• २७ वैशाख २०८१, बिहिबार

हुम्लामा एक बोरा सिमेन्टको मूल्य ६ हजार ! खच्चडमा ढुवानीमा भए ६१ प्रतिशत सस्तो

blog

पैदल मार्गबाट खच्चडमा ढुुवानी गरेर सिमकोट ल्याउदै सिमेन्ट । तस्बिर: राजन रावत

राजन रावत
हुुम्ला, जेठ १९ गते । सडक सञ्जालसँग सदरमुुकाम नजोडिएको हिमाली जिल्ला हुम्लामा सिमेन्टको मूल्य ६१ प्रतिशत भन्दा बढीले सस्तो भएको छ । जिल्लाको दक्षिणी क्षेत्र सडक सञ्जालसँग जोडिनुु र छोटो दूरीबाट खच्चडमा सिमेन्ट ढुवानी गर्न थालेपछि मूल्य सस्तिएको हो । 

निर्माण व्यवसायी सरोज रावतले हवाई मार्गबाट ढुवानी भएर आउने सिमेन्ट भन्दा पैदल मार्गबाट गाडी र खच्चडमा ढुवानी भएर आउने सिमेन्टको मूल्य ६१ प्रतिशत सस्तो पर्ने बताउनुुभयो । उहाँले यसरी पैदल मार्गबाट जिल्लाको दक्षिणी क्षेत्रको सलीसल्ला हुँदै दुल्ली कुनासम्म गाडीमा आउने सिमेन्ट त्यसयता खच्चडमा ढुवानी गरेर ल्याएको सिमेन्टको मूल्य प्रति बोरा तीन हजार सात सय पर्ने गरेको बताउनुुभयो । जब कि नेपालगंजबाट हवाई मार्गबाट ढुवानी भएर आउने सिमेन्टको मूल्य प्रति बोरा छ हजार रुपियाँ पर्ने गर्छ । 

उहाँले मूल्य सस्तो पर्ने भएपछि अधिकांश निर्माण व्यवसायीले पैदल मार्गबाटै ढुवानी भएर आउने सिमेन्ट खरिद गर्ने गरेको बताउनुुभयो । यसअघि दुल्ली कुना र  लालीबगरमा सडक निर्माण कार्य भइरहेकोले बाटो नहुँदा खच्चडबाट ढुवानी हुन सकेको थिएन । अहिले खच्चड हिँड्ने वैकल्पिक बाटो निर्माण गरेर सिमेन्ट लगाएतका सामग्री ढुवानी सुरु गरिएकाे हाे । 

सिमेन्टको मूल्य सस्तिएसँगै विकास निर्माणका काम र व्यक्तिगत रुपमा गरिने विकासे कामको लागत पनि सस्तो भएको छ । निर्माण व्यवसायीले चार सय बोरासम्म पैदल मार्गबाट आएको सिमेन्ट खरिद गर्ने गरेका छन् । हाल दैनिक ८० भन्दा बढी खच्चडले सिमेन्ट ढुवानी कार्य गर्दै आएका छन् । यसबाट खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका विकास निर्माणका कार्य अगाडि बढ्ने बाटो खुलेको छ । 

Author

राजन रावत