अर्जुन काफ्ले
स्याङ्जा, चैत ७ गते । पुतलीबजार नगरपालिका–१०, राङखोला हुँदै बिरुवा गाउँपालिका जोड्ने सडक कालोपत्रेको तयारी गरिएको छ । राङखोलादेखि धौवादी सडकखण्डमा ६.२ किमी प्रिमिक्स कालोपत्रे तयारी गरिएको हो । यो सडक कालोपत्रे भएसँगै बिरुवा गाउँपालिकाको सदरमुकाममा कालोपत्रे सडक पुग्ने छ ।
कम्पनीले २०८० भदौ १२ गते काम सम्पन्न गर्ने गरेर २०८२ साउन २८ गते निर्माण सम्झौता गरेको थियो । १९ करोड ९३ लाख ५३ हजार १०४ रुपियाँमा गणेशकुन्द इन्द्रयणी रक्तकन्या जेभी, काठमाडौँले ठेक्का सम्झौता गरी स्तरोन्नतिसहित कालोपत्रेको तयारी गरेको हो ।
यो सडकखण्ड कालोपत्रे गर्नका लागि तीन हजार ८९१ घनमिटर मेसिनरी, दुई हजार ९६९.७५ घमी प्लम्ब, तीन हजार १८० घमी ग्याबिन, सबबेस, बेसको काम सकेसँगै कालोपत्रे गर्न लागिएको निर्माण कम्पनीका ज्ञानराज घिमिरेले बताउनुभयो । आधारभूत काम सकिएसँगै १७ दिनलाई बाटो बन्द गरेर सडक कालोपत्रे गर्ने तयारी गरेको घिमिरेले बताउनुभयो । मौसमले साथ दिएको खण्डमा निर्धारित समयको पाँच महिनाअगावै काम सक्ने तयारी गरेको उहाँको भनाइ थियो । यस सडकखण्डमा कालोपत्रेको काम सुरु गरेसँगै आवागमन रोकिने भएकाले ठेकेदार कम्पनीको अनुरोधमा जिल्ला समन्वय समिति, प्रशासन कार्यालय, प्रहरी कार्यालय, यातायात व्यवसायी, पत्रकार एवं सरोकारवालाको उपस्थितिमा आवागमन रोकिने र वैकल्पिक सडकबाट यात्रा गर्न सुझाइएको थियो ।
कालोपत्रे गर्ने क्रममा बाधा पुग्ने भएकाले यही चैत ७ देखि ३० गतेसम्म सवारी आवागमनमा भने रोक लगाइएको छ । अति आवश्यक पर्ने एम्बुलेन्स, दमकललगायतका सवारीलाई भने नरोकिने जनाइएको छ । बिरुवा गाउँपालिका सदरमुकाम जान यो सडक कालोपत्रेसँगै सबै १७ किमी बाटो कालोपत्रे हुने छ ।