धनगढी समाचारदाता
धनगढी, चैत १० गते । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा वाटर एटिएमसहितको सार्वजनिक शौचालय निर्माण गरिएको छ । सहरी क्षेत्रमा व्यवस्थित शौचालय नहुँदा भएको समस्यालाई ध्यानमा राख्दै धनगढी उपमहानगरपालिकाले विभिन्न स्थानमा छ वटा सार्वजनिक शौचालय निर्माण गरेको हो । दुई वटा शौचालयमा वाटर एटिएम पनि रहेको छ ।
शौचालय निर्माणको काम पूरा भएको धनगढी उपमहानगरपालिकाका डिभिजन इन्जिनियर द्विजराज भट्टले जानकारी दिनुभयो । उहाँले धनगढी उपमहानगरपालिकाले निर्माण गरेको पाँच वटा शौचालय आउँदो वैशाखबाट सञ्चालनमा आउने उल्लेख गर्नुभयो । जिल्ला प्रशासन कार्यालयअगाडिको शौचालय भने जाइकाले निर्माण गरेको हो । त्यो शौचालय धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण हुन बाँकी रहेको छ । एउटा वाटर एटिएम जाइकाले निर्माण गरेको शौचालयमा राखिएको छ ।
बनेका शौचालय महिला, पुरुष, बालबालिका र अपाङ्गता भएका व्यक्तिले सजिलै प्रयोग गर्न सक्ने आधुनिक रहेको इन्जिनियर भट्टले बताउनुभयो ।
वाटर एटिएमबाट पानी पिउनका लागि सिक्काको व्यवस्था गर्ने कि भन्ने छलफल भइरहेको तर निर्णय नभएको जनाइएको छ । “वाटर एटिएममा जति रुपियाँको सिक्का हालिन्छ, त्यति रुपियाँ बराबरको मात्रै शुद्ध पिउने पानी आउँछ,” भट्टले भन्नुभयो, “सिक्का पाउने व्यवस्था शौचालयकै पसलमा गर्न सकिन्छ ।”
प्रदेशको मुख्य आर्थिक केन्द्र भएका कारणले धनगढीमा मान्छेको आउजाउ बढिरहने गरेको छ तर सार्वजनिक स्थलमा सार्वजनिक शौचालय नहुँदा मान्छेले समस्या भोग्दै आएका छन् । बनेका आधुनिक शौचालय प्रयोगमा आएपछि सहज हुने जनाइएको छ ।
एक करोड ३८ लाख रुपियाँ लगानीमा छ वटा आधुनिक शौचालय निर्माण भएको जनाइएको छ । एउटा शौचालयको लागत योजना ३० देखि ३५ लाखको भए पनि ठेक्कामा जाँदा २३ लाख रुपियाँमा बनेको इन्जिनियर भट्टले बताउनुभयो ।