सलिम मियाँ
बिजुवार, चैत्र २ गते । विश्व उपभोक्ता दिवसको अवसरमा प्यूठानका १० उत्कृष्ट उद्यमी सम्मानित भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय, प्यूठानद्वारा आयोजित कार्यक्रममा उत्पादनमूलक, सेवामूलक, कृषि तथा वन पैदावर र पर्यटन उद्योगका संचालकलाई सम्मान गरिएको निमित्त प्रमुख मनिबहादुर गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तुल्सिराम शर्माले प्रत्येक उद्यमीलाई ७ हजार नगद र सम्मानपत्र प्रदान गर्नुभयो । सम्मानित हुनेहरूमा गोबिन्दबहादुर राउत (बजरंगी नमकिन भण्डार), प्रकाश केसी (न्यू गौमुखी पाउरोटी उद्योग), मेघराज श्रेष्ठ (राम चाउमिन एण्ड सस उद्योग), धनबहादुर रायमाझी (स्वर्गद्वारी एग ट्रे उद्योग), रहेका छन् ।
त्यस्तै, मनि रोकामगर (मनिबिष्णु बुटिक एण्ड ट्रेनिङ सेन्टर), विष्णु गिरी (राप्ती गण्डकी युनिफर्म उद्योग), बिन्जु श्रेष्ठ (पिंक ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर), नविन श्रेष्ठ (ईशान एग्रो अग्र्यानिक एण्ड पशुपन्छी फर्म), जुगमला सेरचन (थकाली अल्लो कपडा उद्योग), र इच्छा सुवेदी (न्यू अर्घाखाँची होटेल एण्ड लज) सम्मानित भएका छन् ।
बजारमा आयातित दालमोठको विकल्प प्रदान गर्दै बजरंगी दालमोठ तथा नमकिनले स्वदेशी उत्पादनलाई प्रवर्धन गर्दै निर्यातसमेत गरेको छ । दुर्गम गौमुखीमा ‘न्यु गौमुखी पाउरोटी उद्योग’ ले स्थानीय बजारमा पाउरोटी आपूर्ति गर्छ ।
त्यस्तै, श्रीराम चाउमिन एण्ड सस उद्योग (स्वर्गद्वारी नपा–४, भिंगृ) ले खाद्य तथा गुण नियन्त्रणबाट अनुज्ञापत्र प्राप्त गरी लेबलिङ र प्याकेजिङसहित उत्पादन वितरण गरिरहेको छ । उद्यमी संरक्षणका लागि सरकारी सहयोग आवश्यक रहेको सहभागीले बताएका छन् । घरेलु तथा साना उद्योग कार्यालय, प्यूठानले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।