• ३ चैत २०८१, आइतबार

फागुनमा अठार अर्ब वैदेशिक लगानी प्रतिबद्धता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ३ गते । गएको फागुनमा ४० परियोजनामार्फत करिब १८ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आएको छ । 

उद्योग विभागको तथ्याङ्क अनुसार फागुनमा मात्र १७ अर्ब ७९ करोड ८६ लाख ४० हजार रुपियाँ लगानी प्रतिबद्धता आएको थियो । यो अहिलेसम्मकै उच्च लगानी प्रतिबद्धता हो । गत माघमा ३२ परियोजनामार्फत एक अर्ब ६५ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको थियो । विभागका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा (साउन–फागुन) सम्म ४२७ परियोजनामार्फत ४४ अर्ब ६६ करोड ३७ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । गत माघसम्म २६ अर्ब ८४ करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएकोमा फागुनमा मात्रै उच्च बढेको हो । माघ महिनाको तुलनामा फागुनमा धेरै लगानी प्रतिबद्धता आएको छ ।

विभागका अनुसार आठ महिनामा सबैभन्दा धेरै साना उद्योगमा ४१५, मझौला आठ र चार वटा ठुला उद्योगमा लगानी प्रतिबद्धता आएको छ । आठ महिनामा १९ परियोजनामार्फत अटोमेटिक रुट हुँदै १२ करोड ८६ लाख ४० हजार र रेगुलर रुटमार्फत १७ अर्ब ६७ करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।