• १७ चैत २०८१, आइतबार

कटहरिया नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन

blog

प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), चैत १२ गते ।
रौतहटको कटहरिया नगरपालिका विगत दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाबाट प्रदान हुने आधारभूत सेवा समेत अवरुद्ध भएको छ ।

कटहरिया वडा नम्बर ८ का शुव नारायण यादव आफ्नो शौचालयको ट्याङ्की सफाइ गराउन नगरपालिकामा विगत पाँच महिनादेखि नगरपालि गइरहनुभएको छ ।

उहाँले ट्याङ्की सफाइ वापतको दस्तुर दुई सय रुपियाँ तिर्नुभएको पाँच महिना पुग्दा समेत नगरपालिकाबाट सेवा पाउन सक्नुभएको छैन ।

यता, नगरपालिकाका सरसफाइ कर्मचारी शम्भु मल्लिक डोमले १८ महिनादेखिको पारिश्रमिक नपाएको गुनासो गर्नुभएको छ ।
उहाँले मासिक १२ हजार पाउने शर्तमा सेवा दिइरहनुभएको छ, तर १८ महिलादेखि पारिश्रमिक नपाएपछि अहिले घर परिवार चलाउन समस्या भएको उहाँको भनाइ छ ।

त्यस्तै, वडा नम्बर ४ मा कार्यरत महिला स्वमसेविका गिरिजा देवी कलवारले २०८१ असार महिनादेखिको आफुहरुको सेवा सुविधा वापतको रकम नपाएको गुनासो गर्नुभयो ।

मासिक तीन हजार पाँच सय रुपियाँ आफुहरुले आफ्नो जिविको पार्जन गर्दै आएता पनि सो रकम समेत समयमा पाउन नसकेको वडा नम्बर ५ मा कार्यरत महिला स्वयमसेविका पुनम देवी दासले बताउनुभयो ।

गत असोज ४ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत रामजी जोशीलाई कटहरियामा काम काजका लागि पठाएको थियो । पठाएको चार महिनामै माघ ९ गते शाखा अधिकृत जोशीको रौतहटकै यमुना गाउँपालिकामा सरुवा भयो ।

शाखा अधिकृत जोशीको सरुवा भएको एक महिनापछि फागुन १२ गते शाखा अधिकृत धनन्जयप्रसाद दासलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको रुपमा कटहरिया पठाएको थियो । तर दास कटहरियामा हाजिर हुन नपाउदै मन्त्रालयले पुनः फागुन २६ गते उहाँको सरुवा रौतहटकै देवाही गोनाही नगरपालिकामा गर्यो ।
परिणामस्वरूप होली पर्वमा समेत कर्मचारी, शिक्षकले तलव पाउन सकेनन् ।

मन्त्रालयकै अनुरोधमा सरुवा भइ सकेका शाखा अधिकृत रामजी जोशीले दोस्रो तथा तेस्रो किस्ताको सामाजिक सुरक्षा भत्ता होलीको पूर्व सन्ध्यामा पठाएपछि होली मनाउन पाएको वडा नम्बर ४ का ७६ वर्षीय छबिलाल दास बताउनुहुन्छ ।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालक सियाराम यादवले चार महिनादेखि र कार्यालय सहयोगी जानकी रामले नौ महिनादेखि तलब नपाएको नगर उपप्रमुख रिता देवीले बताउनुभयो ।

यसैगरी, प्रमुख प्रशासकीय अधिकृत नहुँदा वडाको कुनै पनि योजना सञ्चालन हुन  नसकेको वडा नम्बर ५ का वडा अध्यक्ष सरफ लालप्रसादले जानकारी दिनुभयो ।

वडा अध्यक्ष प्रसादका अनुसार आफ्नो वडामा काम गर्ने सहायक कम्प्युटर अपरेटर प्रमोदकुमार गुप्ताले २८ महिनादेखि तलब पाउन सकेका छैनन् ।

वडा नम्बर ५ मा रहेको धनलक्ष्मी प्राथमिक विद्यालयका शिक्षक, बालविकास सहजकर्ता तथा कार्यालय सहयोगीले पनि गत साउन यताको तलब भत्ता पाउन नसकेको प्रधानाध्यापक राकेश साह सोनारले बताउनुभयो ।

नगर प्रमुख अजय प्रकाशका अनुसार प्रमुख प्रशासकीय अधिकृत व्यवस्थापनको जिम्मा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग रहेकाले आफु पहल गरिरहेको बताउनुभयो ।

कर्मचारी प्रशासन महाशाखा प्रमुख पिताम्बर घिमिरेका अनुसार मन्त्रालयले कटहरियामा दरबन्दी अनुसार उप सचिवलाई प्रमुख प्रशासकीय अधिकृतमा पठाउने तयारीमा रहेको प्रतिक्रिया दिनुभएको छ  ।