• ७ चैत २०८१, बिहिबार

सदाबहार असन–इन्द्रचोक बजार

blog

काठमाडौँको असन–इन्द्रचोक क्षेत्र व्यापारका लागि सदाबहार छ । पैसा भएमा असन–इन्द्रचोक बजार क्षेत्रमा आफूले चाहेको धेरै चिजवस्तु किन्न पाइन्छ ।

यहाँ नपाइने भन्ने केही छैन । त्यसैले होला असन बजार कहिल्यै सुत्दैन रे, २४ घण्टा जागा रहने असनमा सर्वसाधारणको ओहोरदोहोर भइरहन्छ । असन–इन्द्रचोकलाई व्यापारिक, धार्मिक, राजनीतिक र सांस्कृतिक विविधताको ऐतिहासिक सङ्गमचोक पनि भनिन्छ । यो नेपालको पुरानो बजार हो । जुन बजार वर्षौंदेखि आकाशमुनि सञ्चालन हुँदै आएको इतिहास छ ।

लिच्छविकालदेखि नै व्यापारका लागि चर्चित असन मल्लकालमा दक्षिणमा भारत र उत्तरमा तिब्बत (चीन) सँगको मुख्य व्यापारिक केन्द्र रहेको थियो ।

असनदेखि इन्द्रचोकसम्मको दुरी करिब दुई सय मिटर रहेको छ । यी दुई चोकको आआफ्नै विशेषता छन् । असनमा पाइने सामान इन्द्रचोकमा पाइँदैन, इन्द्रचोकको सामान असनमा हुँदैन । यसको दायाँबायाँ क्षेत्रमा धेरै समयपछि बजार विस्तार भएसँगै सटर कवल र चहलपहल बढेको हो । स्थानीय व्यापारीका अनुसार नुनदेखि सुनसम्म, जन्मिँदादेखि मर्दासम्म, घिउदेखि बिउबिजनसम्म, हरियापरियादेखि गेडागुडीसम्म र हिङदेखि रिङसम्मका सामग्री त्यहाँ किन्न पाइन्छ । 

काठमाडौँ शहर फराकिलो बन्दै गर्दा सपिङ मल र व्यापारिक कम्प्लेक्स थपिएका छन् तर पनि यो सानो र साँघुरो बजारमा ग्राहकको भिड भने कहिल्यै घटेको छैन । असन बजार आमग्राहकले खोजेको सामान सहजै पाइने बजार हो ।

चाडपर्वका बेलामा मात्र होइन अन्य दिनमा पनि ग्राहकको बाक्लो भिड यहाँ लाग्ने गर्छ । खाद्य व्यापारी मुस्कान गौतमका अनुसार असनमा पहिलेदेखि नै आकाशमुनि व्यापार हुन्थ्यो । जुन व्यापारलाई अचेल फुटपाथ वा नाङ्लो व्यापार भन्ने गरिन्छ । 

काठमाडौँ उपत्यकाभित्र कहीँ कतै नपाएको सामान किन्नु परेमा असन आउनुपर्ने बाध्यता छ । कतिसम्म भने वनजङ्गलमा पाइने अमला, दालचिनी, सालको पात, जिम्मु, शिलाजित, बोजोदेखि च्याउ, कुरिलोसम्म किन्न सकिन्छ । 

असन–इन्द्रचोक धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण स्थल हुन् । इन्द्रचोकमा चर्चित आकाशभैरव र असनमा गणेश मन्दिरलगायत विभिन्न मठमन्दिर छन् । इन्द्रजात्रामा कुमारी, गणेश र भैरवको रथ यी दुई वटा चोकमा अनिवार्य रूपमा घुमाउनुपर्ने चलन छ । 

धार्मिक शक्तिका कारण असन–इन्द्रचोकको व्यापार कहिलै पनि सुस्ताउन पाउँदैन भन्ने विश्वास छ । एकै छानामुनि सबै सामान पाइने भएकाले अन्यत्र बजार विस्तार हुँदा पनि असन चोकका ग्राहक घटेका छैनन् ।

२००७ सालमा प्रजातन्त्र स्थापना गर्न वा राजनीति परिवर्तनका लागि असन–इन्द्रचोक महत्वपूर्ण स्थान बनेको थियो । यी दुई वटा चोकबाट सुरु भएको आन्दोलनका कारण १०४ वर्ष लामो राणा शासन ढलेको इतिहास छ ।  यी दुई चोकको अर्को विशेषता झनै आकर्षक छ । इन्द्रचोक र असन चोक छ छ वटा बाटोको चोक भएकाले पनि चहलपहल बाक्लो हुने गर्छ । 

त्यस्तै क्षेत्रपाटी चोक, काष्ठमण्डप चोक पनि छ वटा सडक जोडिएका चोक हुन् तर यहाँ असन–इन्द्रचोकको जस्तो ठेलमठेल हुँदैन । यी चोक छेउछाउ नाङ्लो पसल थाप्नेले पनि आरामदायी जीवन निर्वाह गरेका छन् । 

काठमाडौँ महानगरपालिका प्रमुख बालेन साहले फुटपाथको व्यापार हटाएसँगै नाङ्लो पसल नभेटिए पनि बिहान ८ बजेअघि सडक किनारामा सामान बिक्री गरेर गुजारा गर्ने प्रशस्तै भेटिन्छन् । 

इतिहासकालदेखि नै असन चोकवरिपरि सामान राखेर बेच्ने चलन रहेको ७५ वर्षीय व्यापारी राजकाजी तुलाधार बताउँछन् । इन्द्रचोकमा पनि महिलाका लागि चुरापोते, फुर्का, धोती, राडी सडकमै राखेर बिक्री गर्ने चलन थियो । अचेल फुटपाथ वा नाङ्लो पसल भनिए पनि त्यो बेला बिहानदेखि रातिसम्म यस्ता पसल सञ्चालनमा थिए । 

–देवबहादुर कुँवर