नवीनराज कुइँकेल
लमजुङ, फागुन ६ गते । राष्ट्रकवि माधवप्रसाद घिमिरे र भूगोलविद् डा. हर्क गुरुङको नाममा विद्यालयको नामकरण गर्न मर्स्याङ्दी गाउँपालिकाले सिफारिस गरेको छ ।
चैत ३ गते बसेको कार्यपालिका बैठकले गाउँपालिकामा जन्मनुभएका राष्ट्रका दुई मूर्धन्य व्यक्तित्वको नाममा विद्यालयको नामकरण गर्न सम्बन्धित निकायमा सिफारिस गरेको हो । राष्ट्रकविको जन्मथलो बाहुन डाँडामा रहेको चन्द्रोदय माध्यमिक विद्यालय र भूगोलविद् डा. हर्क गुरुङको जन्मथलो तराइँचेस्थित महेन्द्रदेव माध्यमिक विद्यालयको नाम परिवर्तनका लागि नेपाल सरकार, शिक्षा मन्त्रालय र गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलगायतका सम्बन्धित निकायहरूमा सिफारिस गरिएको छ ।
बाहुनडाँको चन्द्रोदय माविको नाम परिवर्तन गरी राष्ट्रकवि माधवप्रसाद घिमिरे मावि र तराञ्चेस्थित महेन्द्रदेव माविको नाम परिवर्तन गरी भूगोलविद् डा. हर्क गुरुङ मावि राख्न सिफारिस गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिनुभयो । राष्ट्रकवि घिमिरे र भूगोलविद् डा गुरुङले राष्ट्रका निम्ति पुर्याउनुभएको अतुलनीय योगदानको सम्मानार्थ विद्यालयको नाम परिवर्तन गरी उहाँहरूको नाम राख्ने निर्णय गरिएको गुरुङले बताउनुभयो ।
स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने राष्ट्रकवि घिमिरेको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको बाहुन डाँडामा भएको हो । उहाँलाई २०६० साल असोज ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले छन्द शिरोमणिको उपाधिबाट अभिनन्दन गरि त्यसको तीन दिनपछि राष्ट्रकविको रूपमा अभिनन्दन गरिएको थियो । राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा २०७७ साल भदौ २ गते काठमाडौैं लाजिम्पाट स्थित आफ्नै घरमा निधन भएको थियो । उहाँको जन्मस्थान बाहुन डाँडामा माधव घिमिरे पार्क निर्माण भइरहेको स्थानीय विष्णु घिमिरेले जानकारी दिनुभयो ।
भूगोलविद् र नेपालका पूर्व राज्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. हर्क गुरुङको लमजुङको तत्कालीन बाहुन डाँडा गाविस वडा नं. २, नाइँचेस्थित मामाघरमा विसं १९९५ साल पुस २१ गते जन्म भएको थियो ।
विश्व वन्यजन्तु कोषले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर काठमाडौँ फर्कने क्रममा २०६३ साल असोज ७ गते शनिवार ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना हुँदा डा गुरुङसहित २४ जनाको मृत्यु भएको थियो । उहाँको समाधिस्थल मर्स्याङ्दी–७ ताङ्लीचोकमा उद्यान निर्माण गरिएको डा. हर्क गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष एवं वडाध्यक्ष तिलबहादुर गुरुङले जानकारी दिनुभयो ।