सुदूरपश्चिम धार्मिक एवं पर्यटकीय हिसाबले सम्पन्न छ । यस क्षेत्रमा कैयौँ पर्यटकीय स्थल छन् भने धार्मिक स्थलको पनि कमी छैन । ‘स्वर्गको टुक्रा’ मानिने खप्तडदेखि आरोहण हुनै बाँकी अपि, सैपाल हिमाल यहीँ छन् । सुदूरपश्चिम पुगेपछि दुर्लभ डल्फिन हेर्न पाइन्छ । तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै दर्जनभन्दा बढी यस्ता ठाउँ छन् । सुदूरपश्चिम प्रदेशमा रहेका केही पर्यटकीय स्थल यस प्रकार रहेका छन् ।
खप्तड क्षेत्र
सुदूरपश्चिम प्रदेशको डोटी, अछाम, बझाङ र बाजुरा गरी चार जिल्लाको सङ्गम स्थलमा रहेको खप्तड क्षेत्र पर्यटकका लागि मुख्य गन्तव्यमा पर्दछ । खप्तड राष्ट्रिय निकुञ्जलाई प्राकृतिक सौन्दर्यको खानी मानिन्छ । खप्तडलाई धर्तीको स्वर्गको उपमा पनि दिइएको छ ।
प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण खप्तडमा २२ वटा ठूला पाटन र ५२ वटा झोता अर्थात् रुखका थुम्का रहेका छन् । खप्तड प्रकृतिप्रेमी पर्यटकका लागि रमणीय छ । नेपाल सरकारले २०४३ सालमा २२५ वर्गकिलोमिटर क्षेत्र समेटेर खप्तड राष्ट्रिय निकुञ्ज बनाएपछि खप्तड क्षेत्रको संरक्षण भएको छ ।
खप्तड हिमाली क्षेत्रदेखि चुरे शृङ्खलासम्म फैलिएको छ । पहिला खप्तड गाउँलेको चरिचरन क्षेत्र मात्र थियो भने अहिले निकुञ्जले बाजुरा, डोटी, बझाङ र अछामको भूमि समेटेको छ । खप्तड राष्ट्रिय निकुञ्जको उचाइ एक हजार २६२ देखि तीन हजार २७६ मिटरसम्म रहेको छ । निकुञ्ज मुख्यालयलाई केन्द्र मानेर त्रिवेणीधाम, खप्तड बाबा आश्रम, खापर दह, सहस्र लिङ्ग र घोडा दाउने पाटन घुमफिर गर्न पर्यटकलाई दुई दिन लाग्छ । त्रिवेणीधाम गङ्गा, जमुना र सरस्वती नदीको सङ्गम स्थल हो । खापर दहलाई फन्को मार्दाको मज्जा पर्यटकका लागि छुट्टै हुन्छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
शुक्लाफाँटा वन्यजन्तुको सुरक्षित आश्रय स्थल हो । बाघदेखि बँदेलसम्म, मृगदेखि मयूरसम्मले विचरण गर्ने स्थल हो यो । वन्यजन्तु हेर्न होस् वा तिनलाई नजिकबाट अध्ययन गर्न शुक्लाफाँटा एक उपयुक्त स्थल मानिन्छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज २०२६ सालमा शिकार आरक्षका रूपमा स्थापना भएको थियो । २०३२ सालमा १५५ वर्ग किलोमिटर क्षेत्रफल समेटी शुक्लाफाँटा वन्यजन्तु आरक्ष घोषणा गरिएको थियो ।
२०३६ सालमा आरक्षको पूर्वतर्फ १५० वर्ग किलोमिटर क्षेत्रफल विस्तार गरी आरक्षको कुल क्षेत्रफल ३०५ वर्ग किलोमिटर बनाइयो । त्यसपछि २०७३ साल फागुन ९ गते शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जमा परिणत गरियो । यो समुद्र सतहदेखि १७४ मिटरदेखि १३ सय ८६ मिटरको उचाइमा पर्दछ । यस निकुञ्जमा बाह्रसिङ्गाको विश्वको सबैभन्दा ठूलो बथान रहेको छ । अन्य दुर्लभ वन्यजन्तु, पन्छी तथा वनस्पतिका लागि पनि यो ठाउँ प्रसिद्ध छ ।
यस निकुञ्जमा ठूलो घाँसे मैदान पनि छ । जहाँ बाह्रसिङ्गाको बथानले पर्यटकलाई आकर्षित गर्दछ । तराईका संरक्षित क्षेत्रमध्ये वनस्पतिका सबैभन्दा बढी प्रजाति पाइने क्षेत्र पनि हो यो । साथै खरमजुर र कृष्णसारको पुनस्र्थापना गरिएको नेपालको पहिलो संरक्षित क्षेत्र हो शुक्लाफाँटा ।
झिलमिला ताल
प्राकृतिक सौन्दर्यले भरिपूर्ण महाभारत पर्वत शृङ्खलाको कान्छो पहाडको मध्यभागमा चारैतिर घनाजङ्गलबीच सफा, सुन्दर र शान्त ताल छ झिलमिला । यहाँ चारैतिर देवीदेवताका थान छन् ।
तालको पानी कञ्चन छ । न त्यहाँ रुखका पात खसेका छन् न पानीको कुनै निकास छ । अलौकिक सौन्दर्य नियालेर हेर्ने हो भने पानीका फोका झिल्का जस्ता देखिन्छन् । भीमदत्त नगरपालिका–९, चुरे पहाडमा रहेको झिलमिला ताल स्वदेशी र विदेशी पर्यटकको रोजाइमा पर्दछ ।
हिन्दुहरूको प्रमुख काव्यग्रन्थ ‘महाभारत’ मा पनि यस तालको अलौकिक शक्तिको वर्णन छ । महाभारत अनुसार पाण्डव वनवासमा हुँदा द्रौपदीलाई तिर्खा लाग्यो । युधिष्ठिरले पानी खोज्न कान्छो भाइ सहदेवलाई अह्राए । धेरै बेरसम्म सहदेव नफर्किएपछि क्रमशः नकुल, अर्जुन र भीमलाई पठाए तर कोही फर्केन । अन्त्यमा उनी आफैँ पानी खोज्न हिँडे । हिँड्दै जाँदा ताल छेउमा सबै भाइ लडिरहेको देखे । त्यही बेला तालबाट निस्केको अदृश्य शक्तिले युधिष्ठिरलाई प्रश्न सोध्यो । उनले प्रश्नको जवाफ दिएपछि उनलाई एउटा भाइ जिउँदो बनाउने वर माग्न लगाइयो । युधिष्ठिरले सौतेलो भाइ नकुललाई जिउँदो बनाइदिन माग गरे । त्यसपछि त्यो अलौलिक शक्तिले युधिष्ठिरका सबै भाइलाई जिउँदो बनाएका थिए । यो त्यही ताल हो ।
डेढ किलोमिटर लामो ताल चार बिघा क्षेत्रफलमा फैलिएको छ । यो १७ मिटर गहिरो छ । ताल चारैतिरबाट घनाजङ्गलले ढाकिएको छ ।
तालको चार दिशामा देवीदेवताका मन्दिर छन् । दक्षिणतिर झिलमिला माताको मन्दिर छ । सुरुमा झिलमिला माताको दर्शन गरी ताललाई दाहिने गरी दर्शनार्थीले ताल परिक्रमा गर्छन् । मन्दिरनजिक सिद्ध बैजनाथको मन्दिर छ । पश्चिमी किनारमा दुर्गा माता र अर्को छेउमा पूर्णागिरिको मन्दिर छ ।
वेदकोट ताल
कञ्चनपुर र डडेलधुरा जिल्लाको सिमाना चुरे पर्वतसँगै रहेको वेदकोट ताल पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । कञ्चनपुर आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा यो ताल पर्न थालेको छ । महेन्द्रराजमार्गको दैजी चौराहाबाट १३ किलोमिटर उत्तरमा रहेको उक्त ताल अवलोकन गर्न बर्सेनि हजारौँ पर्यटक पुग्छन् । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलका रूपमा परिचित छ वेदकोट ताल । तालको वरपर रुखैरुख छन् तर तालमा कहिल्यै पात झरेको देखिँदैन । दैवी शक्तिका कारण तालमा पात नपरेको जनविश्वास रहेको छ ।
घोडाघोडी सिमसार क्षेत्र
विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसारमा ३६० प्रजातिका चराचुरुङ्गी पाइन्छन् । यस सिमसारमा साइबेरिया, मङ्गोलियालगायत ठाउँबाट हिउँदे आगन्तुक चरा आउँछन् । यहाँ पाइने चरामध्ये ६४ प्रजातिका त जलपन्छी छन् । यसै गरी विश्वमा दुर्लभ मानिएका १२ प्रजातिका चरा पनि घोडाघोडी सिमसारमा पाइन्छन् ।
कैले टाउके हाँस, राजधनेश, राजलाहाँचे, भुँडीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसेफिस्टो, लघु महाचिललगायत दुर्लभ चरा यो सिमसारमा देख्न सकिन्छ । सिद्ध घोडाघोडीसहित ठूलासाना २४ वटा ताल रहेको घोडाघोडी सिमसार क्षेत्र १० हजार ५७० हेक्टर क्षेत्रफलमा फैलिएको छ । २०७८ फागुनमा प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र घोडाघोडी नगरपालिकाको संयुक्त आयोजनामा यसलाई बर्ड सेन्चुरी घोषणा गरिएको थियो ।
गोदावरी धाम
सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाको मुख्य प्रवेशद्वार र धनगढी–डडेलधुरा राजमार्गको छेउमै रहेको यो क्षेत्रलाई सप्तगोदावरीमध्येको प्राचीन गोदावरीका रूपमा लिने गरिन्छ । वृद्ध गौतमीका नामले समेत चिनिने यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको स्कन्द पुराणमा उल्लेख गरिएकाले यसको धार्मिक महत्व पनि छ ।
यसका साथै गोदावरीमा भगवान् राम, भीष्मपितामह र पाण्डवले पनि स्नान गरेको किंवदन्ती छ । यो क्षेत्रमा पश्चिम नेपालको सबैभन्दा अग्लो ५१ फिटको हनुमानको मूर्ति रहेको छ । धनगढीदेखि करिब २० किलोमिटर उत्तरमा चुरे पहाडको फेदमा रहेको गोदावरी क्षेत्रमा गोदावरी नदी, छेउमा मठमन्दिर, धर्मशाला, बौद्ध गुम्बा रहेका छन् । मकरसङ्क्रान्तिका दिन यो क्षेत्रमा मेला लाग्छ ।
कैलालीको गोदावरीधाम अचेल धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । गोदावरीधाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला लाग्ने गरेको छ ।
रामारोशन क्षेत्र
अछामको रामारोशन गाउँपालिका–५ मा अवस्थित छ रामारोशन क्षेत्र । यहाँको जयगढ बजारदेखि करिब ४० किलोमिटरको कच्ची सडक छिचोल्दै रामारोशन क्षेत्र पुग्न सकिन्छ । १२ बन्ड र १८ खण्डका नामले प्रख्यात यो क्षेत्रमा विशेष गरी नयाँ वर्षको समय भ्रमणका लागि अनुकूल मानिन्छ । यहाँ सानाठूला गरी १२ वटा ताल (बाह्र बन्ड) र १८ वटा रमणीय मैदान (अठार खण्ड) छन् । स्थानीय भाषामा यसलाई बाह्र बन्ड अठार खण्ड पनि भन्ने गरिन्छ ।
रहरलाग्दा जमिनका फाँट, मनमोहक ताल, अनेक थरीका फूल, तालमा पौडिरहेका जलहाँस, राष्ट्रिय पन्छी डाँफे, मुनाल र दुर्लभ वन्यजन्तु कस्तुरी मृग तथा अन्य विभिन्न जनावरको उपस्थिति यस जिल्लाको पर्यटन विकासको स्तम्भ मान्न सकिन्छ । कसैले यसलाई ‘प्रकृतिकी रानी’ भन्छन् भने कोहीले यसलाई ‘प्रकृतिको स्वर्ग’ पनि भन्छन् । दुर्गम पहाडी खोचभित्र रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणीय रामारोशनमा ताल, मैदान, झरना, पाटन, जङ्गल, पहाडी चुचुरा, जङ्गली जनावर, चराचुरुङ्गी, फूल, जडीबुटी र गुफा रहेका छन् ।
रामारोशनको नामका सम्बन्धमा विभिन्न मत सुनिन्छन् । एकथरी भनाइ अनुसार रामारोशन क्षेत्रभित्र आधा घण्टाको फरकमा रामे र रोशन नामका दुइटा मैदान छन् । परापूर्वकालमा रामे नामको एक जना गोठालाले सबैभन्दा पहिले रामे मैदानमा गोठ बनाएकाले त्यस ठाउँको नाम रामे र अर्को रमाइलो, रसिलो भएकाले रोशन रहन गएको हो भन्ने मान्यता छ । पछि दुवै स्थानलाई जोडेर रामारोशन हुन गयो ।
परापूर्वकालमा शिव र पार्वतीले यस क्षेत्रमा रोशन र रामका रूपमा बास गरेकाले त्यसको नाम रामारोशन रहेको हो भन्ने मान्यता पनि रहिआएको छ । तेस्रो भनाइ अनुसार रामारोशनलाई दुई भागमा विभाजित गरेर हेर्दा रामा भनेको भगवती दुर्गा, पार्वती, लक्ष्मी आदि देवी र रोशन भनेको अत्यन्त सुन्दर उज्यालो मनमोहक रमणीय ठाउँ (देवी भगवतीको क्रीडास्थल) हुन्छ ।
मेलौली भगवती मन्दिर
बैतडीको मेलौली नगरपालिकामा रहेको मेलौली भगवतीको मन्दिर हाल शिखर शैलीभित्र पर्ने प्यागोडा शैलीमा निर्माण गरिएको छ । काँडा बजारस्थित शिखर शैलीको शिवमन्दिर नजिकको टोल र गाउँमा मस्टा, गैसरे, वामनी, सिद्ध, भूतनाथ, लाटो, रतनपुरी आदि देवस्थान र माण्डौ खुला देवस्थानका रूपमा स्थापित गरिएका छन् ।
विभिन्न पर्वमा यहाँ आआफ्नो परम्परा अनुसार पूजाआजा गर्ने चलन छ । यी देवीदेवतालाई मेलौली भगवतीका सहयोगी शक्तिका रूपमा लिने गरिन्छ । यस मन्दिरपरिसरबाट एक÷दुई घण्टाको पैदल दुरीमा शिवनाथ, महारुद्र, ठाकुर मन्दिर उदयदेव, ग्वाल्लेक केदार, गङ्गेश्वर आदि दर्शनीय धार्मिक स्थल छन् । यस मन्दिरको पश्चिममा पर्ने अम्चोरा भन्ने ठाउँमा देवतालसमीप गणमेश्वर शिवको सुन्दर मन्दिर निर्माण गरिएको छ ।
अपिहिमाल
अपिहिमाल गुराँस हिमशृङ्खला अन्तर्गत दार्चुला जिल्लामा पर्दछ । यो सुदूरपश्चिमको सबैभन्दा अग्लो शिखर हो । यसको उचाइ सात हजार १३२ मिटर रहेको छ ।
कर्णाली चिसापानी पुल
कैलालीको चिसापानीबाट बर्दिया जिल्लाको बर्दिया वन्यजन्तु आरक्ष जोड्ने कर्णाली नदीको पुल बन्नुभन्दा पहिले समग्र सुदूरपश्चिम देशको बाँकी भूभागसँग सडक सञ्जालले मात्र होइन भावनात्मक रूपमा पनि आज जत्तिको जोडिएको थिएन । २०५० साल मङ्सिर २८ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले यस पुलको उद्घाटन गरेसँगै सुदूरपश्चिम देशका अन्य भूभागसँग सडक सञ्जालले जोडियो ।
कर्णाली नदीमाथि गाडी गुड्ने देशकै नमुना पुलले सुदूरपश्चिमलाई देशको पूर्वी भागसँग जोडेको छ । यो पुलसमेत पर्यटकीय गन्तव्य बनेको छ । पुलसँगै रहेको चिसापानी क्षेत्रसमेत रमणीय छ । हाल यो क्षेत्रमा पर्यटकीय गतिविधि बढ्दै गएको छ ।
–युवामञ्च