धादिङमा जन्मेर मधेश प्रदेशको बारा जिल्लामा बसोबास गर्दै आएका कथाकार नवराज रिजाल कथा, लघुकथा, कविता, गजल, निबन्ध, नियात्रा लेखनमा सक्रिय हुनुहुन्छ । ३० वर्षदेखि नवप्रज्ञापन सम्पादन र प्रकाशन गर्दै आउनुभएका रिजालको २०३९ सालमा ‘अदृश्य पीडा’ कथा प्रकाशित भएको थियो । उहाँले कविता, निबन्ध, गजल विधामा कलम चलाउनुभए पनि कथा विधामै बढी सशक्त देखिनुहुन्छ । उहाँको पहिलो लघुकथासङ्ग्रह ‘अदृश्यपीडा’ (२०५७) कथासङ्ग्रह, ‘विखण्डित प्रवाह’ (२०६३) र ‘माटो खोज्दै’ (२०६७) लघुकथासङ्ग्रह, ‘अब उप्रान्त’ (२०८०) र ‘लौ भन्नोस् त !’ (२०८१) मा प्रकाशित भएको हो ।
‘लौ भन्नोस् त !’ विसं २०८१ मा प्रकाशित कथासङ्ग्रह हो । कथाकार नवराज रिजालको यो पाँचौँ प्रकाशित कथासङ्ग्रह हो । यस सङ्ग्रहभित्र लामाछोटा गरी १९ वटा कथा सङ्गृहीत छन् । यस सङ्ग्रहमा समाजको यथार्थ, विकृति, विसङ्गति, जीवनका विविध आरोहअवरोहमा नेपाली जीवनले भोग्नु परेका व्यथा र वेदनाले युक्त कथा छन् । यस सङ्ग्रहभित्रका ‘आवम्’, ‘हामी’, ‘असहजता’, ‘साँध दुसी’, ‘अभिमन्यु’, ‘पराकम्पन’, ‘ऊ’, ‘अनहत’, ‘विपर्यास’, ‘स्मृति’, ‘अधैर्य’, ‘सहर’, ‘महाशून्य’, ‘बागबजार’, ‘विषय’, ‘अनित्य’, ‘आज’, ‘बयान’ गरी १९ वटा कथा समावेश गरिएको छ ।
यस सङ्ग्रहको विश्वविद्यालयमा निवृत्त हुने तरखरमा रहेका प्राध्यापकको विखण्डित परिवार अर्थात् परिवार विदेशमा रहेको र उनको अन्तिम अवस्थामा र मृत्युमा समेत आफन्त नभएका घटना, सेवानिवृत्त छिमेकीको जीवनको दिनचर्या, समयको अन्तरालपछि फोन सम्पर्क गरेका साथीको जागिरे प्रसङ्ग, वृद्धावस्थामा लोग्नेस्वास्नीको सम्बन्ध र अवस्थाको चित्रण गर्दै पातलिँदै गएको बस्ती र मिचिँदै गएको साँधको घटना, गरिबीका कारण चोर बन्नु परेको, बेरोजगारीको प्रसङ्ग, बिस्तारै मानिसमा घट्दै गएको मानवता तथा समसामयिक राजनीतिले ल्याएको विकृति र विसङ्गतिको घटनालाई विषयवस्तु बनाइएको छ । समाजको यथार्थिक घटनालाई कथामा चित्रण गरिएको छ ।
यस सङ्ग्रहका कथामा जीवनका विसङ्गतिको सन्दर्भ घोर निराशा, उदासीनता र वेदनाले गर्दा देशका वृद्ध मातापिता जिउँदै मरेतुल्य भएका घटना प्रस्तुत गरिएका छन् । अपार धनसम्पत्ति भएर पनि खुसी नभएको मानिसको मन छ, घरबार छ, जग्गा जमिन छ, आधुनिक उपभोग्य वस्तु सबै छन् तर भित्र मनमा कत्ति खुसी नभएको अवस्थाको चित्रण गर्दै विसङ्गतपूर्ण एक्लो जीवनको चित्रण गर्दै अधिकांश सन्तान आफूसँगै साथमा नभएर विदेशमा भासिएकाले मृत्युपछिको संस्कार पनि नभएको अवस्थालाई प्रस्तुत गरिएका छन् । देशप्रेम शब्दमा मात्र रहेको छोराछोरीका उत्तरदायित्वविहीन अवस्था तथा राज्यले नागरिकलाई सुरक्षा गर्नु पर्दैन भन्ने जस्ता अनेक प्रश्नका यथार्थ उत्तर खोज्ने काम यस सङ्ग्रहमा सङ्गृहीत कथामा गरिएको छ । कथाकारले देश समृद्ध बनाउने हो भने सबैले दुःखसुख गरेर आफ्नै देशमा पसिना बगाउनु पर्छ र यही माटोलाई फलाउनु फुलाउनु पर्छ भन्ने पक्षमा उभिएर कथा लेख्नुभएको छ । अर्थोपार्जनका निमित्त वैदेशिक रोजगारीमा जानु आमनेपालीको बाध्यता हुन सक्छ तर सिप र आर्जनसहित देश फर्कन सक्नु पर्छ भन्दै आमयुवालाई आफ्नो देश र बाआमाका लागि देश फर्कनसमेत आग्रह गरिएको छ ।
राजनीतिको गलत प्रयोगले देशभरि सकारात्मक विचार र कार्यको सट्टा व्याप्त विकृत बाछिटा शिक्षण संस्थासम्म पुग्नाले नेपाली सभ्यता विकलाङ्ग बन्न पुग्यो । विद्यार्थीको ध्यान राजनीतितर्फ मात्र ज्यादा आकर्षित भएका कारण देशभित्र गलत विचार र सोचको विकास भयो भन्दै शैक्षिक क्षेत्र सुधार गर्नु आजको आवश्यकता हो भन्ने विचार कथाकारले कथाका माध्यमबाट व्यक्त गर्नुभएको छ ।
देशको भविष्यभन्दा पनि व्यक्तिगत सुख र स्वार्थमा म्यानपावर कम्पनी खुबै फस्टाएको र नयाँ कमाउ धन्दा वा व्यापारका कारणले युवा पलायन भएको अवस्था, सरकारको स्थायित्व र स्पष्ट नीति नभएका कारणले देशको सीमा मिचिँदा पनि मौन रहेको अवस्था, सीमा क्षेत्रमा बसेका मानिसले भोग्नु परेको ज्यादतीको चर्चा गर्दै सीमा क्षेत्रका बासिन्दा वास्तविक सीमारक्षक भएकाले तिनीहरूको जीवनयापनका लागि राज्यले गम्भीर बनेर सोच्नुपर्ने कुरामा कथाकारले सल्लाह दिनुभएको छ । तिनीहरूको यो माटोप्रतिको अगाध मायाको उच्च सम्मान गर्ने काम कथामा गरेर सष्टा रिजालले आफूभित्रको राष्ट्रियताको भावलाई प्रकट गर्नुभएको छ ।
सेवानिवृत्तपछिको आममानिसको दिनचर्या, बिदेसिएका सन्तानले देश र बुवाआमालाई बिर्सिएको अवस्था, होनहार युवालाई आफ्नो स्वार्थका लागि गरेको प्रयोग, समाजमा बढ्दै गएको एकाङ्गीपन, समसामयिक जीवनका विविध पक्षप्रतिको चेतना, देशप्रति आमनागरिकको दायित्वका सन्दर्भ, तराईका बासिन्दाको जीवनशैली तथा बढ्दो सामाजिक विकृति तथा विसङ्गति आदिलाई मूल रूपमा विषयवस्तुका रूपमा समेटी तयार पारिएको यस सङ्ग्र्रहका कथा सरल र सुबोध्यस्तरका छन् । आफैँ जस्तै सरल स्वभावका कथाकार रिजालका कथा सरल र मर्मस्पर्शी छन् । कथाभित्र केही व्याकरणीय त्रुटि रहे पनि समग्रमा यस कथासङ्ग्रहका कथा सम्प्रेषणीय र पठनीय छन् ।
नवराज रिजाल सामाजिक यथार्थवादी कथाकार हुनुहुन्छ । उहाँका कथामा समाजका विभिन्न पक्षको चित्रण गर्दै सामाजिक अवस्थालाई नजिकबाट नियालिएको पाइन्छ । उहाँका प्रायः कथा निम्नवर्गीय पात्रको जीवनको पृष्ठभूमि बनाएर लेखिएका छन् । केही कथामा तराईकै पात्रका विषयलाई शीर्षकीकरण गरी तिनकै अवस्था चित्रण गरिएको पाइन्छ । उहाँका कथा अधिकांशतः सामाजिक पारिवारिक समस्यामा केन्द्रित देखिन्छन् । वृद्धवृद्धाको अवस्था चित्रण गर्दै घरपरिवारका विभिन्न प्रसङ्गलाई कथामा देखाउन सक्षम भएको पाइन्छ ।
समग्रमा भन्नु पर्दा रिजालको ‘लौ भन्नोस् त !’ कथासङ्ग्रहका भित्रका कथा सामाजिक यथार्थवादी घटनामा आधारित देखिन्छन् र समाजका घटनाको प्रत्यक्ष चित्रण पाइन्छ । यस सङ्ग्रहका केही कथामा तराईको भौगोलिक, आञ्चलिक परिवेश पाइन्छ । वर्गीय तथा वैयक्तिक सामाजिक भोगाइ र अनुभूतिलाई कथामा प्रस्तुत गरेका कथाकार मानिसका विभिन्न पेसाका जीवनका सङ्घर्ष, आरोहअवरोह र भोगाइसँग नजिक देखिनुहुन्छ । कथाकार स्वयं तराईवासी भएकाले त्यहाँको स्थानीय परिवेश, पात्रको भोगाइ कथामा जीवन्त बनेर आएको देख्न सकिन्छ । सरल भाषाशैलीमा लेखिएका उहाँका अधिकांश कथामा बिच बिचमा उखान टुक्काको समेत प्रयोग गरिएको छ । कथाका कतिपय ठाउँमा कथ्य भाषा र तराईको लवज प्रयोग पाइन्छ । पात्र अनुकूलको भाषा र संवाद उहाँका कथामा देख्न सकिन्छ । यस कथासङ्ग्रहका कथा मनोवादात्मक, नैबन्धिक, संस्मरणात्मक र आत्मकथात्मक शैलीमा लेखिएका छन् ।