• ८ वैशाख २०८२, सोमबार

विज्ञान तथा प्रविधि समृद्धिका मुख्य चालक

blog

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजनामा भएको विज्ञान, प्रविधि र नवप्रवर्तनमा हालका प्रवृत्तिसम्बन्धी सम्मेलनका सहभागीसँग ।

कास्की समाचारदाता

कास्की, चैत ७ गते । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विज्ञान, प्रविधि र नवप्रवर्तन मुलुकको प्रगति र समृद्धिका मुख्य चालक रहेको बताउनुभएको छ । 

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना तथा गण्डकी प्रदेश विज्ञान र प्रविधि एकेडेमीको सहकार्यमा पोखरामा सुरु भएको विज्ञान, प्रविधि र नवप्रवर्तनमा हालका प्रवृत्तिसम्बन्धी सम्मेलन (आरटिएसटिआई २०२५) मा प्रदेश प्रमुख भट्टले गण्डकी प्रदेश र नेपालभर विज्ञान र नवप्रवर्तनको प्रगतिका लागि यस्ता सम्मेलन उपयोगी रहेको बताउनुभएको हो । गण्डकी प्रदेशले दिगो, ज्ञानमूलक अर्थतन्त्रको परिकल्पना गरेकोमा यस्ता संस्थाले अनुसन्धान, शिक्षा र नीतिको सिफारिसमा अग्रणी भूमिका खेल्ने बताउँदै भट्टले पोखरा विश्वविद्यालयले कुशल अनुसन्धानकर्ता र प्राविधिक तयार पार्दै नेपालको सामाजिक, आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो । “सन् २०२२ मा सुरु भएदेखि नै आरटिएसटिआईले वैज्ञानिक, अनुसन्धानकर्ता, शिक्षक, नीति निर्माता र उद्यमीलाई एक ठाउँ गरी नेपालमा विज्ञान, प्रविधि र नवप्रवर्तनको आकार दिन महत्वपूर्ण भूमिका खेलेको छ,” उहाँले भन्नुभयो, “सम्मेलनका पूर्वसंस्करणको प्रभावकारिताले यसको बढ्दो महìवलाई देखाउँछ । यस वर्ष पोखरा विश्वविद्यालयको नेतृत्वमा विकास र अनुसन्धान उत्कृष्टता प्रवर्धन गर्न चालिएको यो कदम पनि लाभदायक हुने विश्वास व्यक्त गर्छु ।”

गण्डकी प्रदेश विज्ञान र प्रविधि एकेडेमीले सन् २०२० मा स्थापना भएदेखि नै वैज्ञानिक अनुसन्धान, प्रविधिगत प्रगति र नवप्रवर्तनलाई प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ । “हामी प्रविधिगत परिवर्तन र विश्वव्यापी चुनौतीको माझमा उभिएका छौँ,” उहाँले भन्नुभयो, “चुनौतीको सामना गर्दै अघि बढ्न समयानुकूल अनुसन्धान, नवप्रवर्तन र नीतिगत हस्तक्षेपका साथ अगाडि लैजानुपर्ने हुन्छ ।” यस्तो सम्मेलन वैज्ञानिक प्रगति छलफल गर्ने मञ्च मात्र होइन, बरु एसटिआई अनुकूल शासन, उद्योग सहकार्य र उद्यमशीलतालाई समर्थन गर्ने नीतिलाई आकार दिने अवसर पनि रहेको भट्टले बताउनुभयो । तीनदिने सम्मेलनमा नेपाल र अन्य देशबाट दुई सयभन्दा बढी अनुसन्धानकर्ता, विशेषज्ञ र विद्यार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ ।