• १६ चैत २०८१, शनिबार

तस्कर पर्दाफासको चुनौती

blog

विश्वमै अवैध धन्दाको फैलावट रोक्न अनेक प्रयास गरिए पनि पूर्णतया रोक्न सकिएको छैन । अनेक प्रयासले पनि अवैध कर्तुत विस्तारित छन् । कानुनले निषेध गरिएको कार्य अवैध हो । अवैध कामले अपराध जन्माउँछ, बढाउँछ र हुर्काउँछ पनि । अपराधसँग जोडिएको अवैध धनले राज्यका निकायलाई अनेक चुनौती दिन सक्छ । अपराध र अवैध धनले समाजमा शान्ति खलबल्याउँछ । कानुनको परिधिभित्र रही व्यापार व्यवसाय गर्ने जोकोहीलाई पनि गैरकानुनी कार्य र कारोबारले हैरान पार्छ । राज्यले गैरकानुनी कारोबार नियन्त्रण गर्न नसक्ने हो भने त्यसले राज्यका अवयवलाई तहसनहस पार्न बेर लगाउँदैन । त्यसैले राज्यको पहिलो दायित्व गैरकानुनी कार्यलाई निर्मम नियन्त्रण गर्नु हो । सरकारले अनेक प्रयास गर्दागर्दै पनि नेपालमा आश्चर्यचकित हुने खालका तस्करीका अनेक घटना बेलाबखत देखिने गरेका छन् । यस्तैमा चैत ४ गते राति उत्तरी छिमेकी चीनको सीमावर्ती क्षेत्रमा लैजान लागिएको २५ करोड रुपियाँभन्दा बढी बराबरको विदेशी मुद्रा बरामद भएको छ । नेपाल प्रहरीको टोलीले राजधानीको टोखाबाट एउटा ट्रक नियन्त्रणमा लियो । ट्रकभित्र फल्स बटम बनाई रकम लुकाइएको रहेछ । २५ करोड १९ लाख २४ हजार ९५० रुपियाँ बराबरको विदेशी मुद्रा पाइयो । सो रकम तस्करी प्रयोजनकै निम्ति उत्तरी चीनका सीमानाका लैजान प्रयास गरिएको हुन सक्ने अनुमान छ । सिन्धुपाल्चोकका ३९ वर्षीय कुसाङ लामा सवारीचालक रहेछन् । उनलाई प्रहरीले पक्राउ गरेको छ । 


नेपालमा बेलाबखत तस्करीको घटना बाहिर आउने गरेको यो पहिलो होइन तर सामान्य मालबाहक सवारीमा यति ठुलो रकम राखेर नपत्याउने गरी तस्करी गर्न यत्न गरिएको यो नौलो खालको घटना हो । यसले के देखाउँछ भने मालबाहक सवारीचालक केवल भरिया मात्र हुन् । खास गिरोहसम्म पुगेर पर्दाफास गर्नु पर्छ । यो प्रहरी प्रशासनका निम्ति ठुलो चुनौती हो । यति ठुलो रकम गैरकानुनी तवरले उत्तरी छिमेकमा सुन किनेर दक्षिणी छिमेकी मुलुक बेच्नु नै रहेको अनुमान छ । यसले नेपालको सडक मार्गमा सुन तस्करीको ठुलो गिरोह क्रियाशील छ । यति ठुलो विदेशी मुद्रा कहाँबाट र के कसरी हात पार्न सकियो भन्ने गम्भीर अनुसन्धानको विषय भएको छ । सर्वसाधारण नागरिकलाई विदेश जान सीमित विदेशी मुद्रा सटही गर्न पनि अनेक वैधानिक विधि अलवम्बन गर्नु पर्छ । विदेशी मुद्राको कारोबार सजिलो कार्य होइन र हुनु पनि हुँदैन । वैधानिक बाटोभन्दा पर गएर विदेशी मुद्राको यस्तो कारोबारले ठुलो अपराध जन्माउँछ । तस्करी गिरोहले यति ठुलो रकम के कसरी हात पार्न सक्यो ? यसले हाम्रो औपचारिक कारोबारमा के कस्तो असर पार्दै छ ? अनुसन्धान वाञ्छनीय छ । राज्यको राजस्व लक्ष्य अनुसार उठ्न सकेको छैन । के यस्तै गैरकानुनी कार्यले औपचारिक अर्थतन्त्रलाई चुनौती दिइरहेको त छैन ? प्रहरी प्रशासन र राजस्व अनुसन्धान विभागलगायतका सम्बद्ध निकायले गम्भीर गृहकार्य गर्नुपर्ने देखिएको छ । 


संयोगले यो घटना नेपाल प्रहरीको एउटा नेतृत्व गई नयाँ नेतृत्वले कार्यभार समाल्दा भएको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा नियुक्ति भएकै दिन यो ठुलो तस्करी घटना समाउन सकिएको हो । अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यको भनाइ गम्भीर छ । उहाँका अनुसार ठुलो परिमाणमा विदेशी मुद्रा अवैध रूपमा ओसारपसार भइरहेको गोप्य सूचना पछ्याउने क्रममा सोमबार राति ११ बजे काठमाडौँको झोर क्षेत्रबाट मालबाहक सवारी भेटिएको हो । ट्रकको बनावटभित्र अदृश्य खाली डिब्बा बनाएर विदेशी मुद्रा राखिनु असाध्य व्यवस्थित तस्करीको कार्य हो । ट्रकचालकलाई सो विदेशी मुद्रा तस्करी गरी नेपालबाट चीनको केरुङतर्फ लैजाने क्रममा नियन्त्रणमा लिइयो । यति ठुलो रकम सुन किन्नकै निम्ति प्रयोग हुन सक्ने देखिन्छ । सुन तस्करको जरोसम्म पुग्न अब सम्बद्ध निकाय लाग्नै पर्छ । विदेशी मुद्रासहित पक्राउ परेका सवारीचालक लामा पटके रहेछन् । उनी २०७३ पुस १३ गते राजस्व छलीमै काराबास सजाय पाइसकेको व्यक्ति रहेछन् । सात केजी सुनसहित पक्राउ परी पाँच वर्ष कैद भुक्तान गरेर रिहा भएपछि फेरि यस्तै काममा लागेको प्रहरीको आरोप छ । भरिया तथा चालक पक्राउ गरेर मात्र यो घटना अन्त्य हुनु हुँदैन । सही गिरोह बाहिर ल्याउनै पर्छ ।