• १३ जेठ २०८१, आइतबार

जनता रिझाउने प्रयत्नमा पालिका

blog

लुम्बिनी, जेठ १९ गते । लुम्बिनी प्रदेशका नवनिर्वाचित पालिका प्रतिनिधिहरूले धमाधम लोकप्रिय निर्णय गर्दै आएका छन् । आफ्नो पहिलो निर्णयलाई महत्त्व दिएका प्रमुखले पहिलो निर्णयमा जनतालाई प्रत्यक्ष राहत तथा सुविधा दिने निर्णय गरेका हुन् । 

विद्युत् महसुलमा छुट

प्युठान समाचारदाताका अनुसार जिल्लाका दुई स्थानीय तहमा चालू आर्थिक वर्षमा २० युनिटसम्मको विद्युत् महसुल छुट दिएका छन् । प्युठान नगरपालिका र माण्डवी गाउँपालिकाले २० युनिटसम्म विद्युत् प्रयोग गर्ने परिवारलाई महसुल छुट दिएका हुन् ।

नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि थप स्थानीय तहले समेत विद्युत् महसुलमा छुट दिने प्रस्ताव तथा निर्णय अघि बढाएका छन् । नौबहिनी गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष दिलबहादुर थापाले पालिकामा विद्युत् महसुल छुट गर्ने प्रस्ताव अघि बढाउनुभएको छ । २० युनिटसम्मको विद्युत् महसुल छुट गर्ने गरी प्रस्ताव अघि बढेको थापाले बताउनुभयो ।

त्यसैगरी गौमुखी गाउँपालिकाले सोही प्रकृतिको सुविधा पालिकामा दिने भएको छ । २० युनिटसम्मको विद्युत् महसुल निःशुल्क गर्ने प्रतिबद्धतासहित घोषणा गरेको पालिका उपाध्यक्ष महावीर रानाले बताउनुभयो ।

सरुमारानी गाउँपालिकाले पनि २० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको विद्युत् महसुल पालिकाले भुक्तानी गरिदिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्षमा पुनः निर्वाचित झगबहादुर विश्वकर्माले पदभार ग्रहण गरेसँगै गरेका चार निर्णयमध्ये एउटा निर्णय विद्युत् महसुल छुट गरिएको उल्लेख गर्नुभयो ।

स्वास्थ्य बीमामा आधा रकम 

तौलिहवा समाचारदाताका अनुसार कपिलवस्तु नगरपालिकाको पहिलो बैठकले नगरभित्रका सबै घरधुरीमा बसोबास गर्ने परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम लैजाने निर्णय गरिएको छ । 

बीमामा लाग्ने शुल्कको आधा रकम नगरपालिकाले बेहोर्ने निर्णय भएको नगरप्रमुख सुदिप पौडेलले बताउनुभयो । त्यसका लागि पहिलो चरणमा एक करोड रुपियाँ बजेट विनियोजन गर्ने गरी प्रस्ताव अघि बढाएको उहाँले बताउनुभयो । नगरपालिकाभित्र साढे १२ हजार घरधुरीलाई पुग्ने गरी बजेट विनियोजनको प्रक्रिया अघि बढाइएको छ । 

फुसको छानोमुक्त अभियानलाई सार्थकता दिन नगरपालिकको वडा नम्बर १०, ११ र १२ वडामा जस्तापाता वितरण गर्ने, आगामी पाँच वर्षभित्र नगरपालिकालाई हिलोमुक्त बनाउने अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । म्याद सकिएको विद्यालय व्यवस्थापन समिति असारभित्र गठन गर्ने र नगरे अनुदान रोक्का गर्ने, माविसम्म निःशुल्क शिक्षा भन्ने राष्ट्रिय नीतिअनुसार विद्यालयमा कुनै पनि शुल्क नउठाउने गरी व्यवस्थापन गर्ने, कक्षा ६, ७ र ८ का लागि तयार भएको स्थानीय पाठ्यक्रम स्वीकृत गरी यही आर्थिक वर्षदेखि सञ्चालन गर्ने निर्णय भएको छ । 

प्रसूति हुँदा निःशुल्क एम्बुलेन्स  

गुल्मी समाचारदाताका अनुसार जिल्लाको गुल्मी दरबार गाउँपालिकाले प्रसूति हुने महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । नवनिर्वाचित अध्यक्ष सरोजकुमार थापाले कार्यपालिकाको बैठकबाट गुल्मी दरबार गाउँपालिकाका स्वास्थ्य संस्थाबाट रिफर भएका प्रसूति महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गर्नुभयो । 

त्यस्तै बैठकबाट विपन्न नागरिकका लागि आर्थिक सहायता रकममा रकमान्तर गर्ने निर्णय भएको अध्यक्ष थापाले बताउनुभयो । विपत् व्यवस्थापनका सामग्री त्रिपाल, जस्तापातालगायत अन्य विभिन्न सामग्री खरिद गर्ने निर्णय भएको भन्दै उहाँले भन्नुभयो, “सडक मर्मतका लागि लेन्थ वर्कर राख्ने, आर्थिक सहायता रकम उपलब्ध गराउने, वडा नम्बर ३ को पीपलनेटाको सडक मर्मत सम्भार गर्ने र कृषि तथा पशु उद्यम परियोजनाको रकम भुक्तानीका बारेमा निर्णय गरिएको छ ।” 

कृषि एम्बुलेन्स सञ्चालन गरिने

मुसीकोट समाचारदाताका अनुसार रुकुम पूर्वको भुमे गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाले एउटा गाडी खरिद गरेको छ । उक्त गाडीलाई कृषि एम्बुलेन्सका लागि प्रयोग गर्ने गरी पहिलो गाउँ कार्यपालिका बैठकले निर्णयसमेत गरेको छ ।

कार्यपालिका बैठकले गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रमबमोजिम स्थानीय कृषिउपज सङ्कलन तथा बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्न खरिद गरिएको चारपाङ्ग्रे गाडीलाई स्थानीय उपज सङ्कलन तथा बजारीकरणका लागि प्रयोग गर्ने निर्णय गरेको हो । उक्त गाडी भुमे गाउँपालिका–२ को मारिङ बहुउद्देश्यीय सहकारी संस्थालाई हस्तान्तरण गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकामा उत्पादन हुने कृषिउपज अब उक्त कृषि एम्बुलेन्सले बजारसम्म पु-याउने छ ।

Author

कपिलवस्तु नगरपालिकाको पहिलो बैठक । तस्बिर ; नारद कोहार