रमेश विश्वकर्मा
गुल्मी, चैत ८ गते । नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलन हुने भएको छ । कांग्रेस गुल्मीले यस जिल्लाका वडा, पालिका, प्रदेश सभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रमा सम्मेलन सम्पन्न गरेसंगै तेस्रो जिल्ला सम्मेलनको तयारीमा लागेको सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
सभापति पन्थीका अनुसार जिल्ला पार्टी कार्यालय बीपी स्मृति भवनमा बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिको १८ औं बैठकले यही चैत २६ र २७ मा तेस्रो जिल्ला सम्मेलन गर्ने निर्णय भएको हो ।
नेपालमा प्रजातन्त्र पुनःस्थापना भएको दिन “जनआन्दोलन दिवस” को अवसर पारेर चैत २६ गते तेस्रो जिल्ला सम्मेलनको खुला सत्र तम्घासस्थित चिदिचौरमा गरिने भएको छ । त्यसैगरी सम्मेलनको बन्द सत्र २७ गते एभरग्रीन पार्टी प्यालेस र इन्द्रेणी पार्टी प्यालेसमा गरिने उहाँले बताउनुभयो ।
सम्मेलनलाई सभ्य, भव्य र प्रभावकारी बनाउन टोल–टोलबाट कांग्रेसमा आस्थावान आम नेता कार्यकार्तालाई तम्घासमा उतार्ने गरी लागिएको छ । उद्घाटन ९खुला० सत्र र बन्द सत्र गरी दुई चरणमा हुने सम्मेलनका लागि पालिकागत योजना बनाएर सबैलाई तम्घासमा ल्याउन लागिएको कांग्रेस गुल्मीका सचिव भगतसिंह खड्काले बताउनुभयो ।
सम्मेलनका लागि पार्टीका केन्द्रीय पदाधिकारी, प्रदेशका पदाधिकारीसहितका नेता गुल्मी आउने बताइएको छ । सम्मेलनलाई व्यवस्थित बनाउनका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । सम्मेलन पार्टीको गम्भीर समीक्षा, आगामी कार्ययोजना चुस्तदुरुस्त बनाउने र पार्टीका सबै सङ्गठनलाई सशक्त क्रियाशील बनाउने विषयमा केन्द्रित रहेको बताइएको छ ।
सम्मेलनको बन्दसत्रमा जिल्लाभरका एक हजार ७४६ क्षेत्रीय प्रतिनिधि सहभागी हुनेछन्। सम्मेलनको माध्यमबाट वैचारिक छलफललाई सूक्ष्म रुपमा अगाडि बढाउनुका साथै सम्मेलनले गुल्मी कांग्रेसलाई नयाँ ऊर्जाका साथ अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ ।