• ४ चैत २०८१, सोमबार

स्टिल र आल्मुनियमको कर घटाउने मनसाय छैनः ट्रम्प

blog

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

वासिङ्टन, चैत ४ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको कर घटाउने आफ्नो कुनै मनसाय नरहेको बताउनुभएको छ । गत जनवरीमा ट्रम्पले विभिन्न व्यापारिक साझेदारबाट आपुर्ति हुने स्टिल र आल्मुनियमलगायतका सामानमा कर लगाउने घोषणा गर्नुभएको थियो । 

उहाँको यो घोषणाले वित्तीय बजारमा त्रासको वातावरण सिर्जना भएको छ । यो योजनाले विश्वको सबैभन्दा ठुलो अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्न सक्ने आशङ्कालाई बढावा दिएको छ । स्टिल र आल्मुनियमको कर घटाउने मनसाय छ कि भनी सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो, “होइन, मेरो त्यस्तो कुनै मनसाय छैन ।”

यसको साटो उहाँले वासिङ्टनले अनुचित ठानेको व्यापार अभ्यासलाई सुधार गर्न अप्रिल २ सम्ममा पारस्परिक कर लगाउने प्रतिज्ञालाई दोब्बर बनाउनुभयो । यसले थप उत्पादन र व्यापारिक साझेदारहरूलाई विशेष रूपमा लक्षित गर्न सक्ने सम्भावनालाई अझ बढाएको छ । उहाँले भन्नुभयो, “अप्रिल २ हाम्रो देशका लागि मुक्तिको दिन हो । हाम्रो देशमा अर्बौं डलर आइसकेको छ र अप्रिल २ देखि ठुलो रकम आउँदैछ ।” रासस/एएफपी