सन्तोष सुवेदी
कास्की, चैत ५ गते । पोखरा महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्नको लागि ‘कोसेली घर’ निर्माण सुरु गरेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तर्गत कोसेली घरको शिलान्यास गरिएको हो ।
हरित अर्थतन्त्रमा योगदान पु¥याउने आरयू उद्यमहरूलाई बढवा दिन दिगो नीतिको सुनिश्चिततासहित महानगरपालिकाले परियोजनाको स्वामित्वमा लिनेछ । ३० अगस्ट २०२३ मा नगर प्रमुख आचार्य र कोइकाका उपप्रमुख युन यंग ली बिच सम्झौता भएको थियो ।
परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर लगानी गर्नेछन् । एक वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्नेगरी कोसेली घर निर्माणको ठेक्का इन्टरनेश्नल इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनी अनामनगर काठमाण्डौले पाएको छ ।
परियोजनाले नकुहिने फोहोर प्रशोधनसहित फोहोरबाट नयाँ चिजहरू उत्पादन गर्नेछ । यसलाई सिकाई केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ ।
हरित रोजगारी सृजनासँगै चक्रीय अर्थतन्त्रको निर्माणमा यसले महत्वपूर्ण योगदान गर्ने पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताउनुभयो । फोहोरमैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेका बेला यसलाई मोहोरमा बदल्ने गरी महानगर क्षेत्रका १३६ वटा समुहहरू मार्फत पुनः प्रयोगमा आउने सामग्रीहरू निर्माण गरी आर्थिक रूपमा सामुदायिक सशक्तीकरण समेत हुने उहाँको विश्वास छ ।
"विभिन्न चरणमा हामीले पोखरा महानगरपालिकाका १३६ वटा सामुदायिक समुहहरू निर्माण गरी आवश्यक तालिम तथा प्राविधिक दक्षता अभिवृद्धिको कार्यक्रम गरिसकेका छौँ । यसले सामुदायिक स्तरमा रोजगारी सृजना र चक्रीय आर्थिक प्रणालीमा जोडिने अवसर समेत प्रदान गर्नेछ," उहाँले भन्नुभयो ।
विदेश पलायन भइरहेको युवा शक्ति र गृहिणी महिलाहरूका लागि समेत हरित रोजगारी सृजना महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो । परियोजनाको पहिलो चरणमा ३ हजार बढी प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना हुने उहाँले बताउनुभयो ।
कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङले पोखरा महानगरपालिका र कोइकाबिचको सहकार्य तथा समझदारीलाई बलियो बनाउँदै यस परियोजनाले नयाँ उचाइ प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
नेपालको पर्यटन राजधानी पोखरामा रिसाईकल र अपसाइकल मार्फत हरित रोजगारी सिर्जनाको नमुनाका रूपमा विकास गर्न यो परियोजना कोषेढुंगा साबित हुने कोङ्ले उल्लेख गर्नुभयो । ग्रिन जब क्रियसन संसारमा निकै प्रभावकारी परियोजनाका रूपमा अगाडी आएको उहाँले बताउनुभयो ।
संयुक्त राष्ट्रिय विकास कार्यक्रम (युएनडिपी) का एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले हरित अर्थतन्त्रमा योगदान पुर्याउन दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमहरूलाई बढवा दिन यो परियोजना प्रभावकारी हुने बताउनुभयो । उहाँका अनुसार यसले आरयू उद्यमहरूको क्षमता निर्माण गरी हरित रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ ।
परियोजना मार्फत ग्रिन भेन्चर जोन (जीभीजेड) स्थापना गरी नयाँ तथा आरयू उद्यमहरूलाई व्यवसाय इन्क्युबेशन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गरिने उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले स्वच्छ पोखरा, हरित पोखरा निर्माणसँगै हरित रोजगारी सृजनामा समेत यो परियोजनाले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पर्यटन राजधानी पोखराका लागि परियोजना रोजगारी सृजनाको नयाँ प्रयोगका रूपमा प्रभावकारी हुने बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले यो परियोजना पोखराका लागि रोजगारी सिर्जना, सिकाई प्रवद्र्धन र उत्पादनका हिसाबले महत्वपूर्ण हुने बताउनुभयो ।