• १३ असोज २०८१, आइतबार

महानगरको फोहोर सडकमा ‘डम्पिङ’

blog

विराटनगर, जेठ १९ गते । विराटनगरमा कुइनेटो, घुमाउँरो र खाली ठाउँमा फोहोरको डङ्गुर भेटिन्छ । सडकको फोहोर दैनिक उठाइन्छ तर त्यसको सोझै व्यवस्थापन गर्ने डम्पिङ साइट नहुँदा सहरका विभिन्न ठाउँलाई सङ्कलन केन्द्रजस्तो बनाइन्छ । 

विराटनगरका लागि यो नौलो समस्या हैन, समस्या मानिएको पनि छैन तर पछिल्लो समय विराटनगरको फोहोर सङ्कलन राष्ट्रिय राजमार्गमा गर्न थालिएको छ । विराटनगरको महेन्द्रचोकदेखि बिजुली अफिससम्मको सडकको केन्द्र भागको डिभाइडर क्षेत्रमा फोहोर थुपार्न थालिए पनि नियमन गर्ने निकाय विराटनगर महानगरपालिकाको ध्यान गएको छैन । 

राष्ट्रिय राजमार्गको मापदण्ड हुन्छ । त्यसमाथि विराटनगर महानगरपालिकाभित्रको सडकको अवस्था सुधार्नु वा सौन्दर्यीकरण गर्नु महानगरवासीको प्रतिष्ठासँग जोडिन्छ तर फोहोर व्यवस्थापनको फितलो र प्राथमिकताविहीन योजनाका कारण अब राजमार्ग क्षेत्रसमेत फोहोर थुपार्ने स्थान बनेको छ । 

महानगरपालिकाको वातावरण महाशाखा प्रमुख राजेन्द्र प्रधानलाई राजमार्गको केन्द्र भागमा फोहोर थुपार्न थालिएको छ, किन ध्यान पुगेन ? प्रश्न गर्दा उहाँले जवाफ दिनुपर्ने विषयनै ठान्नु भएन । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले त्यसरी फोहोर थुपारिएको विषयमा ध्यानाकर्षणभएको बताउनुभयो । उहाँले तत्काल ‘एक्सन’ लिने बताउनुभयो । 

रानी–धरान छ लाइन सडकको केन्द्र भागमा सिमेन्टका डिभाइडर राखिएको थियो । त्यसलाई हटाएर पुनः फूलबारी बनाउने उद्देश्यसहितको नयाँ डिभाइडर बनाइयो तर त्यहाँ फूल रोप्ने, स्याहार्ने, हराभरा बनाउने र सहरलाई सुन्दर बनाउने योजना त बनेको छैन, उल्टै फोहोर थुपार्दासमेत कसैको चासो देखिंँदैन ।

विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि तीन ‘आर्क’मा विभाजन गरेर तीनवटा कम्पनीलाई जिम्मेवारी दिइएको छ । समस्या समाधानभन्दा झन्झन् बढ्दो छ । उत्तरी, मध्य र दक्षिणी आर्क विभाजन गरेर फोहोर सङ्कलन र व्यवस्थापनको काम हुँदै आएको छ । 

गत मङ्सिर १ गतेदेखि लागूू हुने गरी महानगरपालिकाले मासिक भुक्तानी गर्नुपर्ने दायित्व चार लाख ३५ हजार एक रुपियाँमा कायम गरिएको छ । महानगरको उत्तरी क्षेत्रअन्तर्गत वडा नं. १, २, ३, ४, ५ र १९ को फोहोर सङ्कलन र व्यवस्थापनको जिम्मेवारीका लागि नेपाल फूूलबारी वेस्ट थ्री आर पोलुसन कन्ट्रोल सर्भिस प्रालिलाई मासिक ९० हजार भुक्तानी गर्ने गरिएको छ ।

त्यस्तै विराटनगरको मध्यभागअन्तर्गत वडा नम्बर ६, ७, ८, ९, १० र ११ को फोहोर सङ्कलन र व्यवस्थापनको जिम्मा स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल नामक संस्थाले लिएको छ । यसले महानगरपालिकासँग मासिक एक रुपियाँ मात्रै लिने गरी सम्झौता गरेको छ । पाँच वर्षको ठेक्काका लागि यो संस्थाले ६० रुपियाँ मात्रै बोलकबोल गरेको हो । यही कम्पनीको क्षेत्रभित्र पर्ने विराटनगर–९, शनिमन्दिर अगाडिको सडकको डिभाइडरमा अहिले फोहोर थुपार्न थालिएको छ । 

त्यसैगरी विराटनगरको दक्षिणी क्षेत्र वडा नं. १२, १३, १४, १५, १६, १७ र १८ आरएसडी सप्लायर्स सर्भिसेज प्रालीले फोहोर सङ्कलन र व्यवस्थापन गर्ने गरी सम्झौता गरेको छ । जसलाई महानगरपालिकाले मासिक तीन लाख रुपियाँ भुक्तानी गर्छ । 

घरमा उत्पादन भएको फोहोर सङ्कलन र व्यवस्थापनका लागि मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक मासिक दुई सय रुपियाँ सेवाग्राहीले बुझाउने गरी कम्पनीले जिम्मा लिएका छन् । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेका सफाइकर्मीलाई समेत निजी कम्पनीको जिम्मा लगाइएको छ । तिनै कम्पनीलाई महानगरपालिकाले १०–१० जना सफाइ मजदुरसमेत दिएको छ । तीनवटा कम्पनीले कामको जिम्मेवारी लिए पनि महानगरपालिकाभित्रको सडकका किनारामा थुप्रिएको फोहोर र नगरवासीको घरमा उत्पादन भएको फोहोरको व्यवस्थापन अझै हुन सकेको छैन ।


Author

नवराज कट्टेल