• ८ वैशाख २०८२, सोमबार

जिम्मेवार पत्रकारिता गर्न आग्रह

blog

सुर्खेतमा आयोजित राजनीतिमा महिला सहभागिता विषयक कार्यक्रम । तस्बिर : ललित बसेल

सुर्खेत समाचारदाता 

सुर्खेत, चैत ३ गते । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले स्थानीय तहमा महिलाको राजनीतिक सहभागिता बढाउन मिडियाले पैरवी गर्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले मिडियाले कुनै विभेद नगरी आग्रह पूर्वाग्रहबिना जिम्मेवार पत्रकारिता गर्न आग्रह गर्दै पछिल्लो समय स्थानीय तहमा महिलाको राजनीतिक सहभागिता खुम्चिँदै गएकाले सहभागिता बढाउन मिडियाले झकझकाइरहन सुझाव दिनुभयो ।

वीरेन्द्रनगर नगरपालिका तथा सिडिडब्लुएनले आयोजना गरेको स्थानीय तहमा महिलाको राजनीतिक सहभागिता बढाउन जिल्लास्तरको मिडिया अभिमुखीकरणमा बोल्दै अध्यक्ष शर्माले विगतको तुलनामा राजनीतिमा महिला सहभागिता बढेकाले अब उनीहरूका कामको मूल्याङ्कन गर्ने बेला आएको बताउनुभयो । वडादेखि सङ्घसम्म महिला सहभागिता बढ्नु सकारात्मक पक्ष भएको उहाँको भनाइ छ । 

अध्यक्ष शर्माले मिडियाले महिलालगायत सीमान्तकृत समुदायको पक्षमा बहस पैरवीका साथै झकझकाउने काम गरिरहनुपर्नेमा जोड दिनुभयो । मिडियाले प्रश्न गर्न छोड्न नहुनेमा जोड दिँदै उहाँले प्रश्न गर्न छोड्नासाथ ती विषय ओझेलमा पर्ने उल्लेख गर्नुभयो । 

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले कानुनका साथै व्यवहारमा पनि महिला सहभागिता बढाउनुपर्ने बताउनुभयो । मिडियाले पनि राजनीतिक दललगायतलाई महिला सहभागिताको पक्षमा जनमत सिर्जना गरिदिनुपर्ने भन्दै उहाँले महिला सहभागितालाई अझै वृद्धि गराउनेतर्फ सबैले सक्रिय भूमिका खोल्नुपर्ने उल्लेख गर्नुभयो । 

द एसिया फाउन्डेसनका कार्यक्रम संयोजक विशाल आचार्यले राजनीतिमा महिलाको सहभागिता काम हुँदै गएकाले त्यसलाई बढाउन मिडियाले बहस पैरवी गर्न आवश्यक रहेको जनाउनुभयो । कार्यक्रमका सहभागीले राजनीतिक दलले गठबन्धनका नाममा महिला सहभागितालाई खुम्च्याएको, महिलाप्रति विश्वास कम गरेको जस्ता कुरा राखेका थिए ।