• ४ चैत २०८१, सोमबार

सगरमाथा संवाद : विश्वव्यापी पथप्रदर्शक रहने

blog

सगरमाथा संवादको बारेमा जानकारी दिन आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्याललगायत अन्य पदाधिकारी । तस्बिर : सुजन गुरुङ

गोरखापत्र समाचारदाता 

काठमाडौँ, चैत ४ गते । नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करण हिमाल संरक्षण गर्दै नेपाललाई जलवायुजन्य पीडाबाट मुक्त गराउन विश्वव्यापी पथप्रदर्शक रहने सरकार तथा सरोकारवाला निकायले प्रस्ट पारेको छ । आगामी जेठ २ देखि ४ गतेसम्म चल्ने सगरमाथा संवादको पहिलो संस्करणका बारेमा हालसम्म भएका प्रगति आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सरकारका उच्च अधिकारी, सगरमाथा संवाद सचिवालयका उच्च अधिकारी तथा विज्ञले समस्याको समाधानमुखी बाटो यस संवादले पहिल्याउने प्रस्ट पार्नुभएको हो । 

नेपाल सरकारले विश्वमा नेपालको पहिचान र प्रवर्धनको उद्देश्यसहित सुरु गर्न थालेको सगरमाथा संवादको पहिलो संस्करण नेपालको हिमाल संरक्षणमा केन्द्रित रहने छ । जस अनुसार जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्य शीर्षक तय गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद सरकारको प्रतिष्ठा र प्राथमिकताका विषय भएकाले उच्च तदारुकता देखाउन शनिबार सचिवालयलाई निर्देशन दिनुभएको थियो । त्यसको भोलिपल्ट आइतबार आयोजकका तर्फबाट प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा हालसम्मको प्रगति विवरण सार्वजनिक गरिएको हो । 

पत्रकार सम्मेलनमा संवादलाई भव्य तथा सभ्य बनाउन सरकारका मुख्य सचिव एकनारायण अर्यालले सबै सरोकारवाला निकायको सहयोग र सद्भावका लागि अनुरोध गर्नुभयो । प्रधानमन्त्री ओलीले सगरमाथा संवादलाई सबैको साझा थलोका रूपमा विकास गर्दै दीर्घकालीन विकाससँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिँदै यस संस्करणका आवश्यक प्रक्रियामा तदारुकता देखाउन निर्देशन दिनुभएको थियो । उहाँले भन्नुभयो, “हामीले बर्सौंदेखि भोग्दै आएको जलवायुजन्य पीडाको उन्मुक्तिको पथप्रदर्शक सगरमाथा संवाद हो, त्यसैले यसमा हाम्रो भावनासँगै विगत, वर्तमान र भविष्य जोडिएको छ ।”

सरकारका तर्फबाट विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउँदै आएकोमा आफ्नो हिमालको मुद्दामा आफ्नै नेतृत्वमा वैश्विक पहल गर्न सगरमाथा संवादलाई मञ्चका रूपमा अघि सारिएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “जलवायु परिवर्तनले निम्त्याएको जुन हानिनोक्सानी छ, त्यसको भर्पाई पाउनु हाम्रो अधिकार हो, त्यही अधिकार स्थापित गर्न खोजेका छौँ ।”

यो मञ्चले हानिनोक्सानीको भर्पाई नेपालले पाउनु पर्छ भन्ने दाबीलाई बलियो बनाउनुका साथै हिमाल र समुद्रबिचको जलवायु परिवर्तनको तरल सम्बन्धलाई विश्वमाझ अझ प्रस्ट पार्न गहकिलो कदम हुने मुख्य सचिव अर्यालसहित सरोकारवाला विज्ञले औँल्याउनुभयो । साथै उहाँका अनुसार संवादको निष्कर्षलाई नेपालको नीति तथा कार्यक्रममार्फत प्रभावकारी कार्यान्वयनका लागि समावेश गर्ने लक्ष्य छ ।

३५० जनाभन्दा बढीलाई निम्तो 

सगरमाथा संवादका क्रममा हुने जलवायु परिवर्तनका विविध पक्षमा बहस र पैरवीमा सहभागी हुन विश्वका ३५० भन्दा बढी मुलुकका उच्च नेतृत्वलाई निम्ता गरिएको छ । पत्रकार सम्मेलनमा सो विषयमा जानकारी दिँदै परराष्ट्रसचिव अमृतबहादुर राईले मित्रराष्ट्रका सरकार प्रमुख, विदेशमन्त्री, वन तथा वातावरणमन्त्रीलगायत सम्बन्धित निकायका उच्च नेतृत्व, जलवायु, मौसम तथा वातावरण वैज्ञानिक, संयुक्त राष्ट्रसङ्घका सरोकारवाला निकायका उच्च अधिकारीसहित ३५० जनाभन्दा बढीलाई निमन्त्रणा गरिएको बताउनुभयो । राईले भन्नुभयो, “हालसम्म सहभागिताका लागि केहीको प्रतिबद्धतायुक्त जवाफ आइसकेको छ भने केहीको आउने क्रममा छ ।” निम्ता पठाएकामध्ये कम्तीमा १७५ मुलुकबाट सहभागिता रहने अपेक्षा रहेको उहाँले प्रस्ट पार्नुभयो ।

संवादका सत्रहरू तय सगरमाथा संवाद सचिवालय संयोजक डा. महेश्वर ढकालले सगरमाथा संवादको उद्घाटनसहित दुई दिनसम्म चल्ने विविध १२ वटा सत्रका शीर्षक तथा उपशीर्षक तय भएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिन उद्घाटनसहित उच्चस्तरीय सत्रको आयोजना हुने छ । जसमा नेपालसहित सहभागी विश्वका विशिष्ट विदेश उच्च नेतृत्वले आफ्ना धारणामार्फत नेपालको पहलमा बल दिनुहुने छ । 

सोही दिन अन्य विभिन्न छुट्टाछुट्टै सत्रका रूपमा समानान्तर सत्र सञ्चालन हुने छन् । जसमा अर्जेन्सी अफ १.५ डिग्री एम्बिसन फर ग्लेसियर प्रिजर्भेसन, कनेक्टिङ हाइल्यान्ड टु आइल्यान्डस्, फुड सेक्युरिटी एन्ड क्लाइमेट रेजिलिएन्ट एग्रिकल्चर र कम्युनिटी लेड क्लाइमेट मिटिगेसन इन माउन्टेन्स रहने छन् । त्यस्तै सोही दिन पाओरिङ द फ्युचर–हार्नेसिङ क्लिन इनर्जी, एक्सप्लोरिङ नेचर, कल्चर एन्ड एड्भेन्चर इन द माउन्टेन्स र इकोसिस्टम सर्भिसेज–रिकोग्नाइज, रेस्पेक्ट एन्ड रिवार्ड शीर्षकका सत्र सञ्चालन हुने छन् ।

दोस्रो दिन सस्टेनेबल सिटिज एन्ड कम्युनिटिज, ब्युल्डिङ एन इन्क्लुसिभ फ्युचर–जेन्डर एन्ड इन्टर जेनेरेसन इक्विटी, ब्रिजिङ साइन्स एन्ड टेक्नोलोजी फर माउन्टेन रेजिलिएन्स र सस्टेनिङ माउन्टेन इकोनोमी शीर्षकमा समानान्तर सत्रमा छलफल हुने छन् । सोही दिन अतिथिलाई सगरमाथा क्षेत्रको हवाई अवलोकन गराइने कार्यक्रम छ । अन्त्यमा काठमाडौँ घोषणापत्र जारी गर्दै सगरमाथा संवादको समापन कार्यक्रम हुने जानकारी ढकालले दिनुभयो ।