• ४ चैत २०८१, सोमबार

कर्णाली नदीमा खसेर एक जना बेपत्ता

blog

मान्म (कालीकोट), चैत ४ गते । ड्रमको डुङ्गा चढेर कर्णाली नदी तर्ने क्रममा एक जना बेपत्ता हुनुभएको छ । कालीकोटको कर्णाली काेरिडोरअन्तर्गत पलाता-९ मा पर्ने घाटपारी चौर नदी क्षेत्रमा डुङ्गाबाट खसेर मुगु रारा छायानाथ नगरपालिका-१० का २३ वर्षीय देवनाथ सेजुवाल आज बेपत्ता हुनुभएको हो । 

कर्णाली काेरिडोरमा १० महिनादेखि ज्याला मजदुरी गर्दै आउनुभएका सेजुवाल आज कर्णाली नदी पारीबाट डिजेल राख्ने ड्रम जोडेर बनाइएको डुङ्गा चढेर काम गर्ने ठाउँमा आउने क्रममा नदीमा खसेको कालीकोटका निमित्त प्रहरी प्रमुख किशोर केसीले जानकारी दिनुभयो । “तीन वटा ड्रम जोडेर बनाइएको डुङ्गा चढेर नदी पार गर्ने डुङ्गा ढल्किए छ । त्यसमा रहेका चार जनामध्ये देवनाथ नदीमा खसेछन्”, उहाँले भन्नुभयो ।  

स्थानीय र प्रहरीले बेपत्ताको खोजी गरिरहेको छ । कालीकोटको पलाता-९ मा पर्ने घाटपारी चौरदेखि बाजुराको लैफूसम्म ११ किमी चट्टान विस्फोटनसहित नेपाली सेनाले कर्णाली काेरिडोर निर्माण गरिरहेको छ । रासस