• १९ चैत २०८१, मङ्गलबार

बसपार्क सञ्चालन नहुँदा दुर्घटनाको जोखिम

blog

सुनसान देखिएको टेकान बसपार्क । तस्बिर : यादवराज पुरी

रौतहट समाचारदाता

रौतहट, चैत १० गते । स्तरोन्नति भई उद्घाटनसमेत भइसकेको बसपार्क प्रयोगमा नआएपछि पूर्वपश्चिम राजमार्ग र गौर–चन्द्रनिगाहपुर मार्गको चन्द्रनिगाहपुर चोकमा सवारी पार्किङ गर्दा उक्त क्षेत्रमा दुर्घटनाको सम्भावना अधिक रहेको छ । 

एक महिनाअघि उद्घाटनसमेत भइसकेको चन्द्रपुर–४ को टेकान बसपार्क प्रयोगमा नआउँदा राजमार्गमा चलाइने यात्रुवाहक बस, मालवाहक सवारीलगायत सवारीको पार्किङ जथाभाबी गर्ने गरिएको छ । जसले गर्दा चोक साँघुरो भएर दुर्घटनाको सम्भावना बढेको हो । यस्तै सदरमुकाम गौरबाट बाहिरिने र भित्रिने बस र यात्रु बोक्ने अन्य साना सवारीका लागि निर्माण गरिएको सुविधायुक्त टेकान बसपार्कमा पार्किङ नगरी चोकको दायाँबायाँ रोकेर यात्रु चढाउने र ओराल्ने कार्यले पनि दुर्घटनाको जोखिम उच्च रहेको जनगुनासो छ । उक्त क्षेत्रमा प्रायः सानातिना दुर्घटना भइरहेको हुन्छ ।  

बाजागाजा, बसको लावालस्कर र तामझामसहित २०६९ सालमा निर्माण गरिएको उक्त बसपार्क झन्डै १० वर्षदेखि प्रयोगविहीन छ । हाल स्तरोन्नति भई नगरपालिकालाई हस्तान्तरण गरिएको एक महिना पुग्न लाग्दासमेत पार्कमा सवारी राखिएको देखिँदैन । चन्द्रनिगाहपुर चोकमा जथाभाबी यात्रुवाहक सानाठुला सवारी रोकिएको हुन्छ । यसरी जथाभाबी सवारी रोकिँदा एकातिर दुर्घटनाको सम्भावना अधिक रहँदै आएको छ भने अर्कातिर सडक साँघुरो भई पैदलयात्रु र व्यापारीसमेतलाई ठुलो समस्या परेको स्थानीय व्यापारी दिवाकर सापकोटाको भनाइ छ । 

बसपार्कको स्तरोन्नति गर्न सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्जले करिब चार करोड रुपियाँमा विनायक–प्रजिल जेभी सुकुलढोका भक्तपुरलाई ठेक्का लगाएको थियो । चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले उद्घाटन गर्नुभएको ई चार्जिङसहितको आधुनिक र सुविधायुक्त उक्त बसपार्क सञ्चालनमा ल्याउन सम्बन्धित निकाय र बस तथा साना सवारी व्यवसायीसँग पहल नगरेका कारण पार्क अहिलेसम्म सुनसान छ । 

बसपार्क सञ्चालनमा नआउँदा परेको समस्याबारे इलाका प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएको छ । नगरप्रमुख काफ्लेले नागरिक समाज, बस तथा साना सवारी व्यवसायी सङ्घलगायत सरोकारवालासँग यथाशीघ्र वार्ता गरी पार्क सञ्चालनको ठेक्का लगाइने र सञ्चालनमा ल्याउने तयारी भएको बताउनुभयो ।