आयरल्यान्डकी मार्गोरी म्याकलको एक जीवनमा दुई पटक अन्त्येष्टि गरिएको थियो । इस्वी संवत्को १७ औँ शताब्दीमा आयरल्यान्डको लर्गन शहरमा जन्मिएकी म्याकल सन् १६९५ मा नराम्रोसँग बिरामी परिन् । उपचारकै क्रममा उनको मृत्यु भयो । त्यतिबेलाको परम्परा अनुसार दाहसंस्कारका लागि उनको शरीरको शृङ्गार गरियो । गरगहनाले शवलाई सजाइयो । त्यसपछि साङ्किल चिहानमा लगेर उनको शव गाडियो । एक राति केही चिहानचोरले उनको चिहान खने । गरगहना चोर्नका लागि उनीहरूले कफिन बाहिर निकाले । त्यसैबेला अचानक म्याकलले आँखा खोलिन् र चिच्याइन् । यतिले चोरलाई पुगिहाल्यो, डरले उनीहरूको भागाभाग भयो । कफिनबाट निस्केर म्याकल घरतिर लागिन् । म्याकल घर आएको देखेर उनका पति तर्सेर ठाउँको ठाउँ बेहोस भए । विस्तारै म्याकलले नवजीवन पाएको विश्वास गर्न थालियो र आफ्नो गाउँटोलमा उनको नयाँ जीवन सुरु भयो । उनले एक अर्को बच्चा जन्माइन् र धेरै वर्ष बाँचिन् ।
–युवामञ्च