• ५ चैत २०८१, मङ्गलबार

‘घुमन्ते गज’ उपचारको पर्खाइमा

blog

घुमन्ते गज । तस्बिर सौजन्य: शङ्कर लुइँटेल

विष्णुप्रसाद पोखरेल

दमक, चैत ५ गते । झापाको एक सामुदायिक वनमा एक घाइते भाले हात्ती उपचारको परखाईमा रहेको छ । मेचीनगर नगरपालिकाको वडा नंं ४ स्थित बौबन सामुदायिक बनमा ८ दिनदेखि एउटा घाइते हात्ती उपचारको पर्खाइमा रहेको हात्तीको विषयमा खोजकर्ता शङ्कर लुइँटेलले बताउनु भएको छ ।

हात्तीको आनीबानी र पहिचानमा तीन दशक देखि सक्रिय रहनु भएका लुइँटेलका अनुसार ‘घुमन्ते गज’ नामको हात्तीको पछाडिपटिको भागमा चोट रहेको छ । लुइँटेलका अनुसार यो रैथाने हात्ती हो । एक फुट भन्दा धेरै पुच्छर पनि छैन । हात्तीले राम्रोसँग खुट्टा टेक्न नसकेर खुट्टा घिसार्दैै हिँडेको उहाँले भिडियो खिच्नु भएको छ ।

दारा नभएको यो हात्तीलाई दारे हात्तीले आक्रमण गरेर घाइते बनाएको हुनसक्ने उहाँले जनाउनु भएको छ । जङ्गलमा दुई हात्तीबिच लडाई हुँदा दारे हात्तीले पछाडिको भागमा दाराले घोचेकोजस्तो चोट प्रस्ट देखिन्छ, उहाँले भन्नुभयो । त्यही दारे हात्तीले पुच्छर टोकेर चुटाइदिएको हुनसक्छ, उहाँको भनाई छ ।

आफूले डिभिजन वन कार्यालय सहित सबै सरोकारवाला निकायहरूमा हात्तीको उपचारका लागि आग्रह गरेको लुइँटेलले बताउनु भयो । भिडियो र फोटो पठाएर नै घाइते हात्तीको उपचार गर्न माग गरेको छु, उहाँले भन्नुभयो । घाइते हात्तीले उपचार पाउनुपर्छ, उहाँको माग रहेको छ ।