सिराज खान
नेपालगन्ज, चैत ७ गते। पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा बिहीबार नेपाली काँग्रेस बाँकेले ‘गिरिजाप्रसाद कोइराला र लोकतान्त्रिक गणतन्त्र’ विषयक विचार गोष्ठीको आयोजना गरेको छ।
सो गोष्ठीमा बोल्ने अधिकांश वक्ताले गिरिजाप्रसाद कोइराला जस्तो अडिग र दूरगामी नेता मुलुकका लागि अहिले पनि आवश्यक रहेको बताएका छन्। नेपाली काँग्रेसक केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले गिरिजाप्रसाद कोइराला दूरदर्शी नेता भएको भन्दै काँग्रेसमा त्यस्तै नेताको अभाव खड्किएको बताउनुभयो।
उहाँले लोकतान्त्रिक जन आन्दोलनका नायक कोइरालाकै कारण मुलुकमा सशस्त्र द्वन्द्वको अन्त्य भएको र गणतन्त्र आएको बताउनुभयो। स्वर्गीय कोइरालाकै अगुवाइमा मुलुकमा शान्ति स्थापना भएको बताउदै केन्द्रीय सदस्य बाल्मिकीले जंगलमा रहेका माओवादीलाई राजनीतिक मुलधारमा ल्याएर मुलुकलाई शान्ति स्थापना गराउन कोइरालाको भूमिका अतुलनीय रहेको प्रष्ट पार्नुभयो।
नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले नेता स्व. कोइरालाले मुलुक परिवर्तनका हरेक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै मजदुरको हकअधिकार दिलाउन कोइरालाकै अगुवाइमा मजदुर आन्दोलन भएको पनि स्मरण गराउनुभयो।
लुम्बिनी प्रदेशसभाका सदस्य बादशाह कुर्मीले कोइरालाको अगुवाइकै कारण मुलुकमा लोकतान्त्रिक आन्दोलन सफल भएको बताउदै काँग्रेस पराजय हुने अवस्थामा पनि संविधानसभाको निर्वाचन गराएर कोइरालाले देशलाई निकास दिएको उल्लेख गर्नुभयो।
महासमिति सदस्यको तर्फबाट बोल्दै लुटबहादुर खत्रीले पार्टी भित्रको अस्वस्थ प्रतिस्पर्धा रोक्नसके काँँग्रेस बलियो पार्टी बन्ने बताउँदै उहाँले त्यो शिक्षा कोइरालाको त्यागबाट सिक्नुपर्ने बताउनुभयो। नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताले कोइराला यो युगको शिखर पुरुष भएको बताउनुभयो।
यस्तै प्रदेश क्षेत्रीय सभापतिको तर्फबाट बाँके क्षेत्र नम्बर १ (ख) का सभापति बलराम शर्मा, नेपाल किसान संघका केन्द्रीय सदस्य शारदा शर्मा, दलित संघ बाँकेका अध्यक्ष कृष्णबहादुर बिक, नेपाली काँग्रेस बाँकेका उपसभापति गोपाल अधिकारी, जिल्ला सदस्य उमा थापा, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य परमेश्वरी पाठक र महासमिति सदस्य दुखिराम लोनिया लगायतले स्वर्गीय कोइरालाको योगदानको विस्तृत रुपमा चर्चा गर्नुभयो।
नेपाली कांग्रेसका बाँके क्षेत्र नम्बर १ का निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, जिल्ला कार्यसमितिका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रका पदाधिकारी, पालिका सभापति, वडा सभापति लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।