• १३ वैशाख २०८२, शनिबार

धनगढीमा आधुनिक शौचालय निर्माण

blog

धनगढीमा निर्माण भएको वाटर एटीएमसहितको आधुनिक शौचालय । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, चैत ८ गते । कैलालीको धनगढीमा छ वटा आधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । सहरी क्षेत्रमा पर्याप्त मात्रामा सार्वजनिक शौचालय नहुँदा भइरहेको समस्यालाई मध्यनजगर गरेर उपमहानगरपालिकाले आधुनिक शौचालय निर्माण गरेको हो । 

जसमध्ये दुई वटा शौचालय स्थलमा खानेपानी उपलब्ध हुने वाटर एटीएमसमेत राखिएको छ । पाँच वटा शौचालय धनगढी उपमहानगरपालिकाको कार्यालय र एउटा जाइकाले बनाएको धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले बताउनुभयो । आधुनिक शौचालयमा सानो चमेना गृह सञ्चालन गर्नसक्ने सटर र एक जना बस्न सक्ने कोठासमेत बनाइएको छ । 

महिला, बालबालिका, पुरुष र फरक क्षमताका व्यक्तिले सहजै प्रयोग गर्न सक्ने गरी सुविधायुक्त शौचालय बनेको इन्जिनियर भट्टको भनाइ छ । “पहिलेका शौचालय जस्तो यी शौचालय रहँदैनन्”, उहाँले भन्नुभयो, “सरसफाइमा विशेष ध्यान दिइने छ ।”

धनगढी उपमहानगरपालिकाले बनाएको पाँच वटा सार्वजनिक शौचालय आगामी वैशाखबाट प्रयोगमा आउने जनाइएको छ । जिल्ला प्रशासन कार्यालय अगाडि जाइकाले निर्माण गरेको वाटर एटीएमसहितको शौचालय भने हस्तान्तरण हुन बाँकी रहेको छ । 

करिब एक करोड ३८ लाख रुपियाँ खर्चेर आधुनिक शौचालय निर्माण गरेको जनाइएको छ । एउटा शौचालय निर्माणमा २३ लाख रुपिया खर्च भएको इन्जिनीयर भट्टले बताउनुभयो ।