• २ चैत २०८१, शनिबार

हातपात हुनबाट जोगाउन दुई राउन्ड हवाई फायर

blog

सांकेतिक तस्बिर

शिवशंकर मिश्रा

बारा, चैत २ गते। बारामा गएराति हातपात हुनबाट जोगाउन दुई राउन्ड हवाई फायर भएको छ।

जितपुरसिमरा उपमहानगरपालिका–७ बस्ने प्रशुराम गिरीले परिवारमाथि हातपात गर्न आएकाबाट जोगाउन लाइसेन्स प्राप्त बन्दुकबाट दुई राउन्ड हवाई फायर गरेको हो।

सोही ठाउँका वडाध्यक्ष सुनील गुप्ताको नेतृत्वमा आएका एक समूहले शुक्रबार राति करिब ९ः३० बजे एक्कासी घरमाथि ढुङ्गामुढा गर्न थालेको र परिवारको सदस्यलाई कुटपिट गर्न थालेपछि आफूले राखेको लाइसेन्सप्राप्त बन्दुक निकालेर दुई राउन्ड हवाई फायर गरेको गिरीले बताएका छन्।

यता प्रशुराम गिरीका नातिले जितपुर बजारमा कलवार समुदायलाई सामूहिक रूपमा गाली गरेको कुरा जानकारी प्राप्त भएपछि सोही कुरा राति सोधपुछ गर्न गएको वडाध्यक्ष सुनील गुप्ताले बताएका हुन्।

होली खेल्ने क्रममा शुक्रबार दिउँसो गिरीका नाति र कलवार समुदायका केही व्यक्तिमा सामान्य विवाद भएको स्थानीयले बताएका छन्।

दुबै पक्षलाई आवश्यक अनुसन्धानका लागि जिल्लामा बोलाइएको र यस विषयमा शनिबार बिहान आफैले घटनास्थलमा पुगेर जानकारी लिएको बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले बताउनुभएको छ।