ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत ७ गते । म्याग्दीको धवलागिरि गाउँपालिका २ लुलाङमा बिहीबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लुलाङ–गुर्जा सडक अन्तर्गत ढोलढार भन्ने ठाउँमा ट्याक्टर दुर्घटनामा परेको हो ।
देउरालीदेखि लुलाङतर्फ आउँदै गरेको ग ७१ त ९० नम्बरको ट्याक्टर दुर्घटना हुँदा अन्य चारजना घाइते भएको स्थानीयवासी बिर्खलाल विकले बताउनुभयो । उहाँका अनुसार घाइतेको नाम खुलेको छैन ।
घटनास्थलमा रहनुभएका धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरका अनुसार दुर्घटनमा लुलाङका अन्दाजी २० वर्षीय पूर्णलाल रसाइलीको घटनाथल मै मृत्यु भएको छ ।
तीनजना घाइतेलाई लुलाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको र एक जनालाई एम्बुलेन्समा राखेर थप उपचारका लागि बेनी पठाइएको पालिका उपाध्यक्ष पुनमगरले जानकारी दिनुभयो ।
ताकम प्रहरी चौकीको टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयवासी र जनप्रतिनिधिले घाइतेको उद्दार गरेर स्वास्थ्य चौकीमा लगेका थिए ।