रमेश विश्वकर्मा
गुल्मी, चैत ३ गते । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले देशमा भएका हरेक परिवर्तन कांग्रेस पार्टीको नेतृत्वमा मात्र सम्भव भएको बताउनुभएको छ । देशका हरेक सकारात्मक परिवर्तनमा कांग्रेसको नेतृत्व भएको हुँदा अब आर्थिक समृद्धिको नेतृत्व पनि कांग्रेस पार्टीले गर्ने उहाँले बताउनुभएको हो ।
नेपाली कांग्रेस क्षेत्र नम्बर-१ गुल्मीको प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले कांग्रेसले सँधै देश र जनताको पक्षमा काम गर्दै आएको बताउनुभयो । विगतका परिवर्तनमा पार्टीले जसरी नेतृत्व निर्वाह गरेको थियो । त्यसै अनुसार आगामी दिनमा पनि देश हुने सकारात्मक परिवर्तनमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
"जनताका इच्छा, चाहना अनुसार पार्टीका गतिविधि सञ्चालन गर्न जरुरी छ," उहाँले भन्नुभयो, "कांग्रेस पार्टीलाई सशक्त रूपमा बलियो र एक ढिक्का बनाउन सबै नेता कार्यकर्ता एकताबद्ध भएर सङ्गठन गर्न सबै तहका नेता कार्यकर्ता लाग्न आवश्यक छ ।" पार्टीलाई मिलाएर लैजानु अहिलेको आवश्यकता रहेको उपप्रधानमन्त्री सिंहले बताउनुभयो ।
संविधानको विरुद्धमा कोहि पनि लाग्न नहुने भन्दै वर्तमान संविधान जनताको चाहना अनुसार जारी भएको बताउनुभयो । कांग्रेस पार्टीको नेतृत्वमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी भएको हुँदा संविधानको रक्षाका लागि सबै पक्ष जरुरी रहेको बताउनुभयो ।
संविधानको विधिवत रूपमा कार्यान्वयन गर्नुका साथै संविधानको भावना अनुरूप काम गर्न तिनै तहका सरकार लाग्नुपर्ने उहाँको भनाइ छ । संघीयता, लोकतन्त्र र समावेशीताको रक्षा र सफलपूर्वक कार्यान्वयन गर्न सबै लाग्नुपर्ने बताउनुभयो । पछिल्लो समय देशको व्यवस्थाको विरुद्धमा बोल्नेहरू देखिएको भन्दै उपप्रधानमन्त्री सिंहले देशका लागि यो व्यवस्था अति उत्तम व्यवस्था भएको बताउनुभयो ।
अहिलेको व्यवस्थाका कारण देशमा विगतको तुलनामा धेरै सकारात्मक परिवर्तनहरू भएको उहाँले बताउनुभयो । यो व्यवस्था देश र जनताको हितमा रहेको हुँदा यसको विकल्प अरू केही नभएको उहाँको भनाइ छ । देशमा राजनीति स्थिरता, स्थायीत्व र सुशासन कायम गर्न नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धन सरकार बनेको बताउनुभयो ।
पछिल्लो समय देशका विरुद्धमा नकारात्मक कुराहरू गर्ने हाबी भएको हुँदा त्यसलाई चिर्ने गरी गठबन्धन सरकार लागेको बताउनुभयो । गठबन्धन सरकारले जनताको इच्छा, चाहना अनुसार देशमा विकासका विभिन्न कामहरू गरेको उहाँको दाबी छ ।