• ३ चैत २०८१, आइतबार

ठेकेदारको बदमासीले अस्पताल निर्माण पाँच वर्षदेखि अलपत्र

blog

अलपत्र पारिएको वर्राचौरको निर्माणाधीन अस्पताल भवन।

प्रनिश गिरी

कुश्मा पर्वत, चैत २ गते । पर्वतको विहादी गाउँपालिकामा ठेकेदारको बदमासीले अस्पताल निर्माणको कार्य अलपत्र बनेको छ। विहादी गाउँपालिकाको वडा २ स्थित उपल्लो बर्राचौरमा निर्माणाधीन १५ शय्याको प्राथमिक अस्पताल भवन पाँच वर्षदेखि अलपत्र छ।

अस्पताल निर्माणको काम १७ महिनामा सम्पन्न भइसक्नु पर्ने भनी सम्झौता भएको थियो। ठेकेदारको बदमासीकै कारण पाँच वर्ष भन्दा बढी भइसक्दा समेत अस्पताल निर्माण सम्पन्न हुन नसकेको स्थानीयवासीको गुनासो छ। ठेकेदारले अस्पताल निर्माणको काम सम्झौता अनुसार समयमा सम्पन्न नगरी पटकपटक म्याद थप गर्दै आएको छ। अहिलेसम्म ठेकेदारले तीन पटक निर्माण सम्झौता म्याद थप गरिसकेको छ। 

घर नजिकैको उर्वरा जग्गा दिने जग्गादातामा स्थानीयवासी डोलेन्द्र गिरी, राम गिरी, कृष्ण गिरी, भूपेन्द्र पौडेल, भूमिश्वर पौडेल, अर्जुन भट्टराई लगायत छन्। साउदी सरकारको पुर्ननिर्माणको साउदी फन्ड अन्तर्गत ६ करोडको आर्थिक सहयोगमा बन्दै गरेको भवन निर्माणको काम भ्याली बाबुरत्न जेभी कम्पनीले लिएको हो। ठेकेदार कम्पनीले निर्माणको कामलाई बेवास्ता गरी वर्षौंदेखि अलपत्र पार्दै आएको छ।

सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराका इन्जिनियर सुवास बरालका अनुसार ठेकेदार कम्पनीले नियमानुसारको पाउनुपर्ने रकम लिइरहेको छ। ठेकदारले ल्याएको बिलको रकम भुक्तानी भएको छ। ठेकेदारले अहिलेसम्म एक करोड ६५ लाख भुक्तानी लिइसकेको छ। निर्माणाधीन १२ हजार वर्गफिटको अस्पताल भवनमध्येको एउटा ब्लकको केही वर्ष पहिले भए पनि बी ब्लकको  ढलन हुन बाँकी नै छ।

सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराका अनुसार भ्याली बाबुरत्न जेभी कम्पनीले स्याङ्जा आरुचौरमा आयुर्वेदिक अस्पताल र सेतीदोभानमा प्राथमिक अस्पतालको भवन निर्माणको सम्झौता समेत गरी करिब १९ करोडको प्याकेजमा निर्माण सम्झौता गरेको हो। स्थानीयवासीले सरोकारवाला पक्षको बेवास्ता र ठेकेदारको लापरबाहीका कारण निर्माणको काम अगाडि बढ्न नसकेकोमा गुनासो गरेका छन्।