• १३ वैशाख २०८२, शनिबार

मखुन्डो नाच र अमूर्त संस्कृति

blog

काठमाडौँ उपत्यकाका सङ्गीत, नृत्यहरू लिच्छविकालमा विकास भएका र मल्लकालमा व्यापकता पाएको देखिन्छ । यसरी लिच्छविकालमा सुरु भएका मखुन्डो नृत्यहरू काठमाडौँ उपत्यका र आसपासका जिल्लामा अति प्रसिद्धि पाएका परम्परागत नाचहरू मल्लकालमा निकै सङ्ख्यामा थिए । उपत्यकाका मल्ल राजाबिचको होडबाजीका कारणले पनि उपत्यकाका तिनै सहरमा सांस्कृतिक सम्पदाको विकास भएको देखिन्छ । सांस्कृतिक सम्पदाका महत्वपूर्ण पाटोमध्येको सम्पदा नाचगान वाद्यवादन जात्रापर्व पनि उपत्यकामा उल्लेख्य सङ्ख्यामा थिए । 

नेपाल मण्डलबाहिरका जिल्लामा विभिन्न जातिले मखुन्डो नृत्य नचाउने चलन बसालेका थिए । नेपाल मण्डलबाहिर, भोजपुर, कास्की, अर्घाखाँची, गुल्मी, जिल्लामा नेवार जातिले मखुन्डो नचाउँदै आइरहेका छन् । हुम्ला, मुस्ताङ, मनाङलगायत हिमाली जिल्लामा पनि तिब्बेतियन शैलीकै जस्तो मखुन्डो नाच नचाएको पाइन्छ । उपत्यका आसपासका जिल्लाहरू धादिङ, नुवाकोट, रसुवाका तामाङ जातिले मखुन्डो नाचहरू नचाउने गरिएको पाइन्छ । नेपाल मण्डलभित्र नेवार जातिले मखुन्डो नाच नचाउँदै आएका छन् । 

मखुन्डोले कुनै पनि समाज अथवा समुदायको संस्कृति, धर्म, परम्परा र विश्वासलाई प्रतिविम्बित गरेको हुन्छ । एकातिर यी मखुन्डो नृत्य तथा नाटिकाले जनतामा धार्मिक भावना जोगाई राख्दछ । अर्कोतिर कलाका विभिन पक्ष तथा अङ्ग जस्तै सङ्गीत, वाद्यवादन, नृत्य, वेशभूषा आदिलाई यसले प्रोत्साहित गरी जीवन्त राख्न मद्दत गर्दछ । 

विश्वमा उत्कृष्ट संस्कृति, साहित्य सङ्गीत, सभ्यता, कला र लिपि आदि र आफ्नै मौलिक सांस्कृतिक परम्परा भएका जातिमध्येमा नेवार जाति पनि हो । नेपाल मण्डलमा सदियौँदेखि सञ्चालन हुँदै आएका नृत्यहरूमा शास्त्रीय र परम्परागत नृत्यहरू छन् । धार्मिक आस्थासाथ पूजा गर्दै, चाडपर्व, जात्रामात्रा मनाउँदै, विभिन्न देवीदेवताका रूपमा मान्दै आआफ्ना आस्था प्रदर्शन गर्दै आएको पाइन्छ । देवीदेवतालाई खुसी तुल्याउने हेतुले मात्र नभई सङ्कटको बखत उद्धारको आशाले पनि देवीदेवता तथा गणहरूलाई आह्वान गरी, साधना गरी नृत्य गराउने परम्परा चल्न थाल्यो । तन्त्र शास्त्रमा बयान गरिए अनुसार स्वरूपलाई साधारण जनसमुदायलाई देखाउन चित्र, मूर्ति र नृत्यको माध्यमबाट प्रस्तुत गरिँदै आएको पाइन्छ । नृत्यका रूपमा बर्र्सेनि देखाइँदै आइरहेका देवीगण नाचहरू लोकप्रसिद्ध रहेका छन् । प्राडा मृगेन्द्रमानसिं प्रधानको ‘नृत्यकला’ पुस्तकमा “नेपालका मौलिक शास्त्रीय नृत्यहरूले ग्रिसमा नाट्यशास्त्रको विकास हुँदा जसरी मखुन्डो लगाएर नाच देखाउने चलन थियो, सोही कुराको सम्झना दिलाउँछन्” भनिएको छ । 

नारायणमान बिजुक्छे ‘रोहित’ ले नाचगानको राजधानी भक्तपुर (२०४७) मा “मुखा–कृतिको सूक्ष्म भाव र अभिनयको विकास नभएको बेलामा विकास भएको नृत्य नै मखुन्डो नाच हुन्छ” भनिएको छ ।

नेपाल मण्डलभित्र यस्ता अमूल्य मखुन्डो नाचहरू कुनै भैरव नाच, कुनै मातृका गण नाच, कुनै देवी नाच आदि नाचको नाउँबाट नचाउँदै हाम्रा पूर्वजहरूले शक्तिका रूपमा रक्षकका रूपमा आआफ्ना आस्था अनुसार मानी आइरहेका छन् । 

तन्त्रमन्त्र साधना गर्दै तान्त्रिक पूजा विधि अनुसार अनुष्ठान गरी पूजा गर्दै नाच नचाउने गर्दछ । हाम्रा संस्कृतिमा देवीदेवताका रूपमा मात्र हैन लोकआख्यान अनुसार पशुपन्छी, भूतप्रेतसमेतको मखुन्डो लगाई नृत्य गर्दै समाजलाई मनोरञ्जन प्रदान गरी जात्रा मनाउँदै आइरहेका छन् । यी नेपाल मण्डलका मखुन्डो नृत्यहरूलाई नेपालको मौलिक नृत्य भनी विभिन्न राष्ट्रमा सांस्कृतिक प्रदर्शन गर्ने गरिएको पाइन्छ ।

हाम्रो पहिचानसँग जोडिएका अमूल्य नृत्यहरू नेपाल मण्डलभित्र कतै १२ वर्षमा निकाल्नुपर्ने चलन छ । कतै छ/छ वर्षमा निकाल्नुपर्ने चलन रहेको छ । धेरै जसो नाच प्रत्येक वर्ष जात्रा पर्वमा नचाउनुपर्ने छ । कतै कतै छ/छ महिनामा, कुनै जात्रा पर्वैपिच्छे नचाउनुपर्ने, कतै धार्मिक अनुष्ठानिक गरी मात्र नचाउनुपर्ने चलन छ । कतै मनोरञ्जनका लागि पनि नचाइँदै आइरहेका मखुन्डो नृत्य टोलीमा पाँचदेखि ३५ जनासम्म कलाकार रहेको पाइन्छ । नेपालमा यस्ता ८३ वटा ठुला नृत्य टोली अस्तित्वमा रहेको देखिन्छ । ससाना टोली त कति छन् कति । नेवारका पहिचानसँगै गाँसिएको अर्को मखुन्डो नाच हो, लाखे नृत्य । नेपालका ६० जिल्लामा लाखे नाच नचाउँदै आएको भेटिन्छ । नेपालबाहिर बसोबास गर्ने नेवार जातिले आआफ्ना स्थानमा लाखे नचाउँदै आएको पाइन्छ ।

यस्ता अमूल्य निधिका रूपमा रहेका विशिष्ट नृत्यहरू अटुट रूपमा सञ्चालनार्थ पुर्खाहरूले गुठीको व्यवस्था गरिएको पाइन्छ । पछिल्ला दिनमा यस्ता गुठी सञ्चालनमा समस्या पर्दै गएको छ । कतिपय गुठी बन्द भएको पाइन्छ । यस विषयमा समयमै विचार गर्न नसकिए आज एउटा, भोलि एउटा हुँदै सबै नृत्य बन्द भएर जाँदैन भन्न सकिँदैन । जनस्तरबाट मात्र पनि यसलाई बचाइराख्न गाह्रो भइसकेको अवस्था छ । अहिलेसम्मको अवस्था हेर्दा यी जात्रा पर्व, चाडबाडमा सङ्गीत, बाजागाजा, नृत्यहरू निकाली करबलले सञ्चालन गर्दै आएको पाइन्छ । त्यस कार्यमा निम्न आय भएका जनता नै देखिन्छन् । यसरी करबलले मात्र पनि कति दिन जात्रा पर्व सञ्चालन गर्न सकिएला ? समयमा ध्यान यता जान सकेन भने नेपालबाट अमूर्त संस्कृतिको क्षति बेहोर्नुपर्ने हुन सक्छ । आजसम्म विश्वको नजर परिरहेको अमूल्य जीवित संस्कृति इतिहासका पानामा मात्र सीमित हुन जान सक्छ । ढलेको मूर्त सम्पदा पुनः ठड्याउन सकिए पनि अमूर्त सम्पदा सकिएको अवस्थामा पुनः उठाउने कल्पनासमेत गर्न सकिँदैन । त्यसैले बेलैमा विचार पु¥याउनु आवश्यक हुन्छ ।  

पुर्खाले हामीलाई सुम्पी गएका सांस्कृतिक धरोहर अर्को पुस्तालाई हस्तान्तरण गर्ने हो भने विचारविमर्श गर्न हतार भइसक्यो । अझ यस्ता अमूल्य संस्कृति प्रस्तुत गरी त्यसको नाउँमा भित्रिने पर्यटकमार्फत असुली गरिएको रकमबाट सरकारले अमूत सांस्कृतिक सम्पदा बचाउने कार्य गर्नु पर्छ । देशभित्रका जीवित सम्पदा जनताको मात्र सम्पत्ति होइन । राष्ट्रकै सम्पत्ति हो, विश्वकै सम्पत्ति हो । यस्ता विश्वसम्पदा सूचीमा समावेश गर्न योग्य नेपालको अमूल्य अमूर्त सांस्कृतिक सम्पदा दिनप्रतिदिन धमिलिँदै गइरहेका छन् । 

यस्ता अमूल्य देवीदेवताका मखुन्डो नाच कतै कतै त निकाल्नै नसकेर बन्द भएर गए । जस्तै बनेपाका देवी नाच, भक्तपुर गाम्चा पकांदोलका सिकारी नाच, काठमाडौँका कङ्ग अजिमा नाच आदि आदि । ती नाच बन्द भएको ५० औँ वर्ष भइसक्यो । बाह्र वर्षमा निकाल्नुपर्ने चौबिस वर्षमा पनि निकाल्न सकेन, सकी नसकी करबलले निकाल्दै आएका नाचको पनि अवस्था राम्रो छैन । आर्थिक सहयोगको कमीले गर्दा, लुगाफाटा, गरगहना क्षति हुँदै गएकोसमेत पाइन्छ । नृत्यको बाजा, बोल–ताल बिर्सिंदै गएका छन् । यो क्रम चलिरहेकै छ । देशको संस्कृति संरक्षण गर्न इच्छुक संस्कृतिकर्मीले यसमा विचार गर्न हतार भइसकेको छ । 

सांस्कृतिक परम्परालाई जगेर्ना गरी राख्न नयाँ ढङ्गले हाम्रो परम्पराको मर्मलाई नमर्ने गरी नयाँ पुस्ताले अँगाल्न सक्ने किसिमको आधुनिकतामा ढाल्नु पर्दछ । अनि उनीहरूको रुचिलाई मनन गरी सुम्पिनु पर्दछ । नत्र यो परम्परा सधैँ रहिरहन सक्दैन । अनि यो संस्कृति लोप भइसकेपछि फेरि फर्काउन असम्भव प्रायः नै छ । जगदीशमशेर राणाका अनुसार भारतको उडिस्सी नृत्य लोप भएपछि मन्दिरको मुद्राहरू हेरेर ठुलो मेहनत गरेर पुनः जागृत गर्नु परेको थियो । हामीमा यो पनि छैन । शिला ढुङ्गा जस्ता पछिसम्म खप्ने वस्तुमा नृत्यको मुद्रा कुँदिएको र वाद्यवादनको ताल बजाउने तरिका कोरिएको मन्दिर हामीकहाँ भेटिँदैन । त्यसैले एक पटक लोप भइसकेपछि पुनरुत्थान गर्ने कार्य कल्पना गर्न सकिँदैन । मौखिक परम्परामा सीमित भएकाले यहाँका नृत्य र वाद्यवादनका गुरुहरूको अति महìव छ । 

नेवारको अमूर्त सांस्कृतिक परम्पराले मात्र नेवारको सभ्यताको पहिचान देखाउँछ । प्रत्येक सांस्कृतिक परम्परा कम हुँदै आइरहेको क्रमलाई समयमा रोक्न नसकिए नेवार संस्कृतिको एउटा महìवपूर्ण भाग नाचगान, जात्रा पर्व, गानबजान, वाद्यवादन आदि कम हुँदै एक दिन हराएरै जान सक्ने कुरामा सबैको ध्यान जानु जरुरी छ । नेवार संस्कृतिको सांस्कृतिक गतिविधिको ह्रास भनेको नेवार संस्कृति र सभ्यताको ह्रास हो । नेपालकै संस्कृति र सभ्यताको ह्रास हो, अनि मानव सभ्यताकै ह्रास हो । नेवार संस्कृति र दर्शनलाई पूर्ण रूपमा बुझ्नका लागि नेवारको अमूर्त सांस्कृतिक सम्पदालाई अध्ययन नगरी बुझ्न सकिँदैन । त्यसैले सांस्कृतिक परम्पराको संरक्षण हाम्रो परिचय र इतिहासको पनि संरक्षण हो ।