• १३ साउन २०८१, आइतबार

एक सातासम्म खाद्य स्वच्छता दिवस मनाइँदै

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ १९ गते ।‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ यस वर्षको खाद्य स्वच्छता दिवस बुधबारदेखि सुरु भएको छ ।  सप्ताहव्यापी रूपमा सञ्चालन हुने यो कार्यक्रम जेठ २४ गतेसम्म खाद्य स्वच्छतासम्बन्धी कार्यक्रम गरी मनाउने योजना छ । 

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक डा. मतिना वैद्य जोशीले खाद्य स्वच्छता सप्ताहमा आमउपभोक्तालाई खाद्य स्वच्छतासम्बन्धी चेतनामूलक कार्यक्रम गरिने जानकारी दिनुभयो । 

उहाँले स्वस्थ तथा सबल जनशक्ति राष्ट्र निर्माणको महत्त्वपूर्ण आधार स्तम्भ भएकाले समग्र देश विकासका लागि समेत स्वच्छ र सन्तुलित खानपानलाई महìव दिनु यस सप्ताहको उद्देश्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिका विभाग र मातहतका कार्यालयबाट होटल, रेस्टुरेन्ट अनुगमन निरीक्षण एवं स्तरीकृत गरी लोगो वितरण गरिनेछ ।  

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को तथ्याङ्कअनुसार अस्वस्थकर खानेकुराका कारण विश्वभर प्रत्येक वर्ष करिब ५५ करोड मानिस बिरामी हुने गरेका छन् भने अस्वस्थकर खाना उपभोगले दुई लाख ३० हजारको मृत्यु हुने गरेको छ । डब्लुएचओको तथ्याङ्कअनुसार विश्वमा हरेक वर्ष अस्वच्छकर एवं दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्म गरी दुई सयभन्दा बढी रोग लाग्ने गरेको पाइएको छ ।