उर्लाबारी समाचारदाता
उर्लाबारी, चैत ११ गते । मोरङको रतुवामाई–३ को मिर्चाडाँगीका बासिन्दाले रतुवाखोलामा झोलुङ्गे पुल बन्ने भाषण सुन्न थालेको ३३ वर्ष भयो । २०४८ सालमा गिरिजाप्रसाद कोइराला पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार भएर जाँदा मिर्चाडाँगीका बासिन्दालाई पिढालीसँग जोड्ने वचन दिनुभएको थियो ।
त्यसयता दुई पटक व्यवस्था परिवर्तन भयो तर पनि रतुवापूर्वको मिर्चाडाँगीका बालबालिका डेढ किलोमिटर धाएर रतुवा पश्चिमको पिढालीमा आधारभूत विद्यालयको शिक्षा लिनुपर्ने बाध्यता अन्त्य भएको छैन । रतुवामाई नगरपालिका–३ को दक्षिणपूर्वी कुनामा रहेको मिर्चाडाँगीको सिमानामा दुईतिर भारत पर्छ । पश्चिमतर्फ रतुवाखोलामा पुल नहुँदा बर्सौंदेखि स्थानीयले भारतीय बजारमा भर पर्नु परिरेको छ ।
मिर्चाडाँगीका बालबालिका कक्षा ३ सम्म गाउँकै बिपी आधारभूत विद्यालयमा पढ्छन् । कक्षा ४ पढ्न रतुवा तरेर पिढालीसम्म आउनु पर्छ । बिपी आधारभूत विद्यालयका शिक्षक सबै खोलावारिका हुनुहुन्छ । बाढी आउँदा त खोला तरेर विद्यालय जान सम्भव छैन नै । हावाहुरी लाग्दा र धेरै गर्मी हुँदासमेत शिक्षक विद्यालय पुग्न सक्नुहुन्न ।
वर्षमा दुई महिना रतुवा नदीमा आएको बाढीले गर्दा उनीहरू विद्यालय जान पाउँदैनन् । रतुवा नदीको बगर मात्र छ सय मिटर हिँड्नु पर्छ । चैत, वैशाखमा चल्ने हावाहुरीले आँखामा बालुवा हालिदिन्छ । पिढालीको भानु आधारभूत विद्यालयमा कक्षा ६ मा पढिरहेकी शीतलकुमारी गनगाईंले भन्नुभयो, “गाउँमा विद्यालय छैन । पानी पर्दा र खोलामा बाढी आउँदा विद्यालय जान पाइँदैन । कति पटक त विद्यालयबाट फर्किंदा ठुलो बाढी आएर घर जान पाएका छैनौँ ।”
हुनेखानेले बजारतिरै राखेर छोराछोरी पढाएका छन् । कतिपयका छोराछोरी विराटनगरतिर पढ्छन् तर विपन्न परिवारका छोराछोरी घरबाटै विद्यालय धाउन बाध्य छन् । निशाकुमारी हरिजनले भन्नुभयो, “बर्खाको बेला विद्यालय जान पाइँदैन । अरू बेला धुलो र हिलोले दुःख दिन्छ । रतुवाको बगरैबगर ४० मिनेट हिँड्न गाह्रो छ । अझ चैत वैशाखको घाममा त घर पुग्दा गलेर भुतुक्कै भइन्छ ।”
मिर्चाडाँगीबाट १२÷१३ जना विद्यार्थी खोला तरेर पिढालीमा पढ्न आउँछन् । सीमाकुमारी गनगाईंले भन्नुभयो, “हामीलाई विद्यालयले छात्रावासको व्यवस्था गरिदिए राम्रो हुने थियो ।” उहाँले धेरै जसो विद्यार्थी आउन जानको दुःखले बिचैमा पढ्न छोड्ने बताउनुभयो ।
रतुवापारिको मिर्चाडाँगीको भूगोल विचित्रको छ । पूर्व र दक्षिणमा भारत पर्छ । नेपाल भारतको दसगजा सीमाबाट ४० फिट उत्तरपश्चिमको मिर्चाडाँगीबाट झापा पुग्न भारत टेक्नै पर्छ । पश्चिमतर्फ रतुवा नदी पर्छ, रतुवामा पुल छैन । जसले गर्दा उनीहरू वर्षको तीन महिना जति नेपालसँग सम्पर्कविहीन हुन्छन् । बस्तीका बासिन्दा वर्षाको बेला बिरामी पर्दा उपचार गर्न लैजाने ठाउँ विराटनगर नै हो तर विराटनगर पु¥याउन भारत भएर पुनः नेपाल प्रवेश गर्नु पर्छ । वर्षायाममा बिरामीलाई उपचार गर्न लैजान भारतको किसनगञ्ज जिल्लाको फूलबारी पुगेर पैकटोल हुँदै फेरि नेपालको डोरियाबाट झुर्किया हुँदै विराटनगर जाने गरिन्छ ।
खोलामा पुल नभएर उपचार गर्न ढिलाइ हुँदा बस्तीका मदनलाल सिंह र राधाकुमारी सिंहको मृत्यु भएको घटना स्थानीयका लागि सधैँ ताजै छ । साबिक महादेवा गाविस हाल रतुवामाई नगरपालिकाको वडा नं. ३ भएको छ । वडाध्यक्ष देवीलाल ताजपुरियाले भन्नुभयो, “मिर्चाडाँगीमा डेढसय घरधुरी छन् । गणतन्त्रपछिका जनप्रतिनिधिले बिजुलीसम्म पु¥याएका छन् । हरिजन (दलित) बस्ती रहेको उक्त स्थानमा १३ घरपरिवार बस्दै आएका छन् । उनीहरूको घरबाट भारतको दसगजा २० फिट पूर्वदक्षिण रहेको छ ।” वडाध्यक्ष ताजपुरियाले रतुवामा झोलुङ्गे पुल निर्माणका लागि टेन्डरको अन्तिम तयारी भइरहेको बताउनुभयो । १९ करोड रुपियाँमा ८५० मिटर लम्बाइको झोलुङ्गे पुल बन्ने भनिएको छ ।
मोरङ २(१) का कोशी प्रदेश सभा सदस्य गणेशप्रसाद उप्रेतीले झोलुङ्गे पुल निर्माणका लागि स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालय पठाइएको बताउनुभयो । स्रोत सुनिश्चित नभई ठेक्का लाग्दैन । आफू मन्त्री हुँदा प्रदेश सरकारले अढाई करोड रुपियाँ विनियोजन गरेको थियो तर १९ करोडको आयोजना भएकाले स्रोत अपुग भएर अर्थ मन्त्रालयमा पठाइएको उहाँको भनाइ छ ।