• ५ चैत २०८१, मङ्गलबार

पीएन क्याम्पस पोखरामा मतपत्रमा त्रुटि भेटिएपछि रोकिएको मतदान भोलि हुने

blog

सन्तोष सुवेदी

कास्की, चैत ५ गते । पोखराको पृथ्वीनारायण क्याम्पसमा आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतपत्रमा त्रुटि देखिएपछि मतदान स्थागित भएको छ ।

निर्धारित समयमा मतदान सुरु गर्न लागेका बेला मतपत्रमा त्रुटि देखिएपछि चुनाव स्थगित भएको हो । मतपत्रमा अखिल छैठौंलाई मतदान गर्ने कोष्ठक छपाई नभएको पाइएपछि चुनाव रोकिएको थियो। छपाई गरिएको नमुना कपिमा सबै संगठनको मतपत्र सही देखिएपनि पछि छपाई गरेर ल्याइएको मतपत्रमा कोष्ठक नभएको पाइएको थियो ।

निर्वाचन समितिले भोली बुधबार बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुने जनाइएको छ । निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोख्रेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "पृथ्वीनारायण क्याम्पस, पोखरा मतदान केन्द्रमा स्ववियुको निर्वाचन आज मिति २०८१-१२-५ गते विहान ८ बजे मतदान सुरु गर्ने प्रक्रियामा प्रत्यक्ष तर्फको मतपत्रको दोस्रो कोलममा रहेको अखिल (छैठौं) को अध्यक्ष पदको उम्मेदवारको नामको पछाडि रेजा लगाउने बक्स छुट हुन गएकोमा स्ववियु निर्वाचन समिति गम्भिर रुपले आत्मआलोचित भएको छ । 

सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवारको प्रतिनिधिहरुको रायबमोजिम उक्त मतपत्र रद्ध गरी पुनः मतपत्र छपाई गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान कार्य सुरु गर्न नसकिएको हुँदा उक्त मतदान कार्य मिति २०८१ साल चैत्र ६ गते बुधबारका दिन विहान ८:०० बजेदेखि सुरु हुने जानकारी गराइन्छ । साथै मतदान गर्ने कार्यमा सहयोग गरिदिनुहुन सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवारहरु एवं विद्यार्थी मतदाताहरुलाई हार्दिक अनुरोध गर्दछौं ।"