• १९ चैत २०८१, मङ्गलबार

समाज परिवर्तनमा सक्रिय बन्दै बर्दियाका किशोरी

blog

समाज परिवर्तन गर्न जुटेका बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं.१२ मा रहेको भैसाही गाउँका २५ जना किशोरी । तस्बिर : ज्योति पन्थी

ज्योति पन्थी
बबई (बर्दिया), चैत १० गते ।
बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं.१२ मा रहेको भैसाही गाउँका २५ जना किशोरी यतिबेला समाज परिवर्तन गर्न जुटेका छन् । वडालाई बालबिवाह मुक्त गराउनेदेखि लागु औषध प्रयोग नियन्त्रण, महिला हिंसा रोकथामलगायत विभिन्न काममा सक्रिय बन्दै आएका हुन् । गाउँमा किशोरी क्लब गठन भएपछि अहिले गाउँको मुहारनै परिवर्तन भएको छ भने गाउँलाई बालबिवाह मुक्त गाउँ बनाउन सफल भएका छन् ।

भैसाही गाउँमा २५ जना किसोरी मिलेर एउटा किशोरी क्लव गठन गरेका छन् । बिदाको दिन होस् या फुर्सदको समय उनिहरु एक ठाउँमा जम्मा हुन्छन् र गाउँका घर घरमा पुगेर बालबिवाह नगर्न र नगराउन अनुरोध गर्ने गर्दछन् । त्यस गाउँका  किशोरीहरुले किशोरी समूह गठन गरेपछि अहिले त्यस गाउँमा लागु औषध नियन्त्रण र महिला हिंसा समेत नियन्त्रण भएको छ । गाउँमा कसैको बिवाह हुन थाल्यो भने सबै किशोरी मिलेर बिवाह उमेर पुगेको नपुगेको समेत उनिहरुले सोध्ने गर्दछन् ।

भैसाही गाउँमा गठन भएको किशोरी समूहमा १५ देखि १८ वर्षसम्मका किशोरीहरु धेरै देख्न पाइन्छ । विद्यालयको कक्षा कोठादेखि गाउँघरसम्म उनिहरुले सचेतना फैलाउँदै आएका छन् । किशोरी समूह गठन भएपछि लागु औषध प्रयोग नगर्न अनुरोध गर्दै घरघरमा पुग्ने गरेको भैसाहीमा रहेको किशोरी क्लबका अध्यक्ष सन्धया थारुले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामिले क्लबमा बसेर समाज परिवर्तन गर्न खोजी रहेका छौं । त्यसमा आफुहरुलाई अभिभावक र शिक्षकहरुले समेत साथ दिइरहनुभएको छ ।’’

नेपाल–भारत सिमा क्षेत्रबाट लागु औषध प्रयोगकर्ताहरुले लागु औषध भित्र्याउने गरेका कारण सचेतनाका लागि उनिहरुले नेपाल–भारत सिमा क्षेत्रमा पनि विभिन्न किसिमका चेतनामुलक कामहरु गर्दै आइरहेको क्लबका सदस्य फिजा खानले बताउनुभयो ।

गुलरिया नगरपालिका वडा नं.१२ मा पर्ने भैसाही गाउँको किशोरी क्लबलाई बाँके युनेश्को क्लबले सहयोग गर्दै आइरहेको छ । नेपाल सरकराले सन् २०३० भित्रमा नेपाललाई बालबिवाह मुक्त गर्ने लक्ष्य बमोजिम बालबिवाह न्यूनीकरणका लागि काम गर्दै आइरहेको क्लबले जिल्लामा रहेका किशोरी क्लबलाई परामर्श दिने मासिक रुपमा उनिहरुलाई तालिम दिने र अध्ययनका लागि अध्ययन सामग्रीको समेत व्यवस्था मिलाएको बाँके युनेश्को क्लबका सशक्त बालिका परियोजनाका परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले बताउनुभयो ।

कक्षा ८ देखि १२ कक्षा अध्ययन गर्ने किशोरीहरु किशोरी क्लबमा सम्मिलित भएको र किशोरी क्लब गठन भएपछि त्यस गाउँदेखि विद्यालयसम्म धेरै परिवर्तन आएको गुलरिया नगरपालिका युवा शिक्षा तथा खेलकुद शाखाका शाखा प्रमुख सतिश यादवले बताउनुभयो ।

विद्यालयमा अध्ययनरत रहेका बालबालिकाले विद्यालय जान छोडेमा पनि किशोरी क्लबका सदस्यहरु घरमा पुगेर अभिभावकलाई सम्झाई बुझाई गरी विद्यालय पठाउने गरेका छन् ।