ जनामा क्षयरोग पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय गुल्मीका परिवार नियोजन सुपरभाइजर गोपालबहादुर कार्कीका अनुसार ५९ जनामा पिसिबी टिबि फोक्सोमा किटाणु देखिएको र ४३ जनामा फोक्सो बाहेक अन्य अङ्गमा किटाणु देखिने क्षयरोगको सङ्क्रमण पुष्टि भएको छ । आठ जना क्षयरोग बिरामीहरूले पुनः उपचार गराइरहेको पाइएको हो । क्षयरोगबाट चालु आर्थिक वर्षको हालसम्म तीन जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षको हालसम्म यस जिल्लाको सत्यवती गाउँपालिकामा १५ जनामा क्षयरोग पुष्टि भएको छ । जिल्लामै सबैभन्दा धेरै क्षयरोग पुष्टि यस गाउँपालिकामा भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । मुसिकोट नगरपालिकामा १४ जनामा क्षयरोग पुष्टि भएको बताइएको छ ।
स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार रेसुङ्गा नगरपालिका र छत्रकोट गाउँपालिकामा ११/११ जना, कालीगण्डकी गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकामा १०/१० जना, मदाने गाउँपालिकामा आठ जना, चन्द्रकोट गाउँपालिकामा र धुर्कोट गाउँपालिकामा सात/सात जना, मालिका गाउँपालिकामा छ जना र इस्मा गाउँपालिकामा चार जनामा क्षयरोग पुष्टि भएको छ ।
जिल्लाका प्रत्येक स्थानीय तहबाट खकार परीक्षण गरी क्षयरोग पुष्टि भएका बिरामीलाई उपचारको दायरामा लिइएको छ । स्वास्थ्य कार्यालयले स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थामा अनुगमन गर्नुका साथै बिरामीहरूको खोज पड्ताल गरिरहेको जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले बताउनुभयो । यहाँको गुल्मी अस्पतालबाट जिन एक्सपटबाट क्षयरोगको परीक्षण गरिँदै आएको उहाँले बताउनुभयो ।