वसन्त पराजुली
नारायणगढ, चैत ३ गते। सरकारले भूमिहीन र सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ। भूमि समस्या समाधान आयोग जिल्ला समिति चितवनले आइतबार एक कार्यक्रम गरेर चितवनको रत्ननगर नगर पालिकाबाट भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गर्न लागेको हो। पहिलो दिन चितवनमै रत्ननगरसँगै भरतपुर महानगरपालिका भित्रका सुकुम्वासीलाई पनि जग्गाधनी पुर्जा उपलब्ध गाराइएको छ।
आयोगका जिल्ला समितिका अध्यक्ष ईमानसिंह लामाका अनुसार पहिलो चरणमा चितवनमा आइतबार भरतपुर महानगर र रत्ननगर नगर पालिकाकामा ३०२ परिवारलाई जग्गा धनी पुर्जा उपलब्ध गराइको हो। चितवनमा रत्ननगर नगरपालिका–१२ का १६१, भरतपुर महानगर(११ का १२८, भरतपुर–१५ का ९ र भरतपुर– २६ का ४ घर परिवारलाई पुर्जा वितरण गरिएको उहाँले बताउनुभयो।
चितवनमा अझै पनि दश हजार भन्दा बढी भूमिहीन तथा सुकुम्वासी रहेको तथ्याङ्क आयोगसँग छ।
रत्ननगर र भरतपुरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेर भूमिहिनलाई जग्गा धनी पुर्जा उपलब्ध गराइएको हो। रत्ननगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले तीन वर्ष भित्रमा १३ लाख भूमिहीनलाई जग्गा धनी बनाउने बताउनुभयो।
“भूमिहीनलाई भूमि उपलब्ध गराउने कुरा हाम्रो संविधानले नै सुनिश्चित गरेको सवाल हो। अहिलेको सरकार १३ लाख भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारीका साथ योजना बनाएरै अगाडि बढेको छ”, उहाँले भन्नुभयो।
कार्यक्रममा बोल्दै भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले नेपाल भर १० लाख ९७ हजार ६७० जना सुकुम्वासी तथा भूमिहीन रहेको जानकारी दिनुभयो।
आयोगका उपाध्यक्ष शरदकुमार कार्कीले लालपुर्जा रत्ननगरले विवाद रहित तरिकाले वितरण गरेकोमा धन्यवाद दिनुभयो। भरतपुर महानगरमा आयोजित कार्यक्रमको सभापति महानगर प्रमुख रेनु दाहाल हुनुहुन्थ्यो भने रत्ननगरमा आयोजित कार्यक्रमको सभापति रत्ननगरका प्रमुख प्रल्हाद सापकोटा हुनुहुन्थ्यो।