• २६ चैत २०८१, मङ्गलबार

कृषि पेशामा जीवन लगाउनुभएका कृषक मोतिलाल

blog

कृषि पेशामा जम्नुभएका कृषक मोतीलाल सापकोटा । तस्बिरः नवराज नेपाली

नवराज नेपाली 

गलकोट (बागलुङ), चैत ६ गते । बागलुङ नगरपालिका –३ बोक्सेको गैराका ७६ बर्षीय मोतीलाल सापकोटाको दैनिकी कृषि कर्ममा बित्दछ । बिहान ४ बजे उठ्यो, नित्य कर्म, तरकारीको डोको बोक्यो बागलुङ बजार ल्यायो र बेच्यो । उहाँको यो दैनिकी झैण्डै ४० बर्षदेखि अनवरत छ। 

सापकोटा भन्नुहुन्छ, “‘मैले तरकारी उत्पादन गरेर बिक्री गर्न थालेको ४० बर्ष भइसक्यो, यसमा लागेपछि अर्को पेशा फेर्नु परेको छैन ।’ उहाँले व्यावसायिक रुपमा तरकारी उत्पादन थाल्दा बागलुङ बजारमा पोखरा, चितवन लगायतका ठाउँबाट तरकारी आउँथ्यो । ‘मैले व्यावसायिक रुपमा तरकारी उत्पादन गर्दा बागलुङका तरकारी उत्पादन गरेर बेच्ने गरिएको थिएन, त्यतिबेला चितवनतिरबाट तरकारी ल्याइन्थ्यो’ उहाँले भन्नुभयो, ‘व्यावसायिक रुपमा तरकारी उत्पादन गर्नेमा म अगुवा किसान हुँ ।’

७६ बर्षको उमेरमा पनि उहाँमा जोश, जाँगर र कर्मप्रतिको विश्वास अगाध छ । कृषि कर्मबाट नै आफ्नो पहिचान र परिचय बनाउनुभएका उहाँ आफूलाई कृषकको रुपमा परिचित बनाउन पाउँदा गौरवान्वित ठान्नुहुन्छ । ‘मलाई बाँचुञ्जेल कृषि गर्ने इच्छा छ, मैले काम गर्न सक्न छाडेँ भने पनि मान्छे राखेर कृषि गर्छु ’ उहाँले भन्नुभयो, ‘यो मेरो रुचि र आनन्दको पेशा हो,  कृषि कर्म गर्दा कुनै पनि तनाब नहुने र आनन्दले निन्द्रा पर्छ ।’ 

यही कर्मबाट उहाँ राष्ट्रपतिद्वारा विभूषित हुनुका साथै विभिन्न संघ संस्थाबाट पुरस्कृत हुनुभएको छ । विस २००५ मा जन्मिएका सापकोटा यो अवस्थासम्म आइपुग्न भने थुप्रै पटक हण्डर खानुभयो । घरको आर्थिक अवस्था बिग्रिएपछि भारतको विभिन्न ठाउँमा पुगि भारी बोकेर आर्थिक जोहो गर्नुभएको थियो । झण्डै २ बर्षको भारत बसाईलाई बिटमार्दै उहाँ आफ्नो जन्मथलो फर्किएर कृषि कर्म गर्न थाल्नुभयो । सुरुवाति समयमा केही चुनौतीको सामना गरे पनि उहाँले यो पेशालाई कहिल्यै छोड्नुभएन । 

‘भारतबाट फर्केपछि म निरन्तर यही पेशामा छु, यो पेशामा लागेपछि फर्केर हेर्नु परेको छैन, आर्थिक अवस्था सुधार भएको छ’ उहाँले भन्नुभयो, ‘यही कमाइबाट छोराछोरी पढाउनेदेखि विवाह ब्रतबन्ध र घरखर्च गर्न र केही जग्गा किन्न सहयोग भएको छ ।’

उहाँले साढे ६ रोपनी जग्गामा तरकारी खेति गर्दैआउनुभएको छ । आफूले उत्पादन गरेको तरकारी आफैले डोकोमा बोकेर बिक्री गर्नुहुन्छ । यसबाट राम्रो कमाई गरेको उहाँको भनाई छ ।

केही बर्ष अघिसम्म कृषिमा सघाउँदै आआउनुभएकी सापकोटाका पत्नी जलादेवी सापकोटाले पछिल्लो समय स्वास्थ्यमा आएको सस्याका कारण खासै सघाउन नसकेको बताउनुभयो । ‘टाउकोमा समस्या भएपछि मैले साथ दिन सकेकी छैन’ जलादेवी सापकोटाले भन्नुभयो, ‘श्रीमान विहानै उठेर आफ्नो काम गर्नुहुन्छ ।’

बुहारी जमुना सापकोटाले ससुरा मोतिलालको कामबाट आफुहरु प्रभावित भएको बताउनुभयो । सापकोटाले आफ्नै मेहनतबाट कृषि उद्यमीको परिचय बनाउनुभएको छ । यो परिचय पाउन उहाँले गरेको मेहनत, लगनशीलता र आफ्नै माटोको मेहनतबाट कृषि उद्यमीको परिचय बनाएका छन् । यो परिचय पाउन उहाँले गरेको मेहनत, लगनशीलता र आफ्नै माटोप्रति आगाध विश्वास छ ।