• ४ चैत २०८१, सोमबार

स्ववियुको गरिमा र औचित्य

blog

‘शैक्षिक स्थल बाहुबलको प्रयोग गर्ने थलो होइन, यो त विचार र सिद्धान्तको द्वन्द्वात्मक भूमि हो ।’         –बिपी कोइराला

शैक्षिक संस्थामा राजनीतिका नाममा हुने गरेको विकृतिलाई लक्षित गर्दै प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले भनेका कुरा आजको दिनमा पनि उत्तिकै सान्दर्भिक छन् । कोइरालाले भने जस्तै शैक्षिक संस्था भनेका विचार र सिद्धान्तको बारेमा बहस र छलफल गर्ने ठाउँ हो, बाहुबलको प्रयोग गर्ने थलो होइन । यसो भनेर उनले शैक्षिक संस्थामा पढाइको महत्व कति हुन्छ भनेर दर्शाउन खोजेका हुन् । पछिल्लो समय यस्ता शैक्षिक संस्थामा विद्यार्थीले पढाइभन्दा राजनीतिलाई ज्यादा महत्व दिन थालेका छन् । त्यसैको परिणाम विश्वविद्यालयको शैक्षिक गुणस्तरमा दिनप्रतिदिन ह्रास आएको छ । त्यसो त विद्यार्थी हकहितका लागि भनेर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को समेत गठन गरिएको छ । स्ववियुको ध्यान पढाइभन्दा ज्यादा राजनीति केन्द्रित हुन पुगेको छ । 

स्ववियुको आवश्यकता र औचित्य बुझ्नका लागि पुरानो राजनीतिक घटनाक्रम स्मरण गर्नु सान्दर्भिक हुन्छ । २०१५ सालको पहिलो आमनिर्वाचनपछि गठन गरिएको बिपी कोइरालाको दुई तिहाइ बहुमतको सरकारलाई २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि मुलुकमा अधिनायकवादी शासन व्यवस्था सुरु भएको थियो । जतिबेला निरङ्कुश राजाको अधिनायकवादी शासनमा दलहरूमाथि प्रतिबन्ध लगाइएको थियो । राजनीतिक स्वतन्त्रता नहुँदा राजाको आलोचना गर्न र व्यवस्थाका विरुद्ध बोल्न र टिकाटिप्पणी गर्न पाउने अवस्था थिएन । यति हुँदाहुँदै पनि क्याम्पसमा विद्यार्थीको चुनाव हुने गथ्र्यो । त्यसलाई आजको जस्तो स्ववियु चुनाव नभनी विद्यार्थी युनियनको चुनाव भनिन्थ्यो । २०१७ सालको घटनापछि दलमाथि प्रतिबन्ध लगाइएको थियो । त्यसपछि ठुलो आन्दोलन पनि भयो । आन्दोलनपश्चात् विद्यार्थी आवाजलाई सशक्त बनाउन २०१८ सालमा विद्यार्थीको साझा संस्थाका रूपमा स्ववियु स्थापना भएको हो । दलहरूमाथि प्रतिबन्ध लगाएका बेला पञ्चायती सरकारविरुद्ध सशक्त आवाज उठाउने काम स्ववियुले नै गरेको थियो । यसरी हेर्दा मुलुकमा विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनमा स्ववियुको भूमिका उल्लेखनीय रहेको पाइन्छ । २०३६ सालको जनमत सङ्ग्रहका बेला होस्, या २०४६ सालको जनआन्दोलनका बेला होस्, या त २०६२/६३ को दोस्रो जनआन्दोलनमा नै किन नहोस् विद्यार्थीको भूमिका प्रशंसनीय रहेको पाइन्छ । 

यस्तो भूमिकाका कारण कतिपयले स्ववियुलाई केवल राजनीतिक सङ्गठनका रूपमा मात्र बुझ्ने गरेका छन् । यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने विद्यार्थी सङ्गठनको पहिलो काम विद्यार्थीको वर्गीय हक र हित नै हो । विद्यार्थीको वर्गीय हित भनेको उनीहरूले निर्बाध पढ्न पाउनु हो । अर्थात् पढ्नका लागि वातावरण बनाउने हो । त्यस कारण स्ववियुको ध्यान विद्यार्थीको पढाइमा केन्द्रित हुनै पर्छ, राजनीतिमा होइन । पढाइको पहिलो कामसँगै राजनीतिमा रुचि भएका विद्यार्थीले अरू कुरा पनि गर्दै जान सक्छन् । जब देशमा अधिनायकवादी शक्तिले टाउको उठाउँछ, त्यतिबेला स्वतन्त्रता, मानव अधिकार, राजनीतिक अधिकार जस्ता संविधान प्रदत्त मौलिक केही पनि बाँकी रहँदैन । यो भनेको सार्वभौम जनताको हक र अधिकारमाथिको ठाडो प्रहार हो । त्यस्तोबेलामा स्ववियुको भूमिका विद्यार्थीको वर्गीय हक र हितमा मात्र सीमित रहँदैन, रहनु हुँदैन । किनभने जनताको अधिकारमाथि खतरा आएका बेला स्ववियु त्यसप्रति बेवास्ता गरेर बस्न सक्दैन, बस्न मिल्दैन पनि । त्यस्तो बेलामा नागरिक अधिकार पुनस्र्थापनाका लागि विद्यार्थीले आफ्नो मोर्चा समाल्नै पर्छ । त्यो भनेको आन्दोलन नै हो । यद्यपि विद्यार्थीका लागि यो दोस्रो प्राथमिकता भए तापनि सङ्कटका बेला त्यसलाई पहिलो प्राथमिकता दिएर आफ्नो भूमिका प्रस्ट पार्नु पर्छ । हुन त कतिपयले यसलाई विद्यार्थीको पढ्न पाउने अधिकारमाथि राजनीतिक हस्तक्षेप भयो भनेर बेलाबेलामा गुनासो पनि गर्ने गरेका छन् । यस्तो गुनासोका बाबजुद विद्यार्थीका लागि दोस्रो प्राथमिकता यति धेरै महत्वपूर्ण छ कि पढाइमा क्षति हुन्छ भने पनि उनीहरू सिङ्गो मुलुकको बृहत्तर हितका पक्षमा उभिनै पर्छ । त्यस कारण यसलाई राजनीतिक हस्तक्षेप भयो भन्ने रूपमा कसैले पनि हेर्नु हुँदैन । 

हो, पढाइ पूरा गरेपछि सबै विद्यार्थी राजनीतिमा लाग्दैनन् । उनीहरू आफ्नो रुचि अनुसार विभिन्न पेसा र व्यवसायमा आबद्ध हुन्छन् । जुनसुकै पेसा वा व्यवसायमा आबद्ध भए तापनि हरेक व्यक्तिले प्रजातन्त्र र जनअधिकारको आवश्यकता एवं महत्वबारे थाहा पाउनु पर्छ । राजनीतिक दर्शनबारे जानकारी राख्नु पर्छ । किनभने यसबाट मात्रै व्यक्तिमा वैचारिक प्रस्टता आउँछ । वैचारिक प्रस्टता भए मात्र मुलुकमा स्थापना गरिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सबल बनाउँदै यसको सफल कार्यान्वयनतिर अघि बढ्नका लागि सहज हुन्छ ।

पछिल्लो समय क्याम्पसमा स्ववियुले आफ्नो रचनात्मक भूमिका निर्वाह गर्न नसक्दा विद्यार्थीका शैक्षिक मुद्दा ओझेलमा परेका छन् । भविष्यका नेता भनेकै आजका विद्यार्थी हुन् । त्यस अर्थमा स्ववियु भनेको विद्यार्थीको पढाइका साथै नेतृत्व क्षमता विकास गर्ने एउटा गतिलो पाठशाला पनि हो । आजको दिनमा हरेक दलका उपल्लो तहमा पुगेका नेताको राजनीतिक पृष्ठभूमि विद्यार्थी आन्दोलनसँगै जोडिएको पाइन्छ । कतिपय नेता क्याम्पसमा स्ववियुको नेतृत्व गरेर आज त्यो ठाउँमा पुग्न सफल भएका हुन् । 

त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन पाएका क्याम्पसमा भोलि ५ चैतका लागि विश्वविद्यालयले स्ववियु निर्वाचनको कार्यतालिका तय गरेको छ । स्ववियु निर्वाचनमा हरेक क्याम्पसमा धेरै समूह र सङ्गठन चुनावी मैदानमा उत्रिएका छन् । कतिपय क्याम्पसमा स्ववियुका पदाधिकारी तथा सदस्य निर्विरोध भइसकेका छन् भने अधिकांश क्याम्पसमा भोलि निर्वाचन हुँदै छ । केही क्याम्पसमा विवादका कारण निर्वाचन कार्यतालिकामा सामान्य हेरफेर गरिएको छ । खास गरी राजधानी र राजधानी बाहिरका विद्यार्थी सङ्ख्या धेरै भएका क्याम्पसमा विद्यार्थी सङ्गठनबिचको द्वन्द्वका कारण कतिपय क्याम्पसमा निर्वाचन स्थगित गरिएको छ । विद्यार्थी सङ्गठनबिच झडप तथा निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका समाचार सार्वजनिक भइरहेका छन् । जसका कारण क्याम्पसमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइएको छ । यति मात्र होइन, कतिपय क्याम्पसमा एउटै विद्यार्थी सङ्गठनबिच उम्मेदवारी चयनका विषयलाई लिएर असहज परिस्थिति उत्पन्न भएको छ । विराटनगर बहुमुखी क्याम्पसमा २८ फागुनमा नेविसङ्घको आन्तरिक विवादका कारण तोडफोड र आगजनी भएको छ । २३ फागुनमा त्रिवि रेक्टर कार्यालय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिन कार्यालमा त्यसै गरी विद्यार्थीले तोडफोड गरे । यसअघि सङ्गठन दर्ताका दिन १९ फागुनमा भैरहवा बहुमुखी क्याम्पसमा विद्यार्थीले तोडफोड गर्दै तालाबन्दी गरे । 

जसले गर्दा क्याम्पस प्रशासनले प्रहरीको सहयोगमा निर्वाचन कार्यक्रम अघि बढाइरहेको छ । यहाँनेर बिपीको भनाइ पुनः स्मरण गर्नुपर्ने हुन्छ । उनको भनाइमा कलेज भनेका त विचार र सिद्धान्तको द्वन्द्वात्मक भूमि हो तर विद्यार्थी सङ्गठन र तिनका माउ पार्टीले क्याम्पसलाई आआफ्नो स्वार्थपूर्तिको साधनका रूपमा प्रयोग गरिरहेको कुरा स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा हालैका दिनमा भएका घटनाबाट पनि प्रस्ट हुन्छ । राजनीतिक दलका नेताले स्ववियु निर्वाचनलाई मिनी ’जनमत सङ्ग्रह’ का रूपमा पनि लिने गरेका छन् । किनभने यस निर्वाचनमा राजनीतिक दलले आआफ्ना भ्रातृ सङ्गठनमार्फत शक्ति परीक्षण गर्ने गर्छन् ।

स्ववियु निर्वाचनका क्रममा भएका झडपका घटनाले विद्यार्थीको अनुशासनहीन चरित्रलाई उजागर गरेको छ । आपसी झडप मात्र होइन, निर्वाचनमा खटिएका गुरुलाई कालोमोसो दल्ने र खुट्टा भाँच्नेसम्मको धम्कीका घटनाले भोलिका दिनमा उनीहरूबाट सिङ्गो मुलुकले कस्तो राजनीतिक नेतृत्वको अपेक्षा गर्ने ? अर्थात् यो स्ववियु निर्वाचनले भविष्यको राजनीतिको एउटा चित्र कोर्ने छ । त्यस कारण निर्वाचनलाई मर्यादित बनाउने र भोलिको राजनीतिलाई आशावादी बनाउने दायित्व अहिले निर्वाचनको मैदानमा उत्रिएका विद्यार्थीकै हो । हुन त निर्वाचन सफल बनाएर मात्र स्ववियुको औचित्य पुष्टि हुन सक्दैन । स्ववियु निर्वाचनको औचित्यता त्यतिबेला पुष्टि हुन्छ, जतिबेला विद्यार्थी हकहितका लागि उसले जिम्मेवारीका साथ काम गर्न सक्छन् ।