• १५ चैत २०८१, शुक्रबार

एसइईको एउटा परीक्षा केन्द्रमा एउटा विद्यालयका विद्यार्थी मात्र

blog

राजकुमार भट्टराई 

खोटाङ, चैत ८ गते। खोटाङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को एउटा परीक्षा केन्द्रमा एउटा विद्यालयका विद्यार्थी मात्र रहेको पाइएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा माध्यमिक विद्यालयमा रहेको एसइई परीक्षा केन्द्रमा एउटा मात्र विद्यालयका विद्यार्थीले परीक्षा दिइरहेका छन्। 

जालपाकै अर्को माध्यमिक विद्यालय ज्योति माध्यमिक विद्यालयका विद्यार्थीले गाउँकै जालपा मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका हुन्। उक्त परीक्षा केन्द्रमा ज्योति माविका २२ जना नियमित र ग्रेडवृद्धिका पाँच जना विद्यार्थी छन्। शिक्षा विकास तथा समन्वय एकाई खोटाङको तथ्यांक अनुसार जालपा परीक्षा केन्द्रमा ज्योति माविका २५ जना विद्यार्थी र जालपा माविकै खुला तीन जना विद्यार्थी परीक्षामा उपस्थित भएका छन्।  

अघिल्लो वर्षसम्म जालपा मावि परीक्षा केन्द्रमा तीन वटा विद्यालयका विद्यार्थीले एसइई परीक्षा दिएका थिए। कालिका मावि खार्मी र सरस्वती मावि पाथेकाले परीक्षा केन्द्र परिवर्तन गरेपछि जालपा माविको परीक्षा केन्द्रमा एउटा विद्यालय मात्र बाँकी रहेको हो। कालिका मावि र सरस्वती मावि यो वर्षबाट दिक्तेलस्थित सरस्वती मावि परीक्षा केन्द्रमा सहभागी भएका छन्। 

केही वर्ष अघिसम्म ६÷७ वटा विद्यालयको एसएलसी वा एसइई परीक्षा केन्द्र रहेको जालपा मावि यस वर्षबाट एउटा विद्यालयको मात्र परीक्षा केन्द्र बन्न पुगेको छ। 

अघिल्लो वर्षको एसइई परीक्षामा जालपा मावि परीक्षा केन्द्रबाट सामाजिक सञ्जाल फेसबुक मेसेन्जरमार्फत विद्यार्थी र शिक्षकको ग्रुप बनाएर चिट चोरिरहेको भेटिएको थियो। जालपा टाढा भएकाले यो वर्षबाट दिक्तेलको सरस्वती मावि परीक्षा केन्द्रमा सहभागी भएको उक्त दुई विद्यालयले जनाएका छन्।