• ३ चैत २०८१, आइतबार

होली खेल्ने क्रममा छुरा प्रहार, एक युवकको मृत्यु

blog

लक्ष्मी चौधरी

जनकपुरधाम, चैत ३ गते । जनकपुरधाममा होली खेल्ने क्रममा विवाद बढ्दा एक युवकको छुरा प्रहारबाट मृत्यु भएको छ ।

शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा होली खेल्ने क्रममा केही युवकहरू बिचको विवादमा २१ वर्षीय धर्मेन्द्र महताले १९ वर्षीय आँसु यादवमाथि छुरा प्रहार गर्दा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार साँझ होली खेल्ने क्रममा विवाद हुँदा लक्ष्मण महतोका छोरा धर्मेन्द्रले पप्पु यादवका छोरा आँसु यादवमाथि छुरा प्रहार गर्दा मृत्यु भएको हो । गम्भीर घाइते भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याइएपछि चिकित्सकले यादवलाई मृत घोषणा गरेको धनुषा प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा जनकपुरधाम–२३ निवासी २१ वर्षीय धर्मेन्द्र महतोलाई प्रहरीले पक्राउ समेत गरेको छ । प्रहरी कार्यालय धनुषाले मृतकको शव प्रादेशिक अस्पताल जनकपुरधाम मै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

मधेशका अधिकांश जिल्लामा शुक्रबार होली मनाइए पनि जनकपुरधाममा भने शनिबार मात्र होली मनाइएको थियो ।