अर्जुन कार्की
बागलुङ, चैत ५ गते । बागलुङको एक मात्रै आंगिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा ७१ दशमलव ७४ प्रतिशत मत खसेको छ ।
निर्वाचन समितिले १ हजार ५९ जना विद्यार्थीले मतदान गरेको जनाएको हो । क्याम्पसमा १ हजार ४ सय ७६ मतदाता रहेका थिए । मतगणना आज बेलुकाबाट गरिने निर्वाचन अधिकृत गोविन्द गौतमले जानकारी दिनुभयो ।
धवलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) नेतृत्वका लागि पहिलो पटक दुई महिला उम्मेदवार मैदानमा उत्रिएका छन् । स्ववियु निर्वाचनमा अध्यक्ष पदको लागि अखिल संयुक्त प्यानलबाट अनेरास्ववियुकी आश्मिन शेख र नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघबाट सृष्टि आचार्यले उम्मेदवारी दिनुभएको हो । कांग्रेसले नेविसंघको एकल प्यानल बनाएको हो भने एमाले, माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एस र राप्रपाको संयुक्त प्यानल बनेको हो ।
अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेविसंघका नेता दिपक सुवेदीले गतशुक्रबार उम्मेदवारी फिर्ता लिएको र नेविसंघकी उम्मेदवार आचार्यलाई समर्थन गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको थियो । सुवेदीले उम्मेदवारी फिर्ता लिएपछि क्याम्पसमा पहिलो पटक छात्रा अर्थात् महिला स्ववियु सभापति पाउने अवस्था पनि बनेको छ ।
नेविसंघले हालकी कोषाध्यक्ष सृष्टी आचार्यलाई उमेदवार बनाएको होभने अखिल संयुक्तबाट हालकी सदस्य तथा अनेरास्ववियु जिल्ला सचिवालय सदस्य आश्मिन शेखलाई उमेदवार बनाएको छ । दुवैजना स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी हुन् ।