• १५ चैत २०८१, शुक्रबार

आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दो

blog

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापमा उपचार गराउँदै बिरामी ।

रामेछाप समाचारदाता

रामेछाप, चैत ८ गते ।  रामेछापमा आयुर्वेदिक उपचार पद्धतिमा बिरामीको आकर्षण बढ्दै गएको छ । अन्य उपचारबाट रोग निको नभएपछि आयुर्वेदिक उपचार लिन पुग्नेको सङ्ख्या उल्लेख्य रहेको छ । रोग लाग्नेबित्तिकै तथा रोग लाग्नुभन्दा अगाडि नै उपचार र परामर्शका लागि आयुर्वेदिक उपचार केन्द्रमा पुग्ने गरेकासमेत धेरै छन् । 

अन्यत्र उपचार गर्दा रोग निको नभएपछि सदरमुकाम मन्थलीमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सेवा लिन आएको मन्थली नगरपालिका–६, डाँडाखर्ककी ६२ वर्षीय नेप्टी बसेलले बताउनुभयो । उहाँले भन्नुभयो, “ग्यास्ट्रिकले दुःख दिएपछि काठमाडौँ गएर उपचार गरेँ । त्यहाँको उपचारले काम गरेन । यहाँ आएर सेवा लिन थालेपछि मुख बारेर नियमित औषधी खाँदा कम भएको छ ।”

ठोक्किएको शरीर दुखेर बिरामी परेपछि ठाउँ ठाउँमा उपचार गर्दा पनि निको नभएपछि सो चिकित्सालयमा उपचार गरेपछि धेरै आराम मिलेको लिखु तामाकोशी गाउँपालिका–६, खिम्तीका ८५ वर्षीय अम्बरबहादुर बरुवालले बताउनुभयो । उहाँले भन्नुभयो, “ठोक्किएको शरीर दुखेर धेरै बिरामी परियो । धेरै अस्पतालमा उपचार गराएँ तर ठिक भएन । अहिले आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा थेरापी सेवा लिन लागेपछि निकै सुधार भएको छ । यहाँ सेक्ने र मालिस गर्ने गरेपछि निक्कै सन्चो भएको छ ।”

सदरमुकाम मन्थलीमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दो मात्रामा रहेको चिकित्सालयकी प्रमुख डाक्टर पुनम नेपालले बताउनुभयो । आयुर्वेद उपचारबारे जानकारी भएका व्यक्ति उपचारका लागि आउने क्रम बढेको उहाँको भनाइ छ ।  

चिकित्सालयमा पुरानो रोग भएका मात्र होइन, नयाँ रोग लाग्नेबित्तिकैका बिरामी पनि आउने व्रmम बढ्दै गएको चिकित्सालयका सूचना अधिकारी वरिष्ठ कविराज निरीक्षक दीपक कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “चिकित्सालयमा हाडजोर्नी, बाथ, ग्यास्ट्रिक, रक्तचापलगायतका नसर्ने रोगका बिरामी बढी आउने गरेका छन् । विगतमा भन्दा बिरामीको चाप बढ्दै गएको छ ।” 

चिकित्सालयले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यव्रmम अन्तर्गत होलबडी चेकअपको सेवासमेत प्रदान गरेको छ । उक्त सेवा लिन आउने बिरामीको सङ्ख्या निक्कै भएको उहाँले जानकारी दिनुभयो । सो सेवा अन्तर्गत मधुमेह, उच्च रक्तचाप, मिर्गौला, कलेजो, दिसापिसाबलगायतका जाँच र उपचार निःशुल्क गरिने भएकाले जाँच र उपचारका लागि आउने बिरामी वृद्धि भएको कार्कीले बताउनुभयो । 

“बागमती प्रदेशका नागरिकले यो सेवा निःशुल्क पाउनुहुन्छ । बागमती प्रदेशका बासिन्दा भएको पुष्टि हुने नेपाली नागरिकताको प्रमाणपत्र लिएर आउनेले सो सेवा पाउनुहुन्छ । हामीले हरेक हप्ताको सोमबार सो सेवा प्रवाह गर्दै आएका छौँ,” उहाँले भन्नुभयो । सो चिकित्सालयले बिरामीको ओपिडी जाँच तथा उपचार सेवा, आयुर्वेद उपचारको पञ्चकर्म र पूर्वकर्मका सेवा, ल्याब, फिजियोथेरापी, अकुपन्चर, क्षारसूत्र शल्यव्रिmया, स्तनपान आमालाई दुधवर्धक औषधी, ज्येष्ठ नागरिकका लागि स्वास्थ्य प्रवर्धन सेवालगायतका विभिन्न सेवा प्रदान गर्दै आएको छ । 

बागमती प्रदेश सरकारमातहतमा रहेको सो चिकित्सालयलाई प्रदेश सरकारले १६ शøयाको अस्पतालको मान्यता दिएको छ । संरचना नहुँदा श-या राखेर अस्पतालको सेवा सुरु हुन भने सकेको छैन । सो चिकित्सालयमा श-यासहितको अस्पताल सञ्चालनका लागि आवश्यक समन्वय गर्ने मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले बताउनुभयो । “जिल्लाको एक मात्र आयुर्वेदिक अस्पताल सञ्चालन हुनु पर्छ भन्ने पक्षमा हामी छौँ, मन्थली नगरपालिकाका तर्फबाट निर्वाह गर्नुपर्ने सबै भूमिका निर्वाह गर्न तयार छौँ,” श्रेष्ठले भन्नुभयो ।  बागमती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ पनि सो अस्पताल सञ्चालनका लागि आवश्यक पहल गरिरहेको बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “यो अस्पताल छिटोभन्दा छिटो पूर्ण रूपमा सञ्चालनमा आउनु पर्छ । त्यसका लागि हाम्रोतर्फबाट पहल हुन्छ । प्रदेशका स्वास्थ्यमन्त्रीसँग यस विषयमा कुरा गरिरहेको छु ।” जिल्लाको एक मात्र आयुर्वेदिक अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने स्थानीयको माग रहेकाले आफूहरू सोही अनुसार लागि परेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका अध्यक्ष नवराज घिमिरेले बताउनुभयो ।