राममणि दाहाल
हेटौँडा, चैत ५ गते । मकवानपुरको पालुङ बुहमुखी क्याम्पसमा आज मंगलबारका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने जिम्मेवारी पाएको निर्वाचन समितिले मंगलबार राजिनामा दिएसँगै स्ववियु निर्वाचन अनिश्चित बनेको हो ।
स्ववियु निर्वाचन समितिले सम्पूर्ण तयारी गरेर मतदानमा सहभागी हुन आव्हान गरेकोमा निर्वाचन समितिले क्याम्पसमा असहज अवस्था उत्पन्न भएको भन्दै राजिनामा दिएको छ ।
निर्वाचन समितिका संयोजक कुमार नेगी तथा सदस्यद्वय हरिकृष्ण कार्की र मीना महर्जनले क्याम्पस प्रमुखसमक्ष दिनुभएको राजिनामा स्ववियु निर्वाचन अन्तर्गत सम्पूर्ण प्रक्रिया अगाडि क्रममा बिहान ८ः०० बजेबाट मतदान प्रारम्भ गर्ने गरी सबै गरिएको जनाइएको छ । साथै सबै तयारी भइसकेको अवस्थामा क्याम्पसमा उत्पन्न असहज परिस्थितिका कारण निर्वाचन गराउन असमर्थ भएकोले राजिनामा दिएका छौं, राजिनामा पत्रमा भनिएको छ ।
स्ववियुमा गठबन्धन गरेको नेविसंघ र अनेरास्ववियुले यसअघि सोमबार एक पक्षीय रुपमा निर्वाचन गरेमा बहिष्कारको चेतावनी दिएका थिए । यस्तै मंगलबार नै मतदाता नामावलीमा नाम थप गरेको र केही विद्यार्थीलाई छात्रवृत्तिको आश्वासन दिएर उम्मेदवार बनाएको भन्दै आपत्ति जनाउँदै आएको नेविसंघले आफ्ना माग संवोधन नगरी निर्वाचन गर्न लागेको भन्दै क्याम्पस मंगलबार तालाबन्दी गरेको थियो । तालाबन्दीपछि समस्या समाधान गर्न सर्वपक्षीय बैठक बसेपनि ठोस निर्णयमा पुग्न सकेन ।
तालाबन्दीका कारण निर्वाचन सुरु हुन नसकेको हो । निर्वाचन सुरु हुन नसकेपछि क्याम्पसमा तनावको अवस्था सिर्जना भएको छ । अखिल क्रान्तिकारीसहितको समुहले स्ववियु निर्वाचन हुनुपर्ने माग गरेका छन् । प्रहरी सुरक्षासहित बन्द गरिएको क्याम्पसको प्रवेशद्धार धकेलाधकेल केही विद्यार्थी गरेर क्याम्पसभित्र प्रवेश गरेका थिए ।
जिल्लाका चार अन्य वटा क्याम्पसमा आज मङ्गलबार स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ । त्रिभुवन विश्वविद्यालयका जिल्लामा रहेका आंगिक र सम्बन्धन प्राप्त गरी सात वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने तयभएकोमा दुई वटा क्याम्पसमा यसअघि नै स्ववियु नेतृत्व सर्वसम्मत् चयन भइसकेको छ ।
मकवानपुर बहमुखी क्याम्पस, हेटौँडा क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसमा मतदान भइरहेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले चार वटा क्याम्पसमा शान्ति सुरक्षाको व्यवस्था मिलाइएको र मतदान भईरहेको जानकारी दिनुभयो ।
अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, अखिल समाजवादी विप्लब लगायतका विद्यार्थी संगठनहरु चुनावी प्रतिस्पर्धामा रहेका छन् ।क्याम्पसमा विद्यार्थी संगठनहरुले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।